PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सरकारी निर्णयपछि रोकिएला मल्टिप्लेक्सको दादागिरी ?



सरकारी निर्णयपछि रोकिएला मल्टिप्लेक्सको दादागिरी ?

  • पहिलोपोस्ट -
काठमाडौं : मल्टिप्लेक्सबाट मार खेपेका सिनेमा निर्मातालाई खुसीको खबर। काठमाडौंका मल्टिप्लेक्सले फिल्म प्रदर्शनबाट उठेको रकमको निश्चित प्रतिशत निर्मातालाई बुझाउनुपर्ने भएको छ। 

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले यस्तो घोषणा गरेका हुन्। उनका अनुसार पहिलो साता ५०, दोस्रोमा ४२.५, तेस्रोमा ३७.५ र त्यसपछि ३० प्रतिशतका दरले निर्माताले हलबाट सेयर बाँडफाँड गर्नेछन्। 

काठमाडौंका मल्टिप्लेक्सलाई मात्र यो नियम लागु गरिएको छ। देशभरका सिंगल स्क्रिनले पचास पचास प्रतिशत सेयर बाँडिरहेका छन्। मोफसलका मल्टिप्लेक्सलाई भने यो नियम लागु छैन। 

हल संचालकको छाता संस्था चलचित्र संघसँगको छलफलपछि निर्माता संघका अध्यक्ष समेत रहेका राईले यस्तो निर्णय लिएका हुन्। अहिलेसम्म मल्टिप्लेक्स हलले सेयर बाँडफाँडमा मनपरी गरेका थिए। खासगरि बिग मूभिजसहितका मल्टिप्लेक्समा मनपरी पाइएको थियो। 

काठमाडौंमा अहिले आधादर्जन मल्टिप्लेक्स संचालनमा छन् । 

दुई साता प्रचार निःशुल्क

अब मल्टिप्लेक्स हलहरुले दुई साता नेपाली फिल्मको प्रचारप्रसार निःशुल्क गरिदिनुपर्ने भएको छ। हलमा प्रचार गर्दा लाग्ने खर्च, ट्रेलर शुल्क सबै हलले व्योहोर्ने सहमति पनि भएको छ। 

विशेष फिल्म छनौट

सुनपानी र १२ नेपाली एक चिहानलाई बोर्डले विशेष फिल्म घोषणा गरेको छ। जातीय विभेदको कथा पेश गर्ने सुनपानी र इराकमा आतंककारीद्धारा मारिएका १२ नेपालीको कथा भन्ने ‘१२ नेपाली एक चिहान’ले बोर्डबाट यस्तो मान्यता पाएका हुन्। 

‘हामी यी निर्णय लगाउन गराउन प्रतिबद्ध छौं र अनुगमन पनि बलियो ढंगले हुनेछ,’ अध्यक्ष राईले भने। अझै पनि बक्सअफिस आफ्नो मुख्य एजेन्डा रहेको भन्दै उनले सशक्त ढंगले कार्यान्वयन हुने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell