
- रामबहादुर थापा-
गाउँभरका भैँसी गर्भवती गराएबापत राँगोबाट सो आम्दानी सापकोटाको परिवारमा भित्रने गरेको छ। २४ हजारमा किनेको राँगोबाट वर्षदिन मै त्यसको तेब्बर आम्दानी हुन थालेपछि उहाँ राँगोपालनबाट सन्तुष्ट छन्। अन्य किसानको गोठमै लगेर भैँसी गर्भवती बनाएमा रु छसय र आफ्नै गोठमा ल्याए पाँचसय लिने गरेको सापकोटाले बताए।
“यो वर्षको हालसम्म ८५ वटा भैँसी राँगोबाट गर्भवती भइसकेका छन्” उनले भने। एक वर्षमा सयभन्दा बढी भैँसी गर्भवती हुने गरेका छन्, यो वर्षनै ८५ वटा भइसकेका छन्’ सापकोटाले भने ‘वर्षमा ७० देखि ८० हजारसम्म त यही राँगोबाट कमाइ हुन्छ।’
स्याहार, दानापानीका हिसावले राँगोपालन खर्चिलो भएपनि त्यसबाट नियमित आम्दानी हुने उनको भनाइ छ। गाउँघरमा निकै कम राँगो पाल्ने चलन भएपछि भैँसी गर्भवतीको लागि एकै ठाउँमा धेरै किसान भरपर्नुपर्ने अवस्था छ। पहिले–पहिले भैँसी गर्भवती गराउँदा अन्न दिने गरिएपनि पछि नगदको चलन आएको सापकोटाले बताए। “राँगो पाल्दा खर्च बढ्नका साथै जोखिम पनि उत्तिकै हुन्छ” उनले भने।
किसानका गोठ–गोठमा लैंजादा झण्झट भएपनि त्यसको कमाइले त्यो दुःख पनि बिर्साइदिने गरेको सापकोटाको भनाइ छ। चार वर्षअघि व्यावसायिक पशुपालन सुरु गरेका उनको परिवारले सो पेशाबाट वार्षिक चार लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ। हेफर इन्टरनेशनल, नेपालले दिएको पैंचो बाख्राबाट सापकोटाको परिवारले व्यावसायिक पशुपालन सुरु गरेको हो।
अहिले सफल कृषि उद्यमीको परिचय बनाएका सापकोटा र उनकी पत्नी टुल्की उदाहरणीय बनेका छन्। हेफर इन्टरनेशनल, नेपालले दिने रु ७० हजारको स्वर्णीम प्रतिभा पुरस्कार यो वर्ष टुल्कीले पाएपछि उनको परिवारमा खुसीयाली छाएको छ। सापकोटाको खोरमा अहिले २४ वटा बाख्रा छन्। वर्षमा हजारौँ मुल्यका खसी–बोका बेच्ने गरेको टुल्की थापा सापकोटाले बताए।
बाख्रापालनसँगै कुखुरा र तरकारी खेतीलाई समेत व्यावसायिक बनाउनुभएका सापकोटाले मौरीपालन पनि गरेका छन्। “कृषिलाई व्यावसायिक बनाउँदै यसैलाई मुख्य पेशा बनाएका छौँ, बाँचुञ्जेल र सकुञ्जेल यसमै रमाउँछौँ” टुल्कीले भनिन्। यसैको कमाइले पाँच छोरीको लालनपालन, पढाइ, घरखर्च सबै चलेको तथा नियमित बचत समेत गर्ने गरेको उनले बताइन्।
अन्तरजातीय विवाह गरेका सापकोटा दम्पतिले कुनै समय परिवार र समाजबाट अवहेलना–दुव्र्यवहार सहनुपरेपनि मेहनत र सघर्षबाट अहिले आफुलाई गाउँमै स्थापित गर्न सफल भएका छन्। रासस