PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

भारतीय शासकवर्गलाई के आश्वासन दिइएको थियो? दिल्ली जानेहरुले जवाफ दिनुपर्छः भट्टराई



भारतीय शासकवर्गलाई के आश्वासन दिइएको थियो? दिल्ली जानेहरुले जवाफ दिनुपर्छः भट्टराई

  • पहिलोपोस्ट-
काठमाडौं : नयाँ शक्ति निर्माण अभियानका संयोजक डा. बाबुराम भट्टराईले आफूलाई 'राष्ट्रवादी' भन्ने नेपालका नेताहरुले भारतीय शासकहरुलाई दिएको आश्वासनका बारेमा जनतालाई स्पष्ट पानुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा भएको तराई–मधेस, आदिवासी जनजाति, थरुहट/थारुवान, लिम्बूवान, दलित तथा मुस्लिम राष्ट्रिय आन्दोलनमा नागरिक ऐक्यवद्धता सभालाई सम्बोधन गर्दै डा. भट्टराईले नेपालका नेताले दिल्लीका शासकलाई विभिन्न आश्वासन दिएको कुरा मिडियामा आइरहेको भन्दै उनीहरुले जनतालाई यसबारे प्रष्ट पार्नुपर्ने बताएका हुन्।

‘जो आफूलाई राष्ट्रवादी भनिराख्नुभएको छ र हाम्रो देशभक्तिमाथि प्रश्न उठाइराख्नुभएको छ, उहाँहरुले जवाफ दिनुपर्‍यो। दिल्लीमा गएर उहाँहरुले के आश्वासन दिएर आउनुभएको थियो', भट्टराईले भने, 'खासगरी संविधान जारी गर्ने अन्तिम बेलामा शेरबहादुर देउवा दिल्ली गएर के आश्वासन दिनुभएको थियो? कमरेड प्रचण्डजीले दिल्ली गएर के आश्वासन दिनुभएको थियो भारतीय शासक वर्गलाई? नेपाली जनतालाई बताइदिनुपर्‍यो। उहाँहरुको देशभक्तिमाथि प्रश्न उठेको छ, हाम्रो होइन।' उनले आफूहरुको जीवन खुला रहेको दाबी गर्दै सकैलाई पनि कुनै आश्वासन नदिइएको दाबी गरे। 'हाम्रो जीवन खुल्ला छ, कसैलाई कुनै आश्वासन दिइएको छैन। हामीले प्रमाणित गर्नुपर्ने केही पनि छैन। सबै प्रमाणित छन्। तर अदृश्य कुराहरु उहाँहरुको छ’, उनले भने।

'दिल्ली मुछिँदा निस्केन निकास'

काठमाडौंका शासक र तराई–मधेशका आन्दोलनकारीको बीचमा रहेको दुई कोणीय संघर्षमा दिल्लीलाई चाहेर/नचाहेर मुछिएको भट्टराईले दाबी गरे। 'यो अत्यन्त तीतो सत्य छ। दिल्ली पक्ष आएर मुछिएपछि जुन त्रिकोण बनेको छ त्यसले गर्दा निकास निस्कन गाह्रो भइराखेको छ। भारतीय पक्ष आएर यहाँ जोडियो, यो अत्यन्त दुःखद् छ', भट्टराईले भने, 'तराई–मधेशका साथीहरु ५० जना मानिसहरु मारिइसकेपछि नाकाबन्दी गर्नेतिर जानुभयो, सुरुवात उहाँहरुबाटै भएको हो। त्यसैले भारत पहिले आएको होइन। यो हामीले भन्न सक्नुपर्छ।'


संविधान जारी गर्दा (असोज ३) तराई–मधेस र थारुवानमा आन्दोलन भएको ४० दिन बितिसकेको भन्दै भट्टराईले   त्यसपछि मात्रै भारतीय पक्ष आएको तथ्य बिर्सन नहुने बताए। 'त्यसपछि किन भारतीय पक्ष आयो त्यो उसले जान्ने कुरा हो, सत्तापक्षले हामीलाई भनिदिनुपर्‍यो’, आफूलाई भारतपरस्त भनेर आरोप लगाएर बदनाम गरिएको दाबी गर्दै उनले भने- उनले भने, ‘सत्ताको निम्ति दिल्लीमा गएर, भन्न हुने/नहुने, गर्न हुने/नहुने कामहरु गर्ने अनि यहाँ आएर राष्ट्रवादका खोक्रा नारा लगाउने मानिसहरुले जवाफ दिनुपर्छ। भारतसँगको के कुराले यो अप्रीय ढंगले नाकाबन्दी भयो त्यो भन्नुपर्‍यो उहाँहरुले। उहाँहरुले के भन्नुभएको थियो र भारतीय शासक रिसायो उहाँहरुसँग?'


केही मान्छेको स्वार्थको कारण नेपालीले दुख पाएको भट्टराईको दाबी थियो। 'उहाँहरुसँगको रीसको कारणले गर्दा नेपाली जनताले दुःख पाउनुपर्ने? तेल र ग्यास नपाएर भोक–भोकै हाम्रा बच्चाहरु बस्नुपर्ने? हाम्रा छोरा–छोरीहरुका चार–चार महिनासम्म स्कुल बन्द हुनुपर्ने?', भट्टराईले प्रश्न गरे अनि अहिले उनीहरुले नै अहिले राष्ट्रियताका खोक्रा नारा लगाएर हामीमाथि हिलो छ्याप्ने र जनतालाई भ्रम दिने? यो कुरालाई उहाँहरुले प्रष्ट पार्नुपर्छ।’

भारतसँग लड्ने बेला होइन

यहाँको सामन्ती शासक वर्गको उत्पीडन तथा एकात्मक र सामन्ती राज्यसत्ता नेपाल पछाडि पर्नुको एउटा कारण भएको भट्टराईले बताए। 'सुगौली सन्धीदेखि यता त्यतिबेलाका अंग्रेज र अंग्रेज गएपछि भारतीय एकाधिकार पूँजीवादको नेपालसँग प्रभुत्व–पराश्रयको सम्बन्ध बन्यो त्यो कारणले गर्दा नेपाल पछाडि पर्‍यो भन्ने कुरा रेकर्डमा छ। दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा नै मैले त्यो थेसिस बुझाएको छु। त्यो थेसिसमा म अहिले पनि कायम छु’, उनले भने।

अहिले नै भारतीय शासकहरुसँग लड्ने बेला नभएको उनले बताए। ‘मेरो भनाइ अब के छ भने भारतीय सत्तापक्षसँग अहिले हामी लड्न सक्दैनौं। मान्छे र हात्तीको बीचमा लडाईं भयो भने हात्तीसँग कुस्ती खेल्न खोजेर मान्छे पछारिन्छ। त्यसैले अहिले दिल्लीसँग कुस्ती खेल्न खोजेर हामी आफैं पछारिन्छौं। सुझ–बुझपूर्ण ढंगले गर्नुपर्छ', सिंह र खरायोको कथाको सन्दर्भ दिँदै उनले भने, 'खरायोले सिंहसँग लडाईं लडेको भए जित्थ्यो? तर खरायोले बुद्धि पुर्‍याएर सिंहलाई पछारेको थियो। नीतिशास्त्रमा त्यस्ता कथाहरु छन्। यो कुरा अन्तर्राष्ट्रिय सम्बन्धमा पनि लागू हुन्छ।'

ठूलाले सानालाई हेप्ने अन्तर्राष्ट्रिय राजनीतिको नियम नै भएको उल्लेख गर्दै भट्टराईले बलियो र कमजोरबीचको सम्बन्ध सुगौली सन्धीदेखि यता निरन्तर रुपमा रहेको बताए।

मधेश र थारुवानले गरेको अवरोध आन्तरिक रुपमा हल गर्नुपर्ने र भारतीय सत्तापक्षले गरेको अवरोध उसले खोल्नुपर्ने भट्टराईले बताए। 'उसले खोलोस् भन्ने म आग्रह गर्न चाहन्छु। त्यसपछि चाहिँ नेपाली जनताले दुःख कष्ट पाउँदैनन् र यहाँका शासकहरुले भारतीय भूत देखाएर आफ्नै जनता मधेसी र थारुमाथि जुन दमन गरिराखेका छन् त्यो गर्न पाउँदैनन्। त्यसैले भारतीय सत्तापक्षले आफ्नो तर्फबाट भइराखेको जुन नाकाबन्दी छ त्यो नगरोस्’, उनले भने।

'सीमांकन सच्याउन आन्दोलन'


संघीय प्रदेशको सीमांकन सच्याउन आन्दोलन र जनदबाब जारी राख्नुपर्ने भट्टराईले बताए। 'सम्झौता गर्दा पर्याप्त तागत भएन भने, दबाब भएन भने सम्झौता हुँदैन। जनयुद्ध लड्दा पनि हामीसँग तागत हुन्थेन भने शान्ति सम्झौता हुँदैनथ्यो', उनले भने, 'त्यसैले सीमांकन सच्याउनको निम्ति आन्दोलन जारी राख्नुपर्छ, जनदवाव बनाउनुपर्छ, शान्तिपूर्ण संघर्षका के के रुप तपाईंहरुले अपनाउन सक्नुहुन्छ अपनाउनुस्। हिंसापूर्ण संघर्षहरु नगर्नुस्।'


औषधिजस्ता अत्यावश्यक बस्तुहरु नरोकिउन् भन्नका लागि सतर्क रहन आग्रह गर्दै भट्टराईले भने, 'दबाब बनाइराख्नुस् म साथ दिन तयार छु। तर बाह्य पक्षलाई हामीले यसमा नमुछौं। सिंहदरबारका शासकहरुसँग हामी आफैं मिलेर लडौं। सिंहदरबारका शासकहरुमाथि दबाब सिर्जना गरौं, दिल्लीका शासकहरुलाई हस्तक्षेप नगर भनेर हामीले खबरदारी गरौं। यो नै समाधानको बाटो हो।’
 
भट्टराईले संवाद समितिको सभापतिको हैसियतमा आफूले विमति हटाउन सक्ने जति कोशिश गरेको बताए। साउन र भदौभर त्यसैका लागि कोसिस गरेको उल्लेख गर्दै उनले आफूले सम्भावित संकटको संकेत गर्दा आफूमाथि नै आरोप लगाइएको बताए। नेपालमा प्रत्येकको करिब–करिब एक–तिहाई जनसंख्या रहेको तीन वटा क्लस्टरहरु खस–आर्य, तराई–मधेसमा बस्ने मधेसी–थारु र मंगोल मूलका जाति/जनजातिबीचको एकता नरहे नेपालको एकता रहन नसक्ने उनले बताए।

पहिचानका पाँच आधार, सामर्थ्यका चार आधार र एक प्रतिशतभन्दा बढी जातीय/भाषिक जनसंख्या रहेको समुदायलाई एक स्वायत्त प्रदेश दिने भन्ने आधारमा संघीय प्रदेशहरुको निर्माण गर्दा १० वा ९ प्रदेश हुने र त्यसलाई घटाउँदा त्यस्ता समुदायको क्लस्टर नभत्कने गरी संयुक्त प्रदेश निर्माण गर्ने सहमति भए पनि प्रदेश निर्माणका क्रममा मुख्यतः थारु, मधेसी र मगर जातिको क्लस्टर भत्किएका कारण नै अहिलेको समस्या आएको उनले बताए।

‘मुख्य मुद्दा सीमांकनकै हो, सीमांकनको मुद्दालाई स्थापित र सहमति भएका आधारहरुकै आधारमा टुंग्याउनुपर्छ’, उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell