PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कला र प्रविधिको फ्युजन अर्थात ‘यन्त्र ४’



कला र प्रविधिको फ्युजन अर्थात ‘यन्त्र ४’

काठमाडौं : २१ औं शताब्दीमा प्रविधिले मानव जीवनमा पारेको प्रभाव र फेरिएको जीवनशैलीले समाजका कतिपय विषय छायाँमा पर्दै गएका छन्। त्यो परिवर्तनलाई कलामा कसरी संयोजन गर्न सकिएला?

जीवनशैलीमा आएको परिवर्तन र प्रविधिको प्रभावलाई कलाकार र इन्जिनियरले कलात्मक रुपमा पस्केका छन्। कला र प्रविधिको संयोजन अहिले काठमाडौैंको नेपाल आर्ट काउन्सिलमा प्रदर्शन भैरहेको छ।

‘यन्त्र ४’ नाम दिइएको  प्रदर्शनी आइतबारदेखि सुरु भएको छ। सिद्धार्थ आर्टस् फाउन्डेसन एजुकेसन इनिसिएटिभ, कारखाना र रोबोटिक एसोसिएसन अफ नेपालले प्रदर्शनी आयोजना गरेका हुन्।

कलाकार कविराज लामाको टिमले 'सर्वदलीय बैठक' शीर्षकमा प्रस्तुत गरेको कला प्रदर्शनीको आकर्षण हो। २०४६ साल यताका प्रधानमन्त्रीको मुहारचित्र मार्फत नेपालको राजनीतिक अवस्थालाई उनले चित्रण गरेका छन्। हरेक प्रधानमन्त्रीको मुहारचित्र अगाडि पुगेपछि सेन्सरको कारण उनले बोलेको आवाज निस्कन्छ भने प्रकाशले व्यक्तित्वलाई कलात्मक रुपमा देखाउँछ।

‘नेपालका २०४६ साल यताका सबै प्रधानमन्त्रीले देश बनाउने भाषण गरे तर देशको अवस्था उस्तै रह्यो। मैले कलामार्फत तिनै प्रधानमन्त्रीका भाषण र मुहारचित्रलाई संयोजन गरी प्रस्तुत गरेको छु। यसमा दर्शकहरु सबै प्रधानमन्त्रीको अगाडि जाँदा आवाजै आवाज सुन्न सकिन्छ। यो आवाजले निकास दिने भन्दा पनि 'इरिटेसन क्रियट' गर्छ र मैले यसलाई सर्वदलीय बैठक भनेर नाम राखेको छु’, लामा भन्छन्।  यो कलात्मक प्रस्तुतिका लागि लामालाई इन्जिनियर रविराज खडका, पारस थापामगर र प्रतिक बुढाथोकीले सघाएका छन्।

प्रदर्शनीमा सुजन डंगोल, सरन तण्डुकार, भूषण दुवालले ‘बि अ पाइलट अफ युअर टाइम’ शीर्षकमा समयको परिवर्तनलाई देखाएका छन्।

सुजन डंगोल भन्छन् ‘उपभोक्तावादी संस्कृतिले मानव जीवनमा गहिरो गरी प्रभाव पारेको छ। त्यस्तै मान्छेका असीमित आवश्यकता पुरा गर्न आफ्नो समय लगाउँछ तर उसले गर्न खोजेको काममा गर्न सक्दैन, त्यो विषयलाई मैले देखाउने कोसिस गरेको छु।’

विनिता बुद्धाचार्य र शर्मिला श्रेष्ठले ‘बाटोको साथी’ शीर्षकमा जुत्ता र चप्पलसँग मानवीय सम्बन्धलाई देखाएका छन्।

महेन्द्र खडकाले समयको परिवर्तनलाई भिडियो आर्टमार्फत देखाएका छन्। दिपा श्रेष्ठले सांस्कृतिक विविधतालाई जुत्ताका माध्यमबाट प्रस्तुत गरेकी छन्।

पवन जोशीले छातामा आधारित रहेर पुरानो र नयाँबीच संयोजन गरी तस्वीरमार्फत आफ्नो कला देखाएका छन्।


मनिष पौडेलले फोहोरमा पनि सुन्दरता हुन्छ भन्ने विषयलाई तस्वीरका माध्यमबाट देखाएका छन्।


किरण महर्जनले नेपाली राजनैतिक इतिहासलाई साइन्स फिक्सन नोवेलमा रुपान्तरण गरेका छन्। कलाकार सुवास तामांग, मेख लिम्बु, सिर्जना राजबाहक र इन्जिनियर विनोद पंगेनीले सेन्सरबाट चल्ने सारंगीमार्फत गन्दर्व  जाति र सारंगीलाई देखाएका छन्। अमृत कार्की र पुजनले ‘मिमोसा प्लान्ट’ बाट प्रेरणा लिएर प्रविधिको मद्दतले कलाका प्रस्तुत गरेका छन्।

महिमा सिंह, अस्मिता अधिकारी र रोशन थापाले ‘शान्ति पोखरी’ को निर्माण गरेका छन्।


अर्का कलाकार प्रकाश रञ्जितले यन्त्रको छातामाथि भएको शोधमा आधारित रहेर प्रतिस्थापन कला पस्केका छन्। त्यस्तै तीनजना बालबालिका श्रेयांस पराजुली, आरोग्य रिजाल, अभिनव खेम्का मिलेर छातालाई प्रयोग गरी ‘गृहकार्य’ शीर्षकमा भिडियो गेम तयार पारेका छन्।

प्रदर्शनीका क्यूरेटर निश्चल ओलीले भने, ‘यन्त्रको लागि कला, प्रविधि र विज्ञान चाँहि मिश्रण हुने ठाउँ धेरै छन् तर कमी कहाँ छ भने हाम्रो दृष्टिकोण र शिक्षामा रहेको छ। यो कमीको विषयलाई लिएर यन्त्रले कलाकार र इन्जिनियरसँग काम गर्दै आइरहेको छ। त्यही वार्षिक प्रगतिलाई प्रस्तुत गर्न यो प्रदर्शनी आयोजना गरिएको हो।’


रचनात्मक व्यक्तित्व तथा प्रविधिविज्ञहरुबीच सशक्त संवादको माध्यमबाट अन्तरसंवादात्मक सहकार्यलाई प्रोत्साहन गर्ने मञ्च यन्त्र मार्फत आमदर्शकलाई कला र प्रविधि चिनाउने कार्य गर्दै आएको ओलीले बताए। प्रदर्शनी २१ पुससम्म जारी रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell