- रमेश लम्साल/हरि लामिछाने-
महानगरीय प्रहरी प्रभाग बालाजुको ठीक अगाडि अरुणोदय ट्रेडिङमा नेपाल आयल निगमले तीन हजार लिटर मट्टितेल वितरण गर्ने सूचना पाएपछि दुई हजारभन्दा बढी नागरिक लाइनमा बसेका थिए। आइतबार अपराह्न ४ बजे मट्टितेल आएपनि अठार घण्टाभन्दा बढी लामो समयको प्रतीक्षापछि डेढ लिटर मट्टितेल प्राप्त गरेपछि बालाजुकी ६० वर्षीय वृद्धा राममाया तामाङको अनुहारमा खुसी देखियो। मुजा परेका अनुहारमा खुसीको सञ्चार भयो। तर खुसीभन्दा बढी दुःखित देखिनुहुन्थ्यो उहाँ।
भारतको अघोषित नाकाबन्दीका कारण खाना पकाउने इन्धनको अभावमा नागरिक प्रताडित भएका छन्। खाना पकाउने एलपी ग्यास प्राप्त नभएपछि दाउरा, बिक्रेटको खोजीमा लागेका नागरिक मट्टितेल पाउने सूचना आएपछि एकाबिहानैदेखि लाइनमा लागेपनि डेढ लिटर मात्रै मट्टितेल पाएपछि आधा खुसी आधा दुःखीजस्ता देखिन्थे नागरिक।
अठार घण्टाभन्दा बढी लाइनमा बसेपछि १२ वर्षीया सुनिता प्रजापतीले पनि डेढ लिटर मट्टितेल पाइन्। डेढ लिटर दिइने भने पनि कोकको डेढ लिटरको बोत्तल भरिएको थिएन। आधा रातमा पाइएको मट्टितेल ‘नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाबुको अनुहार’ भन्दा फरक देखिएको थिएन।
निगमले आइतबार राजधानीका ३० स्थानमा मट्टितेल वितरण गर्ने सार्वजनिक सूचना जारी गरेको थियो। तीन हजार लिटर मात्रै मट्टितेल उपलब्ध गराइएका कारण लामो लाइन व्यवस्थापन गर्न समस्या भने परेको नै थियो।
पहिले तीन–तीन लिटर मट्टितेल वितरण गर्ने भनिएपनि लामो लाइन भएका कारण डेढ लिटर मात्रै वितरण गरिएको थियो। निगमले रु ८० मा एक लिटर मट्टितेल वितरण गर्दै आएको छ। तर राजधानीका अधिकांश पम्पमा भने डेढ लिटर मट्टितेल दिँदा रु ५ बढी लिएर रु १२५ मा बिक्री वितरण गरेका थिए।
साँझको समयमा विद्युत् कटौती नगर्ने नेपाल विद्युत् प्राधिकरणले बताएपनि तालिकाभन्दा अतिरिक्त समय पनि विद्युत् कटौती हुँदा इन्धनको अभावका नागरिक खाना पकाउन नपाएर भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेका छन्। कतिपय स्थानमा अत्यधिक भार पर्दा ट्रान्सफर्मर पड्कने गरेको छ। राइसकुकरमा खाना पकाउँदै गरेको भए पनि विद्युत् नभएका कारण सात दिनदेखि चिउरा मात्रै खाएर जीवन धानेको बताउने बालाजु नयाँबसपार्कका हरि बस्नेत डेढ लिटर मट्टितेलले के गर्ने भन्दै गुनासो गर्दै थिइन्।
वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रवक्ता शम्भु घिमिरेले अनुगमनको विभिन्न संरचना बनाएर अगाडि बढाएको जानकारी दिँदै आकस्मिक अनुगमनमा लागि वाणिज्य मन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन संयन्त्र बनाइएको र वितरण प्रणालीलाई व्यवस्थित बनाउन पनि छुट्टै सहसचिवको नेतृत्वका समिति बनाइएको बताए।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको नेतृत्वमा अनुगमनका लागि दैनिक ६० जना कर्मचारी खटिएका छन्। उपत्यकाभित्र र बाहिर पनि अनुगमन गरिएको छ। मन्त्रालयमा हटलाइनको व्यवस्था गरिएको छ।
प्रवक्ता शम्भु भन्छन्, “कोही कसैले कालोबजारी गरेको भए ‘ठाउँको ठाउँ’ कारबाही गरिन्छ, हुन दिइँदैन। आजैदेखि विभिन्न सीमावर्ती नाकामा पाँचवटा टोली बनाएर अनुगमनको प्रक्रिया सुरु गरिएको छ।” रासस