PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सार्कको 'फाइनल टच'मात्र बाँकी, के के हुँदैछ सम्मेलनमा?



सार्कको 'फाइनल टच'मात्र बाँकी, के के हुँदैछ सम्मेलनमा?

  • मनोज सत्याल/पहिलोपोस्ट-
काठमाडौँ : परराष्ट्र मन्त्रालयले सार्क सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। सम्मेलन स्थल,बैठक कक्ष, सवारी ब्यवस्थापनको तयारी सकिएको जनाएको हो। मन्त्रालयले केही स्थानमा सडकको 'फाइनल टच' दिन मात्र अब बाँकी रहेको जनाएको हो।

मन्त्रालयले सार्क बैठकका लागि गर्नुपर्ने 'अफिसयल डकुमेन्टेसन' लगायतका काम समेत सम्पन्न गरिसकेको जनाएको छ।

परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले शुक्रबार पत्रकार सम्मेलन गरेर मंसिर १० र ११ गते हुने १८ ‌औँ सार्क शिखर सम्मेलनको तयारी सन्तोषजनक देखिएको बताएका हुन्।

के के हुँदैछ सार्क सम्मेलनमा?
सार्कको ‍औपचारिक कार्यक्रम मंसिर १० र ११ गते हुने भएपनि भोलिदेखि नै तयारी बैठकहरु प्रारम्भ हुँदैछन्।

शनिबार परराष्ट्र मन्त्रालयका सहसचिव स्तरको सार्क कार्यक्रम समितिको बैठक बस्दैछ। बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमालले सहभागिता जनाउनेछन्। बैठकमा सहभागिताका लागि सार्क राष्ट्रका सहसचिवहरु काठमाडौँ आउने क्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकमा नेपालले सार्कका आठ राष्ट्रमा पठाएको ३१ बुँदे घोषणापत्रको ड्राफ्टको  विषयमा सदस्य राष्ट्रहरुको टिप्पणीमाथि छलफल हुनेछ। समितिले आवश्यक परिमार्जन गर्नेछ।

आइतबार सार्क परराष्ट्र सचिवस्तरीय बैठक बस्नेछ। बैठकले कार्यक्रम समितिले तयार गरेको बुदाँहरुमाथी थप छलफल गर्नेछ। बैठकमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव शंकरदास बैरागीले सहभागिता जनाउनेछन्।

सोमबार परराष्ट्र मन्त्रीस्तरीय बैठक बस्नेछ। परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले सहभागिता जनाउने बैठकमा सार्कका नीतिगत तहमा छलफल हुनेछ। मन्त्रीस्तरीय बैठकले राष्ट्रप्रमुखहरुसँग आवश्यक परामर्श गरेर घोषणापत्रलाई अन्तिम रुप दिनेछ। 

कसरी हुने छ समारोह?

सार्कको उद्घाटन सत्र मंसिर १० गते हुनेछ। उद्घाटनका बेला मन्चमा केवल नौ जना मात्र हुनेछन्। सार्कका महासचिव अर्जुनबहादुर थापासहित सबै आठ सदस्य राष्ट्रका प्रमुखहरु मात्र मन्चमा बस्नेछन्।

मन्चमा जानुअघि बस्न सम्मेलन स्थलमा नयाँ कोठाहरु निर्माण गरिसकिएको छ। मन्चमा सुरक्षाकर्मीहरु समेत रहने छैनन्। उद्घाटनमा माल्दिभ्सका राष्ट्रप्रमुख अब्दुल्लाह यामिनले नेपाललाई अध्यक्षता हस्तान्तरण गर्नेछन्। सबै राष्ट्रप्रमुखहरुले शुभकामना मन्तब्य दिनेछन्।

र्यवेक्षक राष्ट्रका विदेशमन्त्री स्तरमा सहभागिता भए उनीहरुले समेत मन्तब्यको अवसर पाउनेछन्। तर त्यो लेभलमा सहभागिता हुने नदेखिएको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले बताए।

झण्डै चार घण्टा चल्ने उद्घाटन सत्र पछि साँझ प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रप्रमुखहरुलाई रात्रीभोज दिनेछन्।

मंसिर ११ गते सबै राष्ट्रप्रमुखहरुलाई रिट्रिटका लागि धुलिखेल लगिनेछ। त्यहाँ राष्ट्रप्रमुखहरुले खुला र अनौपचारिक छलफल गर्न सक्नेछन्। उनीहरुलाई सरकारले हेलिकप्टरमा त्यहाँ पुर्‍याउने ब्यवस्था मिलाएको छ। मौसमले साथ नदिए राजधानीमै रिट्रिटका लागि समेत सरकार तयार रहेको मन्त्री पाण्डेले बताए।

रिट्रिटबाल फर्कीएपछि सभागृहमा समापनको औपचारिक कार्यक्रम हुनेछ। त्यहाँबाट काठमाडौँ घोषणापत्र जारी हुनेछ। साँझ सबै राष्ट्रप्रमुखहरुलाई राष्ट्रपति डा. रामवरण यादवले सामूहिक भेट गर्नेछन्। लगत्तै राष्ट्रपतिले दिने रात्रीभोजमा सबै सरिक हुनेछन्। 

के छन् सार्कका मुद्दा?

नेपालले सार्कका सदस्य राष्ट्रहरुमा पठाएको ३१ बुँदे ड्राफ्टमा विगतको प्रतिवेदनको समीक्षा, गरिबी निवारण,कृषि तथा ग्रामीण विकास, सामाजिक विकास, स्वास्थ्य र जनसंख्या लगायत स्वीकृत सहयोगका क्षेत्रहरु सम्बन्धमा छलफल हुनेछ।

साथै सार्कको साझा समस्याको रुपमा रहेको आतंकवाद, महिला हिंसा, भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता,सीमापार सुरक्षा, वैदेशिक रोजगारीमा गएका सार्क मुलुकका जनताले भोग्नु परेका समस्याका विषयमा समेत यस वर्ष छलफल हुनेछ। पर्यवेक्षक राष्ट्रहरुसँगको सम्बन्धबारे समेत समीक्षा हुनेछ। चीनले सार्कको सदस्य बन्न गरेको प्रस्तावका विषयमा समेत कुराकानी हुने परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले बताए। 

संविधान निर्माणमा सुझावको अपेक्षा

शुक्रबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेल गर्दै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सार्क राष्ट्रप्रमुखहरुले संविधान निर्माणमा सुझाव दिने अपेक्षा ब्यक्त गरे।

'नेपालमा पहिलो सार्क सम्मेलन हुँदा सार्वभौमसत्ता राजामा थियो, दोश्रो हुँदा राजा र  जनतामा निहित थियो', मन्त्री पाण्डेले भने, 'अहिले जनतामा निहित भएको अवस्था छ, यो हामी सबैका लागि अवसर हो।'

मन्त्री पाण्डेले सार्कबाट नेपालीको आर्थिक सोच प्रष्ट्याउनु पर्ने बताए। 'मुलुकमा इन्भेष्टमेन्टको वातावरणको आभास गराउनुपर्छ', मन्त्री पाण्डेले भने। 

'मोदी भ्रमण क्यान्सिल भएको औपचारिक जानकारी छैन'

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालका धार्मिक स्थलहरुको भ्रमण रद्द भएको बारे मन्त्रालयलाई कुनै जानकारी नभएको बताए। कुनै कार्यक्रममा छलफल भएका विषयमा बाहिर समाचार आएको पाण्डेले टिप्पणी गरे।

आफूले भौतिक योजना तथा यातायात मन्त्री विमलेन्द्र निधीसँग सोधपुछ गर्दा 'जनकपुरको राजनीतिको विषय' भन्ने जवाफ पाएको र आफूले त्यसलाई बेवास्ता गरेको पाण्डेले प्रष्ट गरे।

जनकपुरमा मोदी हेलिकप्टरबाट ओर्लिएर जानकी मन्दिरसम्म जाने कार्यक्रम मात्र परराष्ट्रलाई जानकारी रहेको पाण्डेले बताए। त्यस अनुसार मोदी जाने कार्यक्रमको तयारी गरिएको उल्लेख गर्दै मोदीले जानकी मन्दिरमै सम्बोधन गर्ने इङ्गित गरे। 

लोगो परिवर्तन परिवर्तन र सार्कको मितिबारे छलफल

यस वर्षको सार्क बैठकले मुख्यतया विगतमा भएका सहमतिको कार्यन्वयन पक्षमा ध्यान दिने मन्त्री पाण्डेले स्पष्ट गरे। सहमति बने सार्क बडापत्रका केही प्रावधान परिवर्तन हुने उनले बताए।

सार्कको लोगो अपडेट गर्ने, प्रत्येक वर्ष विदेश मन्त्रीस्तरीय बैठक र दुई दुई वर्षमा सार्कको बैठक गर्ने विषयमा छलफल हुने पाण्डेले जानकारी दिए। सार्क सचिव स्तरमा ६-६ महिनामा र सह-सचिव स्तरको कार्यक्रम समितिलाई मान्यता दिलाउने विषयमा समेत छलफल हुने पाण्डेले बताए।

आउन थाले सहभागी

राससका अनुसार सार्कको १८ औँ शिखर सम्मेलनमा भाग लिन सदस्य मुलुकका उच्च सरकारी अधिकारी राजधानी आउनेक्रम सुरु भएको छ।

सार्क कार्यक्रम समितिको ४९ औं बैठकमा भाग लिन अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलङ्काका उच्च सरकारी अधिकारी यहाँ आएका छन्। सदस्य देशका परराष्ट्र, बाह्य मामिला र विदेश मन्त्रालयका सहसचिव सम्मिलित कार्यक्रम समितिको बैठक शनिबार हुँदैछ।

उक्त बैठकमा भाग लिन अफगानिस्तान, भुटान र पाकिस्तानबाट तीन–तीन, बङ्गलादेश र मालदिभ्सबाट चार–चार, भारतबाट छ र श्रीलङ्काबाट पाँच सदस्यीय प्रतिनिधिमण्डल आइसकेका छन्।

बैठकमा अफगान प्रतिनिधिमण्डलको नेतृत्व क्षेत्रीय मामिलासम्बन्धी त्यहाँका उपमहानिर्देशक इल्हाम घार्जीले तथा बङ्गलादेशी टोलीको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालय, सार्क तथा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) महाशाखाका महानिर्देशक अब्दुल मोटालेब सरकारले गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यसैगरी भुटानी पक्षको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयका सार्क तथा क्षेत्रीय सङ्गठन विभागका प्रमुख सुश्री निमा आमेले तथा भारतीय पक्षको त्यहाँको बाह्य मामिला मन्त्रालयका सहसचिव डा ए एम गन्डेनले गर्नेछन्।

त्यस्तै बैठकमा मालदिभ्सको विदेश मन्त्रालयका अतिरिक्त सचिव ऐसाथ लिउसा जाहिर, पाकिस्तानको  विदेश मन्त्रालयका महानिर्देशक मुहम्मद नाफिस जाकारिया र श्रीलङ्काको बाह्य मामिला मन्त्रालय, सार्क तथा दक्षिण एसिया विभागका कामु महानिर्देशक दर्शना पेरेराले आआफ्नो मुलुकको नेतृत्व गर्ने परराष्ट्र मन्त्रालका प्रवक्ता खगनाथ अधिकारीले बताए।

शिखर सम्मेलन आयोजक मुलुक नेपालबाट कार्यक्रम समितिमा सात जना रहने छन्। परराष्ट्र मन्त्रालयको क्षेत्रीय सङ्गठन विभागका प्रमुख एवम् सहसचिव यज्ञवहादुर हमालले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको सार्क महाशाखाका उपसचिवद्वय मणिरत्न शर्मा र आनन्दप्रसाद शर्मा, मन्त्रालयका उपसचिव रीता धिताल र लोकबहादुर पौडेल क्षेत्री तथा सार्क महाशाखाका शाखा अधिकृतद्वय भोगेन्द्र लिङदेन र विनोद मुखिया छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell