PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

​आफूलाई पोर्नस्टार बनाउने पूर्वपतिविरुद्ध मुद्दा लडेर ७२ लाख डलर जितिन् बिन्दु परियारले



​आफूलाई पोर्नस्टार बनाउने पूर्वपतिविरुद्ध मुद्दा लडेर ७२ लाख डलर जितिन् बिन्दु परियारले
डल्लास मर्निङ न्युज

बिन्दु परियारका नाममा उत्तेजक फोटो वा पोर्नोग्राफिक भिडियोहरु भएका पेजहरु इन्टरनेटमा २ हजारभन्दा बढी छन्। तीमध्ये कुनै पनि आफ्नो अनुमतिमा पोस्ट नगरिएको उनी बताउँछन्। भिडियो र फोटोमा आफ्नो इच्छाले केही नगरेको उनको तर्क छ।

आफ्ना ५८ वर्षीय पूर्वपति टम रान्डेल सिवेलले आफूलाई यस्तो गर्न लगाएको भन्दै मुद्दा हालेकी २७ वर्षीया बिन्दुले साढे ७२ लाख डलर क्षतिपूर्ति दिन अमेरिकी अदालतले आदेश दियो।

डल्लास मर्निङ न्युजले यही आदेश, अदालतमा प्रस्तुत कागजात र कुराकानीलाई आधार बनाएर बिन्दुबारे विशेष फिचर तयार पारेको छ। त्यसैको भावानुवाद-

बिन्दुका पूर्व पतिले उनलाई परम्परागत नेपाली लुगाको साटो मिनिस्कर्ट लगाउन बाध्य पारे।

स्तन प्रत्यारोपण गर्न लगाए, पासपोर्ट लुकाइदिए र स्ट्रिप क्लबमा काम गर्न अह्राए।

त्यसबाट प्रशस्त रकम कमाउन नसकेपछि केटाहरुसँग यौन सम्पर्क गर्न बाध्य बनाए- अनि त्यसपछि त्यो सबको भिडियो बनाए।
पतिलाई छाड्दासम्म उनी इच्छाविपरीत पोर्न स्टार बनिसकेका थिए।

सन् २०१२ मा उनीहरु अलग्गिए। तर अलग्गिएपछि पनि बिन्दुलाई उनले अनलाइनमा दुःख दिन छाडेनन्। कलेजको बेवसाइटमा गएर ‘प्रस्टिच्युट’ लेखिदिए।

रेस्टुरेन्टहरुमा जाँदा अपरिचित मान्छेहरु आएर उनलाई सोध्न थाले, मैले तिम्रो भिडियो हेरेँ, चार्ज कति लिन्छौ?

तर बिन्दु भने मानिसहरुले आफ्नो बारेमा जानुन् भन्ने चाहन्छिन्। एक युवती जो अमेरिका नर्सिङ स्कूल पढ्न र आफ्नो परिवारलाई सहयोग गर्ने उद्देश्यले आएकी थिइन्।

मेरो फोटो र भिडियो हटाइदेऊ भन्दा सिवेलले अस्वीकार गरे। ‘जतिसुकै रिपोर्ट गर, म अर्कोमाथि अर्को बनाउँदै जानेछु। त्यतिन्जेल जबसम्म तिमी आफ्नो अपार्टमेन्टबाट बुर्का लगाएर हिँड्नु पर्ने गरी फेमस हुने छैनौँ”, उनले फेसबुकमा लेखेको मेसेज यस्तो थियो।

गत वर्ष बिन्दुले डल्लास काउन्टीमा ५८ वर्षीय सिवेलविरुद्ध मुद्दा दायर गरेका थिए, अनलाइनमा भएका आफ्ना सबै पोर्नोग्राफिक फोटो र भिडियो हटाउन र आर्थिक क्षतिपूर्तिको दावीसहित।

बिन्दुको विगत

सिवेलले एक आफन्तसित बिहे गर्दा बिन्दु एक वर्षकी मात्र थिइन्। उनले बिन्दुको पढाइको खर्च व्यहोर्ने प्रस्ताव गरे। उनले अंग्रेजी सिकिन् र नर्सिङ स्कूल पढ्ने सपना देख्न थालिन्।

यस्तैमा सिवेलले बिन्दुको नातेदारसित सम्बन्ध विच्छेद गरेर परिवारकै अर्को सदस्यसँग बिहे गरे। त्यो विवाह पनि सन् २००८ मा अन्त्य भयो र त्यसपछि उनले बिन्दुलाई चिट्ठी लेख्न थाले।

अमेरिका आए कलेज पठाउने वाचा पनि त्यसमा थियो। बिन्दुले प्रस्ताव स्वीकारिन्।

तर जब उनी अमेरिका पुगिन्, सोचेजस्तो केही भएन। त्यहाँ उनले फरक सिवेल देख्न पुगिन्। छोटा स्कर्टस्, बिकिनी टप र थङ अन्डरवेयर लगाउन बाध्य बनाइयो उनलाई।

जिन्स र लामो स्कर्ट लगाउन त कहिल्यै अनुमति दिइएन। बाहिर निस्कन र पढ्न पनि अनुमति दिइएन। स्थानीय स्ट्रिप क्लबमा काम गर्न जान सिवेलले बाध्य पारेको उनी बताउँछिन्।

अदालतमा उनको एउटा अनलाइन भिडियो पनि देखाइएको थियो जसमा छोटो गुलाफी स्कर्ट लगाएकी बिन्दुलाई एउटा पुरुषको आवाजले नेपाली भाषामा अह्राइरहेको सुनिन्थ्यो। त्यसै अनुसार बिन्दु आफ्नो शरीर नचाउँथिन्।

बिन्दुले त्यो आवाज सिवेलको भएको र उनले अरु कसैले नबुझोस् भनी  नेपाली भाषामा आदेश दिने गरेको बताइन्।

 अदालतको कागजात अनुसार सिवेलले उनलाई अरुसँग यौन सम्पर्क गर्न लगाएर फिल्म खिच्ने गर्थे। कहिलेकाहीँ सिवेल आफू पनि सहभागी हुन्थे भने कहिलेकाहीँ हेरी मात्र बस्थे।

त्यतिबेला ती भिडियोहरु आफ्नो लागि मात्र खिचेको भनी उनले बताएको बिन्दु बताउँछिन्।

उनले आफूलाई छाडे भिडियोहरु नेपालमा परिवारसामु पठाइदिने धम्की समेत दिएका थिए।

पतिलाई छाडिसकेपछि बिन्दुको दुःख कम भएको छैन। उनलाई काम खोज्न गाह्रो भइरहेको छ। नेपालमा उनको परिवारलाई धम्क्याउने र जिस्क्याउने काम भएको उनी बताउँछिन्। मानिसहरुले नराम्रो काम गरेर कमाएको पैसाले घर बनाएको भन्ने गर्छन्। स्कूलमा भाइहरुलाई हेपिन्छ।

 अनलाइनमा भएका उनका भिडियो र फोटोहरु हटाउन वर्षौँ लाग्न सक्छ। तर न्यायाधीशले आफ्नो पक्षमा फैसला गरेकोमा उनी खुसी छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell