PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सार्क कार्यक्रम समितिको बैठक सुरुः क्षेत्रीय केन्द्रहरुको पुनःसंरचनामा छलफल हुँदै



सार्क कार्यक्रम समितिको बैठक सुरुः क्षेत्रीय केन्द्रहरुको पुनःसंरचनामा छलफल हुँदै

काठमाडौँ:  दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को कार्यक्रम समितिको बैठकमा सार्कका तीनवटा क्षेत्रीय केन्द्र बन्द गर्ने र चारवटा केन्द्रको पुनःसंरचना गर्ने विषय माथि छलफल सुरु भएको छ।

आज बिहान ९ बजेदेखि होटल सोल्टीमा सुरु भएको बैठकमा आठवटै सदस्य राष्ट्रका सहसचिवहरुको नेतृत्वको टोलीको सहभागिता रहेको छ ।
सार्कको १८ औँ शिखर सम्मेलन कार्यक्रमको तयारीका क्रममा भएको सो बैठकमा केही केन्द्र बन्द गर्ने र केहीको पुनःसंरचना गर्ने विषयमा छलफल भएको सार्क महासचिव अर्जुनबहादुर थापाले जानकारी दिए।

हाल सार्कअन्तर्गत ११ वटा समिति क्रियाशील रहेका छन्। बन्द गर्नका लागि सिफारिस हुन लागेका केन्द्रमा सार्क सूचना केन्द्र, मानव संशाधन केन्द्र र सार्क अभिलेख केन्द्र रहेका छन। ती केन्द्रका कार्यालय क्रमशः नेपाल, पाकिस्तान र भारतमा रहेका छन्।

त्यस्तै एकआपसमा गाभ्न (मर्ज)का लागि सिफारिस गर्न लागिएका केन्द्रमा वन व्यवस्थापन केन्द्र, विपद् व्यवस्थापन केन्द्र, तटीय क्षेत्र व्यवस्थापन केन्द्र र जलवायु अनुसन्धान केन्द्र रहेका छन्। ती केन्द्र क्रमशः भुटान, भारत, मालदिभ्स, बङ्गलादेशमा रहेका छन्।

सार्क कार्यक्रम समितिको आजको पहिलो सत्रको अध्यक्षता मालदिभ्सले गरेको थियो। त्यसपछि बैठकका कार्यसूची प्रस्तुत भएपछि बैठकको अध्यक्षता मालदिभ्सले नेपाललाई हस्तान्तरण गरेको थियो। सार्क प्रचलनअनुसार सार्क शिखर सम्मेलनका बैठकको अध्यक्षता आयोजक देशले नै गर्ने प्रावधान रहेको छ।

समितिको बैठकमा पराराष्ट्र, सार्क विभाग हेर्ने सहसचिव नेपालका यज्ञबहादुर हमाल, भारतका डा एएम गोन्डने, पाकिस्तानका मोहम्मद नाफेज जाकिरा, श्रीलङ्काका दर्शना पेरेरा, बङ्गलादेशका अब्दुल मोटालेब सरकेर, अफगानिस्तानका इल्हाम घर्जी, भुटानका निमा ओमे र मालदिभ्सका एस्थ लुइस जाहिर नेतृत्वको टोलीको सहभागिता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकको पहिलो सत्रमा सार्कका महासचिव थापाले स्वागत गरेका थिए। सार्कको तल्लो समितिका रुपमा कार्यक्रम समिति रहेको हुन्छ। कार्यक्रम समितिले स्थायी समितिमा प्रस्तुत हुने एजेन्डा तय गर्ने छ। समितिले बैठकमा अघिल्लो सार्क सम्मेलनमा भएका सदस्य राष्ट्रबीचमा भएका सहमतिको कार्यान्वयनको अवस्था र सदस्य राष्ट्रले भोग्नुपरेका समस्यासंग सम्बन्धित एजेन्डा तय गर्ने कार्यक्रम रहेको समितिमा नेपालको नेतृत्व गरिरहनुभएका सहसचिव  हमालले जानकारी दिए।
 
त्यस्तै स्थायी समिति बैठकले परराष्ट्र मन्त्रिस्तरीय बैठकमा प्रस्तुत गरिने एजेन्डा तय गर्ने छ। सो समितिको बैठक यही मङ्सिर ७ र ८ गते  हुने छ भने मन्त्रिस्तरीय बैठक मङ्सिर ९ गते हुनेछ। राष्ट्र/सरकारका प्रमुखहरुको शिखर सम्मेलन मङ्सिर १० र ११ गते हुनेछ। - रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell