PahiloPost

Nov 30, 2020 | १५ मंसिर २०७७

​सुमन खरेल - जो डाक्टर पढ्न छाडेर रेडियोमा आए



​सुमन खरेल - जो डाक्टर पढ्न छाडेर रेडियोमा आए

  • रविराज बराल-
काठमाडौं : सुमन सेन्ट जेभियर्स स्कुल पढ्थे, गोदाबरीमा। जाडो बिदा भएकोले स्कुल र होस्टेल दुबै छुट्टी थियो।

छुट्टी मनाउन घर आएको छोरालाई किरण घुमाउन लैजान्थे मोटरसाइकलमा राखेर। त्यतिबेला उनी रेडियो नेपालको विज्ञापन सेवामा काम गर्थे।

किरणले छोरालाई स्टुडियो बाहिर अग्लो कुर्चीमा राखिदिन्थे ताकि ऊ नआत्तिओस्, आफूलाई देख्न सकोस्। सुमन अग्लो कुर्चीमा बसेर रेडियो नेपालको स्टुडियोमा माइक्रोफोन अघि बोल्दै गरेका आफ्ना बाबुलाई हेर्थे, दंग पर्दै। त्यतिबेलै उनले अठोट गरे- म पनि एक दिन रेडियोमा बोल्छु।

'त्यहाँ बोलेको चिज संसारभर जान्छ, मान्छेले सुन्छन्। आहा! त्यसरी नै एक दिन बोल्न पाए त कति आनन्द हुन्थ्यो भन्ने बाल्यकालदेखि नै मेरो मस्तिस्कमा बसेको थियो होला सायद', उनको बाल मस्तिष्कमा बाबुको गहिरो प्रभाव परिसकेको थियो। 

त्यही प्रभाव र अठोटले होला, सुमन खरेल गएका तीन दशकदेखि माइक्रोफोनकै आसपासमा छन्, आवाजको दुनियाँमा।

करिअरको अधिकांश समय बिबिसीमा बिताएका पत्रकार सुमन खरेलसँग म उनको पत्रकारिता यात्राबारे कुरा गर्न चाहन्थेँ, उनलाई बुझ्न चाहन्थेँ, चिन्न चाहन्थेँ। लामो समय बिबिसीमा काम गरेर उनी नेपाल फर्किएका थिए, नेपालमै बस्ने योजनासहित। सन् १९९२ देखि २०१५ अर्थात २३ वर्ष एउटा संस्थामा बिताउनु चानचुने कुरा थिएन।

राजनीतिक उथलपुथल र परिवर्तनको समय थियो त्यो अवधि। भर्खर निर्दलीय पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आएको थियो। त्यसको केही वर्षपछि जनयुद्ध, राजदरबार हत्याकाण्ड, राजाको प्रत्यक्ष शासन, जनआन्दोलन, राजतन्त्रको अन्त्य, गणतन्त्र घोषणा, संविधानसभा निर्वाचन र नयाँ संविधान। नेपालले भोगेका ठूला ठूला राजनीतिक परिघटनाहरु थिए। यस्तै घटनाको आसपास सुमनको करिअर अघि बढेको थियो।

बुबाले बढाएको नामको भोक

सुमनका बुबा किरण खरेल प्रस्तोतामात्र थिएनन्, गीतकार पनि थिए, चलचित्रकर्मी पनि थिए। जहाँ गए पनि किरण खरेल भन्नेबित्तिकै मान्छेहरुले चर्चा गर्ने।


'मैले बुबाको नाम बढ्दै गएको बाल्यकालदेखि देख्दै गएँ, मलाई के लाग्यो भने कमाउनुपर्ने भनेको त नाम पो रहेछ। दाम कमाउने धेरै हुन्छन् तर नाम कमाउने कम हुन्छन्', उनी भन्छन्, 'त्यसैले बुबाले जस्तै मैले पनि जिन्दगीमा नाम कमाउनुपर्छ भन्ने बाल्यकालदेखि नै मेरो मानसपटलमा बस्यो होला। र, म सधैँ नामको पछाडि लागेँ होला।' 

बाबु किरण खरेलको साथीसंगत पनि नामवालाहरु नै थिए। माणिकरत्न, तारादेवी, प्रेमध्वज प्रधान संगीत दुनियाँमा उनका संगी थिए। फिल्ममा लागेपछि उनको क्रेज झन् बेग्लै थियो।

बाबुको त्यही क्रेजले उनलाई जिन्दगीमा नाम कमाउने रहर जाग्यो नत्र एउटा आम मान्छेको जस्तै 'सानो र सुखी घर' बाहेक अर्को सपना उनीसँग हुने थिएन।

काभ्रेको खरेलथोक मूलघर भएको उनको परिवार चार पुस्ताअघि काठमाडौं सरेको थियो। उनी नुवाकोटको त्रिशुलीमा जन्मिए, जहाँ उनको मामाघर थियो। 'बुबा एमएको जाँचको तयारी गरिरहनुभएको रहेछ। यता पढ्न बाधा हुने र आमाको रेखदेख पनि राम्रो नहुने देखेर बुबाले आमालाई त्रिशुली (नुवाकोट) पठाउनुभएछ', सुमन सम्झिन्छन्, 'म त्यहीँ जन्मिएँ।' ९ कक्षासम्म सेन्ट जेभियर्समा पढेपछि उनी पद्‍मोदय स्कुल भर्ना भए। त्यहीँबाट एसएलसी परीक्षा उत्तीर्ण गरे।

डाक्टर भर्सेस रेडियो

किरण खरेल छोरालाई डाक्टर बनाउन चाहन्थे तर छोरो भने बाबुकै पदचाप पछ्याइरहेको थियो। बाबुकै इच्छाबमोजिम सुमन महाराजगञ्ज क्याम्पस भर्ना भए मेडिसिन पढ्न। करिब चार वर्ष पढे पनि उनले त्यो पढाइ पुरा गर्न सकेनन्।

'अहिलेका चर्चित चिकित्सक भगवान कोइराला, बसन्त पन्त र म एउटै टेबुलमा पढेका हौँ चार वर्षसम्म, उहाँहरुले फलो गर्नुभयो तर मेरो त्यति मन बसेन', सुमनले सम्झिए, 'यो मेरो फिल्ड होइन, यो फिल्डमा मैले प्रगति गर्न सक्दिन भन्ने लाग्यो।'

नेपालमा मेडिसिनको पढाइ सकेर बाँकी अध्ययनका लागि कि रसिया जानुपर्थ्यो कि त बंगलादेश। तर उनी दुबै देश जान चाहेनन्। बरु बुबाआमासँग झगडा गर्न थाले रेडियो नेपाल लगिदेउ भनेर। मेडिसिनजस्तो आकर्षक करिअर छोडेर भविष्यको ठेगान नभएको मिडिया रोज्ने छोराको निर्णय बाबुआमालाई सैह्य हुने कुरै भएन।


'मिडियाको त्यति स्कोप छैन, यसमा तेरो भविष्य हुँदैन', वर्षौँ मिडिया बुझेका किरण खरेलले छोरालाई सम्झाए, 'कहाँ मेडिसिन पढ्न छोडेर रेडियो नेपालमा ६०० को जागिर खान जान्छु भन्छ।'

सुमनले हिम्मत हारेनन्। आमासँग रोइकराइ गरे तीन चार महिनासम्म। 'अब यसले नछोड्ने भयो, लग्दिनु्स् भयो रेडियोमा', एक दिन आमाले बुबालाई भनिदिइन्।

त्यसपछि सुमनको रेडियो यात्रा सुरु भयो। रेडियोमा बोल्ने सपना सुमनले पुरा गरे- त्यही कुर्चीबाट जहाँ उनका बाबु बस्थे, माइक्रोफोनअघि। यो २०४१ माघ महिनाको कुरा हो।  

मेडिसिन अध्ययन छोडेर उनी त्रिचन्द्र क्याम्पस भर्ना भए। पछि उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा एमए गरे।

दिउँसो तीन बजेदेखि ४ बजेसम्म रेडियो नेपालमा विज्ञापन सेवा हुन्थ्यो। गीत बजाउने, गीतबारे भूमिका बाँध्ने, गीत फर्माइस गर्नेहरुको नाम पढ्ने काम हुन्थ्यो।

छ महिनापछि उनी समाचार कक्षमा सरुवा भए। रेडियो नेपालका तत्कालीन निर्देशक प्रचण्डमान सिंहले 'यो अलि अगाडि जाने खालको केटा छ, प्रोग्राम भन्दा न्युजमा बेटर हुन्छ' भनेर आफूलाई न्युज रुममा सारेको उनी सम्झन्छन्। उनी सुरुमा जिल्ला समाचार पढ्थे।

मुख्य समाचार पढ्न पाउनु ठूलै कुरा हुन्थ्यो। प्राइम टाइम समाचारमा सामान्य गल्ती हुँदा पनि जागिर जान्थ्यो। यस्ता अनेक घटना भएका थिए।

मौका मुख्य समाचारको

एक दिनको कुरा हो। उनलाई मुख्य समाचार पढ्ने मौका मिल्यो। त्यो दिन समाचार पढ्ने पालो प्रवीण गिरीको थियो। तर उनी सामान्य मोटरसाइकल दुर्घटनामा परी वीर अस्पताल पुगेछन्। ७ बज्नै लागेको थियो। समाचार पढ्ने कोही पनि भएन।

निर्देशक प्रचण्डमान सिंह छटपटीमा थिए।

'ए ! प्रवीणको त यस्तो भएछ, तिमी मेन न्युज पढ्न सक्छौ?', प्रचण्डमानले सोधे।

दुर्घटनाले नै जुराएको भए पनि त्यो मौका थियो। फेरि कहिले हो कहिले? पाएको मौका कहाँ छोड्नु?

'पढ्न सक्छु दिनुस्।'

ल, उसो भए राम्ररी पढ्नु', प्रचण्डमान ढुक्क देखिए। राससको बुलटिन, अन्तर्राष्ट्रिय समाचारको अनुवाद आदि मिलाएर बुलेटिन तयार भयो।
उनले जिन्दगीमा पहिलोपटक रेडियो नेपालको मुख्य समाचार पढे। २० मिनेटको बुलेटिन डराइडराइ पढेको उनी आज पनि सम्झन्छन्। 'जिल्ला समाचार त पढिरहेकै थिएँ तर पहिलोचोटी मु्ख्य समाचार पढ्न जाँदा राजादेखि रंकसम्म सबैले सुनिरहेका छन् भनेर डराइडराइ पढेँ', उनी सम्झन्छन्।

अचम्मका फ्यान

त्यतिबेला रेडियो नेपालको अलग्गै क्रेज थियो। साँझ पढ्न त्रिचन्द्र कलेज पुग्थे। साथीहरुले 'मेरो फर्माइस दे न' भन्दैमा खल्तीमा फर्माइस हाल्दिन्थे। केटी साथीहरु खुब नजिकिन्थे। कोही चिठ्ठी लेखेर पठाउँथे।

'मलाई पनि चिन्दा रहेछन् समाजमा भन्ने अनुभूति हुन्थ्यो', सुमन भन्छन्।

फ्यानहरु अचम्म अचम्मका हुन्थे। समाचार पढेर सक्ने बित्तिकै रेडियो नेपालको फोन बज्थ्यो। अधिकांश फ्यानहरु अदृश्य हुन्थे। अहिलेजस्तो हाते फोन थिएन। सामाजिक सञ्जाल थिएन। खुलेआम फ्यान हुँदैनथे। आफ्नो नाम भन्थे, माया गर्थे तर भेट्न भने आउँदैनथे।  

उनले सात वर्ष रेडियो नेपालमा काम गरे। सुमन रेडियो नेपाललाई 'थकाई बिसाउने चौतारी' भन्छन्। रेडियो नेपालमा काम गर्नेहरु प्रायः अन्तत्र पनि काम गर्थे। दिनभरी काम गरेर थकाइ मार्न जाने क्लबजस्तो थियो रेडियो नेपाल।  

सुमन आफै पनि दुईवटा कलेजमा पढाउँथे। 'पिपल्स क्याम्पसमा अंग्रेजीको दुईवटा कक्षा थियो, त्यसपछि फेरि कुद्‍दै  पाटन क्याम्पसमा दुइटा कक्षा पढाउँथे', उनी भन्छन्, 'पढाइसकेर कुद्‍दै घर पुग्यो, उठीउठी खाना खायो अनि १० बजे कृषि मन्त्रालयको कृषि आयोजना सेवा केन्द्र पुग्यो।' उक्त केन्द्रमा सुमन सम्पादक थिए। कृषिसम्बन्धी भएका अनुसन्धान उनी प्रकाशनका लागि सम्पादन गर्थे, न्युजलेटर निकाल्थे। अनि साँझमा रेडियो नेपाल पुग्यो।

प्रवीण गिरी मीनभवन क्याम्पसमा पढाउँथे। कमल प्रधान राससमा काम गर्थे। 'साँझको त्यो भेटघाट चौतारीजस्तो थियो। न्युज बनाउने, पढ्ने, दिनभरको कुरा गर्ने, हाँसखेल गर्ने', उनी सम्झन्छन्।

बिबिसी यात्रा

सन् १९९२ को एक दिन साँझ सदा झैँ उनी रेडियो नेपाल गैरहेका थिए समाचार पढ्न। करिब ६ बजेको हुँदो हो।


दुई जना रेडियो नेपालअघिको पोखरीनेर बसिरहेका थिए।

'तपाईँ सुमन खरेल हो?', एकजनाले प्रश्न गरे।

'हो', उनले छोटो जबाफ दिए।

'यहाँ आउनुस् न। एकछिन कुरा गरौँ', उनले अनुरोध गरे।

'हामी बिबिसीबाट आएको, धेरैले तपाईँको नाम सिफारिस गर्नुभयो, के तपाईँ इच्छुक हुनुहुन्छ?', उनीहरुको प्रश्न सुमनलाई सपना जस्तै लाग्यो।

उनीहरु बिबिसीबाट आएका 'हेड हन्टर' हरु थिए। उनीहरु क्षमतावान मान्छे खोज्न यहाँ आइपुगेका थिए। मिडियाका चर्चित मान्छेहरुलाई भेटेर र मन्त्रालयहरुमा चाहारेर उनीहरु आफूलाई उपयुक्त राम्रा मान्छे खोज्दा रहेछन्। त्यतिन्जेल सुमनलाई हेड हन्टिङ सिस्टमका बारेमा पत्तोसम्म रहेनछ। 

'मैले त सोचे‍को पनि थिइन कि यस्तो मौका आउँछ। म त यहीँ नै व्यस्त थिएँ', उनी भन्छन्।

स्मारिका

बिबिसीबाट प्रस्ताव आउने बित्तिकै सुमनलाई पाँच वर्षकी छोरी स्मारिकाको याद आयो। छोरीको स्वास्थ्यमा समस्या देखिएको थियो। उनी बोल्न सक्दैनथिन्, हिँड्न सक्दैनथिन्। उनले बेलायतको जागिर भन्दा पनि छोरीको उपचार सम्झिए।

'त्यहाँ जान मात्र पाएँ भने न छोरी ठीक पो हुन्छ कि भनेर मैले तत्काल 'आइएम भेरी मच इन्ट्रेस्टेड' भनेँ', उनी भन्छन्।

दुई दिनपछि परीक्षा भयो। अनुवाददेखि लिएर विश्व घटनासम्मको तीन घण्टाको परीक्षा भयो। केही समयपछि उनीहरुले सुमनलाई बोलाए, नियुक्ति दिए र बेलायत लगे। कति समयका लागि लगेका हुन् भन्ने पनि सुमनलाई पत्तो थिएन, उनले त्यहाँ ६ महिनादेखि एक वर्षसम्म काम गरुँला भन्ने सोचेका थिए। बिबिसीमा बोल्ने र छोरीको उपचार गर्ने उनका दुईवटा सपना थिए। 

जब छोरीको उपचार सुरु भयो, उनले थाहा पाए जुन रोग छोरीलाई लागेको छ त्यसको उपचार संसारमै सम्भव छैन। चिकित्सकले स्मारिकालाई रेट् सिन्ड्रम भएको पुष्टि गरे। छोरीहरुलाई मात्र लाग्ने यो रोग गर्भ बसेपछि हुने क्रोमजोममा हुने 'डिफेक्ट' हो। यो रोग सुरुमा देखिँदैन तर बिस्तारै शारीरिक विकासहरु ढिला हुँदै जान्छन्। मस्तिस्क विकास रोकिन्छ। अनि बिरामी २४ सै घण्टा अरुमाथि निर्भर हुनुपर्ने अवस्था आउँछ।
यो उनको जिन्दगीको सबैभन्दा ठूलो पीडा थियो। तर उनले त्यो पीडालाई ग्रहण गरेर शक्तिमा बदल्ने कोसिस गरे।

'धेरथोरको कुरा हो नत्र पीडा नभएको मान्छे कोही पनि हुँदैन, त्यसका अनुभूति बेग्लाबेग्लै हुन सक्छन्', सुमन भन्छन्, 'पीडालाई ग्रहण गरेर अगाडि बढ्ने वा रोएर बस्ने दुईवटा विकल्प हुन्छन् जीवनमा।'

डाक्टरहरुले जुन दिन छोरीलाई लागेको रोगको कारण र उपचार दुबै छैन भने उनले त्यसलाई ग्रहण गरेर अगाडि बढ्ने अठोट गरे। छोरीलाई उनी भगवानसँग तुलना गर्छन्।

'हामी मन्दिरमा जान्छौँ, आशीर्वाद माग्छौँ तर भगवान बोल्दैनन्, स्मारिका पनि त्यस्तै छे। ऊ हाँसिरन्छे तर बोल्दिन। सुन्दर छ, जस्तो एउटा भगवान हुन्छ त्यस्तै', उनी भन्छन्, 'यसले हामीलाई सधैँ हाँसेर आशिष दिइरहेकी छे जस्तो लाग्छ। हामी बिहानै उठ्छौँ र उसकै खुट्टा ढोगेर दिन सुरु गर्छौँ।'

पुनः नेपाल

दुई दशकभन्दा बढी लन्डनमा काम गरेका सुमनलाई त्यहाँ पनि 'अफर' नभएका होइनन् तर उनलाई देश फर्किन मन लाग्यो। 'नेपालमा नै केही गर्ने तथा आफूसँग भएको ज्ञान, सीप र अनुभव बाँड्ने रहर छ', उनी भन्छन्।


सुविधा लन्डन बसाइमै हुन्थ्यो तर उनलाई लाग्यो रे केही गर्नु छ भने नेपालमै गर्नुपर्छ। 'उता मलाई आराम छ, परिवार छ, सुविस्ता छ, ग्यास छ, पेट्रोल छ, सायद त्यो मैले भोगिसकेँ', मुस्कुराउँदै उनले प्रश्न गरे, 'यहाँ अभाव छ, संघर्ष छ, अब हेरुँ न त अभाव कस्तो हुँदो रहेछ। तीन करोड मानिस बाँचेकै छन्। म एउटामात्र किन नसकुँला र?'

गत महिना सुमन नेपाल फर्किए। उनी अहिले बिएफबिएस रेडियोमा समाचार सम्पादक छन्। ब्रिटिस सेनामा कार्यरत गोर्खा सैनिक र तिनका परिवारका लागि ब्रिटिस सेनाद्वारा सञ्चालित यो रेडियोको पुरा नाम ब्रिटिस फोर्सेस ब्रोडकास्टिङ सर्भिसेस हो।

सुमन लण्डनबाट फर्किँदा नेपालमा ठूलो राजनीतिक परिवर्तन भइसकेको छ। तर उनी यो परिवर्तनको सही ब्यवस्थापन बाँकी नै रहेको बताउँछन्। 'नेपाल अहिले इतिहासकै एक कठिन मोडमा उभिएको छ। परिवर्तनको सही ब्यवस्थापन हुन सकेन भने सर्वसाधारणको जीवनस्तर उठ्न सक्ने छैन। मानिसले अधिकार पाए, बोल्न पनि पाए तर जीवन यापन गर्नै नसक्ने अवस्था आयो भने परिवर्तनको कुनै अर्थ रहन्न। संधै म पहिले नेपाली हुँ भनी गर्व र स्वाभिमानपूर्वक हिंड्न सक्ने अवस्थामा ह्रास आउन दिनुहुन्न' उनी भन्छन्।

नेपाल फर्केपछि बेलायतमा आर्जन गरेको ज्ञान बाँड्ने हुटहुटी झन् तीब्र भएको छ उनमा। 'त्यहाँ बसेर आफूले सिकेका कुरा बाँड्ने अवसर पाउँदिन। कम्तीमा देशमा बसेँ भने मैले जानेको, सिकेको र बुझेको कुरा भावी पुस्तालाई बाँड्न त सक्छु', उनी भन्छन्, 'उनीहरुले मबाट केही सिक्न सक्छन्।' त्यसखालका सम्भावना र मौका पनि उनले देखिसकेका छन्। विभिन्न ठाउँहरुबाट त्यस्ता प्रस्तावहरु पनि आइरहेका छन्।  बहस, अन्तर्क्रिया र तालिममार्फत ज्ञानको आदानप्रदान गर्ने कुरा त छँदैछ, एउटा टेलिभिजन कार्यक्रम गर्ने कुरा पनि चलिरहेको उनी बताउँछन्।

रेडियो सम्भावना

उनको विचारमा नेपालमा पनि रेडियोमा ठूलो सम्भावना छ र यहाँ 'ट्यालेन्ट' पनि छ तर सही मार्गदर्शन छैन। नेपालमा मान्छे पढ्छ र एकैचोटी आउँछ। उसले ८/१० वर्ष काम गरिसक्छ जबकी उसलाई रेडियो डकुमेन्ट्री, म्यागेजिन, फिचर, अन्तर्वार्ता लगायतका तरिका, विशेषता र महत्व नै राम्रोसँग थाहा हुन्न।

'उसले प्रोगाम चलाएकै हुन्छ, स्टेसन पनि चलेकै हुन्छ तर अब त्यसमा कसरी सुधार गर्ने भन्ने चासो कसैलाई हुँदैन', उनी भन्छन्, 'अनि सबै जना सन्तुष्ट जस्तो देखिन्छ यहाँ। विज्ञापन अलिअलि आएकै छ भन्यो बस्यो। तर उसको बौद्धिक विकास के भयो त? १० वर्ष वा ५ वर्षमा उसले के सिक्यो त? त्यो ग्याप नेपालमा पाएको छु।'

नेपाली मिडियामा अर्को समस्या भनेको पत्रकारको क्षमता अभिवृद्धि गर्ने कुनै कार्यक्रम नहुनु हो। 'बिबिसीमा हरेक वर्षमा कम्तीमा एउटा तालिम अनिवार्य छ। कहिले उनीहरुले सिफारिस गर्छन्, कहिले पत्रकारले रोज्न पाउँछन्', उनी भन्छन्, 'त्यसले पत्रकारलाई आत्मविश्वास बढाउँछ, जुन यहाँ 'ल्याकिङ' छ। 

स्वतन्त्रता र इज्जत

बिबिसीमा गएर उनले सिकेको सबैभन्दा ठूलो कुरा हो स्वतन्त्रता। पत्रकारिता १० बजे आउने र ५ बजे जाने काम होइन। यो हाजिर गर्ने जागिर पनि होइन। 'यो जिम्मेवारी तेरो हो भनेपछि सकियो। आफ्नो समयमा गयो, कहिले ३ बजे काम सक्यो हिँड्यो, कहिले राति १० बजेसम्म पनि काम गरिराख्यो। पत्रकारितामा मान्छेलाई बाँधिने गरी काम गर्न लगाउन हुन्न। उसले स्वतन्त्र भएर काम गर्न सकोस्, घुलमिल हुन सकोस् भन्नेमा ध्यान दिनुपर्छ', उनी भन्छन्।

बिबिसीले सुमनलाई सिकाएको अर्को कुरा हो इज्जत। बिबिसीमा नेपालमा जस्तो तहको खाडल हुँदैन। सिनियर र जुनियर, सम्पादक र रिपोर्टर वा यस्तै खालको द्वन्द्व हुँदैन। बिबिसीको भवनमा ६ हजार मानिस काम गर्थे। एकले अर्कालाई इज्जत गर्छन्। 'डाइरेक्टर जेनरलदेखि सामान्य क्लिनरसम्म एउटै लिफ्टमा हिँडिरहेका हुन्छन्। क्लिनरले डाइरेक्टर जेनरललाई 'हाइ जोन' भन्छ, उसले 'हाइ स्टिभ' भन्छ। सबै समान छन्, सबैले आआफ्नो काम गरेका छन्', उनी भन्छन्, 'रिपोर्टिङ च्यानल हुन्छ तर नेपालमा जस्तो सम्पादक, डेस्क एडिटर, सबएडिटर वा रिपोर्टरबीचको खाडल हुँदैन। बिस्तारै त्यो कुरा हामीले सिक्न सक्नुपर्छ।'

पत्रकारिताका समस्या

नेपालमा भनिन्छ पत्रकार निष्पक्ष भएनन्, कुनै राजनीतिक दलप्रति झुकाव राख्छन्। यसका बारेमा सुमनको आफ्नै मत छ। 'पत्रकारलाई सामान्य जीवनयापन गरेर खुसीसाथ बाँच्न सक्ने तलब देउ न। त्यसपछि ऊ दायाँ बायाँ लागेको थाहा पायौ भने कारबाही गर', उनी भन्छन्, 'नत्र महिनौँ तलब नदिने, दिए पनि हातमुख जोड्न गाह्रो हुने तलब दिने अनि दोष पत्रकारलाई मात्र दिइरहने?'

 नेपालमा पत्रकारलाई बाँच्ने गरी पारिश्रमिक तथा सेवासुविधा नदिँदा पत्रकारिता फस्टाउन नसकेको उनको ठम्म्याइ छ। 'भोलि बच्चा बिरामी भयो भने अस्पताल कसरी लैजाने, जँचाउन कसरी पैसा जम्मा पार्ने भन्ने चिन्ता भयो पत्रकारले के गरोस् त?', उनले प्रश्न गरे, 'मालिकहरु आफूमात्र मोटाउने होइन। उनीहरु सधैँ भन्छन् कि म संघर्ष गरिरहेको छु, संघर्ष के कति गरिरहेका छन्, त्यो धेरैलाई थाहा छ। सक्दैनौ बन्द गर, नत्र पत्रकारलाई आधारभूत जीवनस्तरका लागि चाहिने तलब उपलब्ध गराउ। अनि मात्र पत्रकारलाई आरोप लगाउ।' बिबिसी निष्पक्ष हुनुको कारण पनि पत्रकारलाई जीवनयापन गर्न पुग्ने तलब हो भन्छन् उनी।  

सुमन भन्छन्- ठूलो आकांक्षा लिएर पत्रकारितामा आउनु हुँदैन। दाम भन्दा बढी नाममा विश्वास हुनुपर्छ। पत्रकारहरुको ठूलो समस्या के हो भने उनीहरुमा अध्ययनको कमी छ। 'हामीमा अध्ययनको कमी देख्छु। टिभीमा काम गर्नुहुन्छ भने सिएनएनले के भन्छ, बिबिसीले के भन्छ, अलजजिराले के भन्छ बुझ्नुपर्‍यो।' पत्रकारले सुधार्नुपर्ने अर्को कुरा भनेको अंग्रेजी हो। 'अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने हो भने अब अंग्रेजीबिना सकिँदैन', उनी भन्छन्। 

गोरखापत्रमा सम्पादकलाई चिठ्ठी छापिन्थ्यो। 'रेडियो नेपालले नेपाली सही उच्चारण पनि गर्न नसक्ने मान्छेलाई ७ बजेको समाचार पढ्न दिने?' भन्दै त्यहाँ धेरैपटक पाठकपत्र छापियो। निर्देशक प्रचण्डमान सिंहले उनको अगाडि ल्याएर पत्रिका फाल्थे र सोध्थे-  के हो यो? जहिले पनि यस्तो?

सुमनको नेपाली उत्कृष्ट थिएन। कारण स्कुलदेखि क्याम्पससम्म उनले अंग्रेजी माध्यममा पढे।

'गर्दैछु। पख्नुस् न', प्रचण्डमानलाई सुमनको जबाफ हुन्थ्यो।

'मैले मिहिनेत गर्न थालेँ, नेपाली सिक्न थालेँ, शब्दकोशहरु हेर्न थालेँ, शब्दका अर्थ हेर्न थाले, उच्चारणहरु हेर्न थालेँ, आफ्नो कमजोरीलाई कसरी सुधार्न सक्छु भनेर लागेँ', उनी भन्छन्, 'अहिले लाग्छ म राम्रै नेपाली बोल्छु, राम्रै नेपाली लेख्छु।'  

पत्रकारितामा लाग्ने मान्छेले सबै कुरा संस्थाले दिन्छ भन्ने सोच्नु हुँदैन आफूले पनि मिहिनेत गर्नुपर्छ। आफ्ना कमजोरी हटाउन प्रयास गर्नुपर्छ।

पत्रकारितामा लागेकोमा कहिल्यै पनि उनले पश्ताचाप गर्नुपरेन किनभने उनको चाहना नै यही थियो। 'मैले जेजति पाएँ सजिलै पाएँ। कुनै निवेदन लेख्नुपरेन। मलाई यस्तो काम दिए जहाँ म रमाउँथे', उनी भन्छन्, 'बोलेर, आफ्नो आवाज दिएर जीवन धान्ने पारिश्रमिक पाएँ, मैले अपशोच मान्नुपर्ने ठाउँ नै भएन जीवनमा।'

'सुमन खरेलले नाम चलेको स्कुल पढ्ने अवसर पायो। पारिवारको आर्थिक अवस्था राम्रो थियो, ठूलो आर्थिक अभाव झेल्नुपरेन, राम्रा संस्थाहरुबाट काम गर्ने मौका आयो। सबैलाई त्यस्ता मौका त मिल्दैनन्। तपाईँलाई 'भाग्य' ले साथ त दिएकै हो है?', मैले अन्तिममा प्रश्न गरेँ।'पक्का हो तर मैले पनि त ठूलो चुनौती लिएको हो नि। मेडिकल पढ्न जान छोडेर रेडियो नेपालमा ६०० रुपैयाँको जागिर खान जानु पनि च्यालेन्ज नै हो नि मेरो लाइफसँग', मुस्कुराउँदै उनले भने, 'मेरो भाग्यले मलाई साथ दियो त्यो अर्कै कुरा हो। तर मैले लाइफमा च्यालेन्ज पनि लिएको छु नि।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell