PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

तपाईँ कांग्रेसको क्रियाशील सदस्य हो ? आफ्नो नाम वेबसाइटमा हेर्नुस्



तपाईँ कांग्रेसको क्रियाशील सदस्य हो ? आफ्नो नाम वेबसाइटमा हेर्नुस्

काठमाडौँ : नेपाली कांग्रेसले क्रियाशील सदस्यको नामावली आज आफ्नो वेबसाइटमा राखेको छ। वेबसाइटमा जिल्लाअनुसार नयाँ र पुरानो गरी छुट्याएर नामावली प्रकाशित गरिएको हो।
 
वेबसाइटमा क्रियाशील सदस्यको क्रियाशील नं नाम, थर, बुबा वा पतिको नाम र थर, लिङ्ग, जिल्ला, निर्वाचन क्षेत्र नंं गाविस वा नगरपालिका वडा नंं र टोलसमेत उल्लेख गरिएको छ। क्रियाशील सदस्यता सूची हेर्नका लागि काँग्रेसको आधिकारिक वेबसाइटमा गएर वा यहाँ थिचेपछि राखेपछि विवरण देखिन्छ।
 
तेह्रौँ महाधिवेशनका लागि स्वीकृत कुल क्रियाशील सदस्य सङ्ख्या चार लाख ७० हजार ६५५ जनाको नामावली वेबसाइटमा राखिएको काँग्रेस केन्द्रीय कार्यालयमा सचिव प्रकाश शर्माले जानकारी दिए।
 
काँग्रेसको १२औँ महाविधेशनका लागि तीन लाख १३ हजार ८३६ जना क्रियाशील सदस्य रहेका थिए। त्यसमध्ये दुई लाख ५७ हजार ४०२ जनाले नवीकरण गरेका छन् भने १३औँ महाधिवेशनका लागि कुल दुई लाख दुई हजार १७९ जनाको नयाँ क्रियाशील सदस्यता स्वीकृत भएको पनि सचिव शर्माले बताए।
 
उनका अनुसार अघिल्लो महाधिवेशनमा कायम रहेर अहिले नवीकरण नगर्ने क्रियाशील सदस्यको सङ्ख्या ५९ हजार ४६४ रहेको छ।
 
तेह्रौँ महाधिवेशनका लागि सबैभन्दा कम नवीकरण भएको मुस्ताङ जिल्लामा १८४ जनाले क्रियाशील सदस्यता नवीकरण गरेका छन् । त्यसैगरी सबैभन्दा कम नयाँ सदस्यता स्वीकृत हुनेमा मनाङ जिल्ला परेको छ । मनाङमा १३औँ महाधिवेशनका लागि १३५ जनाको नयाँ क्रियाशील सदस्यता स्वीकृत भएको छ ।
 
क्रियाशील सदस्यता नवीकरण गर्नेमा सबैभन्दा अगाडि झापा जिल्ला देखिएको छ । झापामा १३औँ महाधिवेशनका लागि १० हजार ७९१ जनाले सदस्यता नवीकरण गरेका छन् । सबैभन्दा धेरै नयाँ क्रियाशील सदस्यताको स्वीकृति पाउने जिल्ला भने चितवन भएको छ । चितवनमा नौ हजार ८०७ जनाको नयाँ क्रियाशील सदस्यता स्वीकृत भएको केन्द्रीय कार्यालयका सचिव शर्माले बताए।
 
विभिन्न देशमा रहेका काँग्रेसका नेपाली जनसम्पर्क समितिमार्फत प्राप्त निवेदनका आधारमा ११ हजार ७४ जनाले क्रियाशील सदस्यता पाएका छन् ।
 
नेपाली काँग्रेसले पहिलोपटक क्रियाशील सदस्यतासम्बन्धी विवरण वेबसाइटमा राखेको हो। अहिले महाधिवेशनका लागि केन्द्रित गरेर राखिएको र यसलाई विस्तारै थप व्यवस्थित र परिमार्जित गरिँदै लगिने पनि केन्द्रीय कार्यालयका सचिव शर्माले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell