PahiloPost

Apr 5, 2026 | २२ चैत्र २०८२

​अजित डोभल : जो नेपाल मामिलामा असफल भए



अजित डोभल त्यस्ता हाइप्रोफाइल भारतीय जासुस हुन् जो सात वर्षसम्म पाकिस्तानमा मुस्लिमको भेषमा रहेर सूचना बटुल्ने काममा सक्रिय रहे। नरेन्द्र मोदीको सरकारले उनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएपछि उनी अझ चर्चामा छन्। उनका सफलताका कथा धेरै छन् तर उपमहाद्विपमा छिमेकीहरुसँगको सम्बन्ध खराब हुनुको दोष पनि उनैको टाउकोमा थोपरिन्छ। उपप्रधानमन्त्री कमल थापाले आफ्नो दुई पटकको भारत यात्रामा भेटेका प्रमुख व्यक्ति मध्ये डोभल पनि एक हुन्। नेपालसँगको कुटनीति फ्लप भएको दोष भारतीय मिडियाले उनैलाई दिएको पाइन्छ। नेपाल मामिला सुल्झाउन जिम्मा दिइएकै कारण भारतीय प्रधानमन्त्री मोदी अमेरिका भ्रमणमा जाँदा उनी सँगै जान पाएका थिएनन्
 

  • रेहान फजल-
'पाकिस्तान भारतभन्दा कयौँ गुणा नाजुक छ। जब तिनीहरुले थाहा पाउँछन् भारतले आफ्नो गियर बदलेर रक्षात्मक मोडबाट आक्रामक रक्षात्मक व्यवहार गर्छ तब पाकिस्तानले ठूलो मूल्य चुकाउनुपर्ने थाहा पाउँछ। यदि उनीहरुले मुम्बईमा घटना गराउन सक्छन् भने उनीहरुले बलुचिस्तान गुमाउन सक्छन्।'

'टिट फर ट्याट' अर्थात् आगोको बदला आगोबाट धम्काउने यी व्यक्ति हुन् भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल।

भारतको मिजोरममा पृथकतावादीको नेतृत्वलाई सिध्याउनेदेखि अपरेशन ब्ल्याक थन्डर चलाउँदा पाकिस्तानी गुप्तचर संस्था आइएसआइ अधिकारी बनेर स्वर्ण मन्दिरभित्रको गुप्त सूचना बाहिर निकाल्ने काम डोभलले गरे। अझ कान्दाहारमा विमान अपहरण काण्डमा तालिबानसँग कुराकानी गर्दा भारतको स्पाइ मास्टर अजित डोभलको ठूलो भूमिका रह्यो।

सफलताका कथा

अजित डोभलको ब्याच मेट रहेका केन्द्रीय औद्यौगिक सुरक्षा फोर्सका पूर्व महानिर्देशक तथा डोभलसँग काम गरेका के एम सिंह भन्छन् – 'इन्टेलिजेन्स ब्युरोमा आजसम्म अपरेसनको विषयमा सबैभन्दा उत्तम व्यक्ति अजित डोभल जत्तिको कोही छैन। सुरुदेखि नै अर्थात् १९७२देखि नै डोभल आइबीमा दिल्ली आए।

त्यसको दुई वर्षमा मिजोरमको खराब अवस्था सुधार्न उनी त्यहाँ पुगे। मिजोरममा शान्ति वार्ता देखि अपरेशनसम्मको काम उनले गरे। यसमा सबैभन्दा ठूलो भूमिका डोभलको छ। असीको दशकमा पञ्जाबको हालत अझै खराब थियो। उनले पञ्जाबको अवस्थामा काम गरे। उनले ब्याल्क थण्डर अपरेशनमा जसरी काम गरे त्यसको वर्णन गर्न मुस्किल छ।

भारतीय आर्मीमा कीर्तिचक्र भन्ने सबैभन्दा ठूलो अवार्ड छ जुन आर्मीका अधिकृत भन्दा बाहिरकालाई प्रदान गरिन्न। अजित डोभल एकमात्र त्यस्तो व्यक्ति हुन् जसले कीर्तिचक्र  अवार्ड प्राप्त गरे।‘ 
 
नरेन्द्र मोदी प्रधानमन्त्री बने लगत्तै जब उनले अजित डोभललाई प्रमुख सुरक्षा सल्लाहकार बनाए कसैले आश्चर्य मानेनन्।



सपथमा सार्क सरकार प्रमुखलाई निम्तो

भनिन्छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहणका दौरान सार्क राष्ट्रका प्रमुखहरुलाई भारत आउन निम्तो दिने ‘मास्टर स्ट्रोक’ डोभलको दिमागमा थियो।

डोभलका पूर्व बोस तथा इन्टेलिजेन्स तथा रअका पूर्व प्रमुख अमरिजत सिंह तुलक भन्छन् – 'मोदीजी र डोभलको तालमेल राम्रो छ। स्टाइल बदिलन सक्छ मान्छेको तर काम त उही हो। मैले ब्रजेश मिश्रजीको साथ काम गरेँ। उनी पनि बहुत राम्रो हस्ति थिए। मलाई लाग्छ उनको जस्तो हैसियतमा पुग्नु थोरै मुस्किल छ। किनभने मिश्रामा कन्फिडेन्स यति धेरै थियो कि उनलाई धेरै काम गर्नुपर्ने जरुरत नै थिएन। प्रधानमन्त्री अटल बिहारी बाजेपेयीको पालामा केही समस्या आयो तर सबै काम सोचेर सम्झेर गरियो। रियाक्सन पनि सोच सम्झेर लिइन्थ्यो। तर अहिले रियाक्सन एकदमै छिटो आउँछ। समाचार २४/७ चल्छ। जब हाम्रो संसदमा आक्रमण भयो।  म आफ्नो कोठाबाट देख्न सक्थेँ कि प्रधानमन्त्री कार्यालयमा रहेका ब्रजेश मिश्रा टेलिभिजनमा हेर्दै थिए। तर उनमा कुनै आश्चर्यबोध गराउने कुनै कुरा थिएन। उनमा हतारो थिएन कि दौडेर पार्लियमेन्ट जाउँ, उनी मज्जाले बसिराखे। चुरोट पिइराखे र हेरिरहे। उनले त्यसको जटिलताबारे सोचे अनि लन्च पछि प्रधानमन्त्रीसँग भेटे अनि प्रधानमन्त्रीको सम्बोधन आयो – यसरी हुँदैन। उतिबेला सोचेर बुझेर निर्णय हुन्थ्यो।

हाइज्याकको मामलामा बरु तुरुन्त रियाक्सन  आयो – यो के थियो भनेर। के १ सय ७४ जनालाई मृत्युका लागि छाड्ने या नछाड्ने। त्यतिबेला पनि अजित डोभल कि नेगोसिएटर थिए। उनी कान्दाहारमा थिए। त्यतिबेलामा बडो अन्यौलको स्थिति थियो। तालिबानसँग हाम्रो कुनै सम्बन्ध थिएन। तालिबान भनिराखेको थियो सबै काम फटाफट गर नत्र जहाज हामी उडाउँछौ। प्रेसरमा त्यतिबेला काम गरे। नेगोसिएसन राम्रो भयो। उनीहरुको माग पहिला सय जनाको रिहाइ थियो। उनीहरु ७५ मा आए, २५ मा आए तर जम्मा तीन जना मात्र रिहाइ गरियो।

सही कुरा के हो भने डोभलको कार्यकालमा भारतलाई कयौँ ठूला सफलता प्राप्त भयो। फादर प्रेम कुमारलाई आइएसको चङ्गुलबाट छुटाइयो। श्रीलङ्कामा ६ जना माछा मार्ने व्यक्तिलाइ फाँसी दिनु अघिल्लो दिन माफीको निर्णय भयो। साथै देवाशांक र दिनचोक इलाकाबाट स्थायी चिनियाँ सैनिक क्याम्पको हटाउने काम भयो। डोभलको तारिफ भयो।'


तर कयौँ मामलामा असफलता

तर कयौँ मामिलामा डोभल असफल भएका छन्। इण्डियन एक्सप्रेसका सह सम्पादक सुशान्त सिंह भन्छन् – 'हामीकहाँ भएको राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिका पश्चिमा देशहरुमा भन्दा भिन्न किसिमको छ। यसमा आन्तरिक र बाह्य सुरक्षासँगै कुटिनीतिक सम्बन्धको पनि भूमिका छ। डिप्लोमेसी अनुसार हेर्ने हो भने भारतको आफ्नो उपमहाद्विपमा सम्बन्ध खराब भएको छ। माल्दिभ्स, नेपालसँग पनि अझ पाकिस्तानसँग फल्प भएको छ।'

यस्तो मुद्दाबाट हेर्दा १९ महिना भयो डोभलको कार्यकालको तर खास प्रगति भएन। अझ आन्तरिक रुपमा पनि पठानकोटमा हमला भयो, गुरदासपुरमा भयो। कश्मिरमा आतंककारी गतिविधि बढेको छ। त्यहाँको अवस्था खराब भएको छ। यसरी हेर्दा डोभलसँग भएको ठूलो अपेक्षा पूरा भएको देखिन्न। किनकि डोभल एउटा परिचित इन्टेलिजेन्स अफिसर हुन्, उपल्लो तहका त्यसैले होला मानिसलाई आशा धेरै थियो – राष्ट्रिय सुरक्षाको विषयमा डोभलको नेतृत्वमा राम्रो र उत्कृष्ट काम हुन्छ भन्ने। तर त्यस्तो भएन।'

एक अर्का चिरपरिचित अजय शुक्ला भन्छन्  डोभलको पुराना काम तारिफयोग्य छ तर उनीसँग विश्व दृष्टिकोण अझ सुरक्षालाई लिएर छैन।
'आफ्नो समयमा उनी अत्यन्त सफल रहे, सबै कर्मचारीमा उनको रेप्युटेसन छ। सबैले मान्छन्। तर मानिस आफ्नो क्षेत्रमा सफल हुनसक्छ तर अरु क्षेत्रमा पनि त्यति सफल नहुन सक्छ।

डिप्लोमेसीबारे कम जानकारी

अजित डोभलको जानकारी डिप्लोमेसी र वैदेशिक सम्बन्धबारे कम छ। इन्टेलिजेन्सको क्षेत्रमा जति जानकारी छ त्यति नै जानकारी अपरेशन, वैदेशिक सम्बन्ध र कुटनीतिमा आवश्यक हुन्छ। जब पठानकोटमा हमला भयो तब त्यस्ता क्षेत्रहरुमा हेर्नुपर्ने थियो। अप्रेसनको समस्यामा धेरै व्यवधान थियो त्यस्तो अवस्थामा कुटनीति र वैदेशिक सम्बन्धका जानकारलाइ बोलाउनु पर्थ्यो। राष्ट्रिय स्तरमा क्राइसिस मेनेजमेन्ट टिम छ जसलाई मन्त्रिपरिषद्को सचिवले नेतृत्व गर्छन्। जसमा आर्मी र विदेश सचिव र इन्टेलिजेन्स एजेन्सीका मान्छे रहन्छन्। त्यस्तो अवस्थामा राष्ट्रिय सुरक्षा सल्लाकारले त्यो बैठक डाक्नु पर्थ्यो। उनले सबै निर्णय आफै लिनु हुँदैनथ्यो। क्राइसिस मेनेजमेन्ट टिमलाइ विश्वासमा लिएर अलग अलग जानकारहरुको राय लिनुपर्थ्यो। तब गएर राम्रो निर्णय लिन सकिन्थ्यो। हतारो र एक्लै सबै निर्णय लिनु भविष्यमा सहि सावित नहुनसक्छ।'

तर औद्योगिक सुरक्षा फोर्समा पूर्व महानिर्देशक तथा इन्टेलिजेन्स ब्यूरोका बरिष्ट अधिकारी केएम सिंह शुक्लाको भनाईमा सहमत छैनन्। उनी भन्छन् – राष्ट्रिय सुरक्षा सल्लाहकारलाई आन्तरिक सुरक्षाको गहिरो जानकारी आवश्यक हुन्छ। देश सुरक्षित भए न तपाइँ बाहिरको बारेमा सोच्नुहुन्छ। डोभलले आन्तरिक रुपमा पञ्जाबदेखि नर्थइष्ट र कश्मिर डिल गरेका छन्। सबै हेरेपछि उनी इन्टेलिजेन्स ब्युरोका प्रमुख पनि भए। डोभलको ज्ञानका बारेमा प्रश्न गर्नु बेकार हो। दोश्रो कुरा राष्ट्रिय सुरक्षा सल्लाहकारमा विदेश नीति र कुटनीतिबारे खासगरी छिमेकी उनीहरुको नीति र सिद्धान्त र सम्बन्धबारे जानकारी हुनुपर्छ। तर हाम्रो सबैभन्दा महत्वपूर्ण छिमेकी त पाकिस्तान हो नि त्यहाँ डोभलले साढे ६ वर्ष बिताएका छन्। त्यस्तै ४ वर्ष भारतीय उच्च आयोग लण्डनमा बसे। दश वर्ष त बाहिर बसे।

तेश्रो दुरदृष्टि आवश्यक हुन्छ जुन डोभलमा छ। उनी यति लामो योजना बनाउन सक्छन् कि जसको उदाहरण उनको कयौँ अपरेशनको सफलताले देखाउँछ। चौथो हो कर्मठता, डोभल १४ मात्र होइन १८ घण्टा खट्छन् अहिले पनि जबकि उनको उमेर ७१ बर्ष भयो।

अजित डोभलका आलोचक हरेक ठाउँमा आफ्नो उपस्थिति जनाएर सबै कुरा आफैँ ह्याण्डल गर्ने चाहाना उनमा भएको बताउँछन्।'

इण्डियन एक्सप्रेसका सह सम्पादक सुशान्त सिंह भन्छन् – हामीले दुई तरिकाले हेर्नुपर्छ। सांगठनिक कमजोरी अहिलेसम्म हटाइएको छैन। ज्यादा व्यक्तित्व केन्द्रित भएको छ। व्यक्तित्व केन्द्रित हुनुको असर पूर्व सुरक्षा सल्लाहकार शिव शंकर मेननकै शब्दमा भनौँ – चीन र भारतको बीचमा जब वार्तामा सीमानाको कुरा हुन्छ तब विशेष प्रतिनिधि  भारतको तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार हुन्छ। तर राष्ट्रिय सुरक्षा सल्लाहकारुले सानो आतंककारी हमलालाइ लिएर चीन भ्रमण रद्द गरे। १ सय ३० करोड जनसंख्या भएको देशमा तपाइँ सबैभन्दा ठूलो छिमेकीसँगको वार्ता रद्द गर्न सक्नुहुन्न। तपाइँ छ जना आतंककारी कुनै ठाउँमा लड्दैछन् भन्ने बाहाना यस्तो वार्ताको कारक बन्नु हुँदैन। यो नतिजा हो सबै जिम्मेवारी आफैँ लिनुको कारण। अन्तराष्ट्रिय छविमा छ्या छ्या भन्ने अवस्था बनेको हुनसक्छ यस्तो अवस्थाले। भारतमा कुनै क्षमता छैन सबै एकजना व्यक्ति माथि छ भन्छन् होला।

रअका पूर्व प्रमुख अमरिजत सिंह तुलक भन्छन्- 'यो सरकार के चाहान्छ। मोदी के चाहान्छन् भन्ने कुरा हो। यदि मोदी नै डोभललाई सबैभन्दा भरोसायोग्य ठान्छन् भने र भन्छन् डोभलले हेरुन् भने त डोभलले गर्नैपर्छ। अझ मोदीको र डोभलको स्टाइल पनि उस्तै छ। यो सांगठिनक आलोचना जुन छ मानिसहरु मोदीबारे पनि गर्छन्। मन्त्रिपरिषद् काम गर्दैन भन्छन् , मन्त्री मन्त्रालय हेर्छन् भन्छन् तर महत्वपूर्ण निर्णय त मोदीले लिन्छन् नि त्यसैगरि डोभलले पनि लिन्छन्।'

डोभलका आलोचक भन्छन् उनको भाषाशैली राम्रो छैन। उनी झट्ट बोल्छन् र विषय बाहिर पनि बोल्छन्। 

रअका पूर्व प्रमुख अमरिजत सिंह तुलक यो आरोपको खण्डन गर्छन् – 'हरेक चीज सोचेर सम्झिएर गर्छन्। 'दियर इज अल्वेज मेथड इन द म्याडनेस।'

पठानकोट हमलाको जुन जवाफ सरकारले दिएको छ त्यसको सूत्रधार डोभल नै थिए। उनको भूमिका माथि पनि सामरिक विश्लेषकको भूमिका बाँडिएको छ।

वास्तवमा भन्ने हो भने यतिबेला डोभल निशानामा छन्। यदि उनको नेतृत्वमा प्रो एक्टिभ सामरिक सोच विकास भएन भने उनले आफैले बनाएको सफल व्यक्तित्वको ट्र्याकमा कुनै धब्बा लाग्न सक्छ। तर डोभल जरुर यस्तो कहिल्यै हुन दिन चाहँदैनन्। 
 
 
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell