PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बौद्धिकताको पलायनको अवस्था दर्दनाक



-सुशील कोइराला

विश्वविद्यालय राजनीतिको क्रीडास्थल होइन, बरू सभ्य, सुसंस्कृत र सेवामुखी विशुद्ध प्राज्ञिक भूमि बन्नुपर्दछ। आज विश्वका अन्य मुलुकहरूले यही सिद्धान्तलाई आत्मसात गर्दै आफ्ना भावी शैक्षिक रणनीति अपनाएकाले नै विकासको फल चाख्न सफल भएका छन्।

हामीले पनि बाहिरका राम्रा कुराहरूको अनुसरण र अवाञ्छित कुराहरूको तिरस्कार गर्ने बानीको विकास गर्न सक्नुपर्दछ। मुलुकको राजनीतिक अस्थिरताका कारण अन्योलपूर्ण अवस्थामा रुमल्लिरहेको हाम्रो देशलाई उपयुक्त निकास दिन, २०६२–६३ सालको दोस्रो जनआन्दोलनको जगबाट स्थापित लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र समावेशिताका आधारमा सङ्घीयता, राज्यको पुनःसंरचना तथा स्वतन्त्र न्यायालयको व्यवस्था सहितको नयाँ नेपालको संविधान निर्माण गर्न हामीले अपनाउँदै आएको आपसी सम्वाद, सहमति र सहकार्यको अभियानलाई सफल पार्न सबै राजनीतिक दलहरू, नागरिक समाज, बुद्धिजीवी तथा समस्त नेपाली दाजुभाइ एवं दिदी–बहिनीहरूसँग सहयोगको आह्वान गर्दछु । 

विश्वविद्यालयवाट प्रदान गरिने शिक्षा हिजोको समस्या र आजको समस्याको पहिचान गरी समयानुकूल समाधानको निकास दिन सक्ने र मुलुकलाई विकासको तरङ्गमा छलाङ मार्न सक्ने क्षमता राख्ने खालको हुनुपर्दछ मेरो धारणा रहिआएको छ ।

विश्व विज्ञान र प्रविधिको सागरमा चुर्लुम्म डुबुल्की मारिरहेको वर्तमान अवस्थामा हाम्रा विश्वविद्यालयहरूले पनि अनुसन्धान र अन्वेषणका माध्यमबाट नयाँ खोज र सोचको जगेर्ना गर्दै नेपाली भूमिलाई विश्व रङ्गमञ्चमा चिनाउनुपरेको छ ।

विगत केही दिनदेखि चर्चाको शिखरमा रहेका डा कुमुद धितालको विश्वचर्चित कुशल अन्वेषणबाट निस्केको चिकित्सा विधिले तमाम मुटुरोगीहरूमा आशाका थुपै्र टुसाहरू पलाएका छन् । उचित वातावरण र शिक्षादीक्षा दिन सके नेपाली माटोमा जन्मेका पौरखीको हातबाट विश्वले महान् सेवा प्राप्त गर्न सक्दो रहेछ भन्ने उदाहरण डा. धितालले देखाएका छन्, उनलाई बधाई तथा धन्यवाद व्यक्त गर्न चाहन्छु । हाम्रा विश्वविद्यालयहरूमा पनि यस्तै होनहार शैक्षिक जनशक्ति उत्पादन गर्न सक्ने खुवीको विकास होस् भन्ने कामना पनि गर्दछु ।

राजनीतिक, आर्थिक तथा अन्य विविध कारणले विगत डेढ दशकदेखि मुलुकवाट बौद्धिकताको पलायन भएको अवस्था दर्दनाक विषय बनेको छ, बौद्धिक पलायनता कुनै पनि राष्ट्रका लागि सुहाउने कुरा होइन।

मुलुकबाहिर र मुलुकभित्रबाट विशेषज्ञता हासिल गरेका पेसेवर डाक्टर, इन्जिनियर, नर्स, व्यवस्थापनविद्हरू आफ्नो मुलुकमा भविष्य नदेखी उचित अवसरको खोजीमा बाहिर भौँतारिनुपरेको घटना हाम्रा लागि पक्कै पनि हितकर सङ्केत हैन। राष्ट्रमा ज्ञान तथा सीपयुक्त जनशक्तिको जमात हुनुलाई पनि एक खालको मानवीय सम्पत्तिकै रूपमा लिनुपर्दछ । यस्ता होनहार सम्पत्तिलाई मुलुकभित्रै आकर्षित गर्नुपर्ने भएको छ । मुलुकमा अनुकूल वातावरण नभएकाले बाध्य भएर कामको खोजीमा बाहिर जानुपरेको गुनासो सुनिन्छ, तापनि नेपालमा जतिसुकै असहज परिस्थिति आइपरे तापनि नेपाली धर्तीको मुहार उज्यालो पार्न सहज परिस्थितिको वातावरण आफैँले निर्माण गर्दै आफ्नो सीप तथा विज्ञताको उपयोग गर्न आफ्नै मुलुकमा फर्कनुहोस् र मातृभक्तिको ज्वलन्त उदाहरण प्रस्तुत गर्नुहोस् भन्ने आग्रह गर्न चाहन्छु।

हामी सबैले होस्टेमा हैँसे गर्दै लगे वातावरण बन्छ । आजको मात्र स्वार्थ नहेरौँ, हाम्रा सन्ततिको भविष्यलाई पनि ख्याल गरौँ । स्वदेश र विदेशमा सिकेका सीप र ज्ञानलाई आफ्नै माटोमा सदुपयोग गरौँ । यसैमा सबैको भलो हुनेछ।
 
'काठमाडौँ विश्वविद्यालयले स्वास्थ्य क्षेत्रमा गुन लगायो'
२००७ सालमा प्रजातन्त्रको प्रादुर्भाव भएपश्चात् अनेक सङ्क्रमणको जटिलता बेहोर्दै रहँदा मुलुकमा स्वास्थ्य शिक्षाको प्रारूप प्रारम्भ गर्न प्रशस्त जमर्को गरिएको हो । २०१६ सालमा स्थापित त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानमा ३० जना क्षमताको एमबीबीएस कार्यक्रम सञ्चालन गरी स्वास्थ्य चिकित्सकको अभावलाई कही हदसम्म पूर्ति गर्ने लक्ष्य राखिएको थियो । जनसङ्ख्याको वृद्धि र रोगीहरूको अनुपातमा मुलुकलाई यथेष्ट मेडिकल शैक्षिक जनशक्तिको अभाव टार्न सकिएको अवस्था थिएन।

२०४६ सालको जनआन्दोलनपछि जननिर्वाचित संसद्बाट पहिलोपटक विज्ञान तथा प्रविधिका क्षेत्रमा उच्चस्तरीय शैक्षिक जनशक्ति उत्पादन गर्ने उद्देश्य लियो। यो सँगै गैह«सरकारी क्षेत्रमा काठमाडौँ विश्वविद्यालयको २०४८ सालमा जन्म भयो, विश्वविद्यालयले प्रारम्भिक चरणदेखि नै सरकारको नीति र उद्देश्यलाई सघाउँदै मेडिकल शिक्षामा स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमहरू सञ्चालन गरी उच्च शैक्षिक जनशक्तिको आपूर्तिमा टेवा पु¥याउन सकेको र अझै प्रयत्नशील रहेको तथ्य सबैका सामु जगजाहेर भएकै कुरा हो।

मुलुकभित्र मेडिकल शिक्षा हासिल गर्न र स्वास्थ्योपपचार गर्न नपाउँदा विदेशतिर भड्किनुपरेको तत्कालीन अवस्थामा थुप्रै नेपाली रुपियाँ विदेशिनबाट यस विश्वविद्यालयले जोगाएको यथार्थ सबैमा छर्लङ्ग छ । अहिले आफ्नै मुलुकमा मेडिकल क्षेत्रको उच्च शिक्षा हासिल गर्न र मुलुकभित्रैका विभिन्न स्थानमा शिक्षण अस्पतालका रूपमा रहेका विभिन्न अस्पतालहरूबाट स्वास्थ्य सेवाको सुविधा पाउन सकिएको छ । यो विश्वविद्यालयले मात्र एमबीबीएस, एमडी, एमसीएच, बीएस्सी नर्सिङ, बीएचएमएलटी जस्ता विषयमा वर्षेनी करिब एकहजारभन्दा वढि सङ्ख्यामा स्वास्थ्य जनशक्ति ग्य्राजुएट उत्पादन गरेर मुलुकलाई ठूलो गुन लगाएको छ ।
 
प्रधानमन्त्री एवं कुलपति श्री सुशील कोइरालाज्यूबाट काठमाडौं विश्वविद्यालयको  २० औं (पहिलो  चरण) दीक्षान्त समारोहमा प्रस्तुत मन्तव्यको सम्पादित अंश



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell