PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

​यसरी जन्मियो बुद्धिसागरको फिरफिरे



​यसरी जन्मियो बुद्धिसागरको फिरफिरे

  • पहिलोपोस्ट-
काठमाडौं : कुनै दिन बुद्धिसागरले दुई बालकलाई भेटे ११/१२ वर्षका। कटासे बसपार्कमा उनीहरु काठमाडौं जाने बस खोज्दै थिए।

काठमाडौं जाने बस नपाइने त्यो बसपार्कमा काठमाडौं जाने बस खोज्दै हिँडेका बालकहरु देखेपछि काउन्टरमा मान्छे पनि दंग परे। जब मान्छेहरुले ती बालकलाई उनीहरुको यात्रा बारे प्रश्न गरे, उनीहरु रुन थाले। पछि मान्छेहरुले ती बालकलाई प्रहरीमा बुझाए।

भएको यत्ति हो। तर यही घटना नै लेखक बुद्धिसागरका लागि उपन्यास 'फिरफिरे' को प्रस्थान विन्दु बन्यो। बुद्धिसागरले आफ्नो बाल्यकालमा घर नजिकैको बसपार्कमा घरबाट भागेर काठमाडौं जान आएका दुई किशोरहरुको त्यही सम्झनाबाट कथा अघि बढेको बताए।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको 'फिरफिरे' को विमोचन कार्यक्रममा बुद्धिसागर आफ्नो लेखनबारे बोल्दै थिए। प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा आज जन्मदिन परेका युवक निशान्त खनालले पुस्तक विमोचन गरे। उपन्यासकार बुद्धिसागरले 'कर्णाली ब्लुज' को ५ वर्षपछि दोश्रो उपन्यास सार्वजनिक गरेका हुन्।


कार्यक्रममा कालिप्रसाद बाँस्कोटाले बुद्धिसागरले लेखेको फिरफिरेको गीत गाएर सुनाएका थिए।  
 

शिवानीको प्रश्न, बुद्धिसागरको जवाफ

डबलीमा उनलाई प्रश्न सोध्न तयार थिइन् शिवानीसिंह थारु र जवाफका लागि तयार थिए बुद्धिसागर।

'लेख्न थाल्नुअघि तपाईँको दिमागमा के आउँछ?', शिवानीको प्रश्नमा बुद्धिसागरले भने, 'मेरो दिमागमा चित्र आउँछ। जस्तो फिरफिरे सुरु गर्नुअघि कटासे बजारमा भेटिएका ती दुई बालकको चित्र दिमागमा आयो।'

उनको पहिलो उपन्यास 'कर्णाली ब्लुज' लाई पाठकहरुले औधि रुचाएका थिए। 'फिरफिरे' सार्वजनिक पहिले नै गर्ने भनिए पनि भूकम्प र नाकाबन्दीका कारण ढिलाइ भएको थियो।

'सबै फाइनल गरेर पाण्डुलिपि प्रकाशकलाई बुझाउने बित्तिकै भुइँचालो गयो त्यसपछि किताब छापियो, छापिएपछि फेरि नाकाबन्दी भइहाल्यो' उनले भने 'किताब आएपछि पनि आगलागी भएर सबै किताब नै जल्ने हो कि आज (विमोचनको दिन) पनि ठूलो हावाहुरी चल्ने हो कि पानी आउने हो कि भन्ने डर थियो।'

बुद्धिसागरले यो उपन्यास मधेसी र पहाडी समुदाय मिसिएर बनेको समाजको कथा लेखेको बताएका छन्। 'तराई रहस्यमय छ धेरै समाजका मान्छे पहाडबाट झरेका मानिस र तराइका मानिस मिलेर बनेको समाजको कथा मात्र म लेख्न सक्छु त्यहाँ संस्कृतिहरु सेयर भएको हुन्छ लवज, भाषाहरु सेयर भएको हुन्छ मिसमास खालको समाजको कुरा आख्यानमा राम्रोसँग लेख्न सकिन्छ।'

अहिले मधेस आन्दोलन चलिरहेको छ देशले नाकाबन्दी भोगिरहेको छ तर तपाइँको लेखनमा किन ती कुरा आउँदैनन्? प्रस्तोता शिवानीसिंह थारुले सोधिन्। बुद्धिसागरले भने 'मलाई जरातिरको चिज लेख्न मन लाग्छ।'

२०६७ भदौ २७ गते कर्णाली ब्लुज सार्वजनिक भएपछि एक हप्ता भन्दा रेस्ट नगरेको उनले बताए। उनले आफूले एउटा उपन्यासको पाण्डुलिपि लेखेर पनि नछापेको बताए।

धेरै लेखकको दोश्रो उपन्यास राम्रो हुन्न भन्ने देखिएको छ तपाइँलाई डर लागेको छैन?  प्रस्तोता थारुको प्रश्नमा उनले भने 'दोश्रो राम्रो हुँदैन भनेर छापेको छैन यो तेश्रो हो।'

फाइनप्रिन्टले बजारमा ल्याएको 'फिरफिरे' को मूल्य ५४२ रुपैयाँ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell