PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​सार्क सम्मेलन औपचारिक रुपमा सुरु, केन्द्र बन्द गर्नेमा सहमति नजुटेपछि बहस लम्बियो



​सार्क सम्मेलन औपचारिक रुपमा सुरु,  केन्द्र बन्द गर्नेमा सहमति नजुटेपछि बहस लम्बियो

काठमाडौँ : कार्यक्रम समितिको बैठकको सुरुवातसँगै शनिबार दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँ शिखर सम्मेलन औपचारिक रूपमा आरम्भ भएको छ।
 
आठवटै सदस्य राष्ट्रका सहसचिव एवम् सो सरहका अधिकारीहरू सम्मिलित उक्त बैठकमा सार्कका केही केन्द्र बन्द गर्ने र केहीको पुनःसंरचना गर्ने विषयमा समेत छलफल भएको थियो। तर यो विषयमा सहभागीहरूबीच मतैक्य हुन नसकी बहस लम्बिएको राससले जनाएको छ। सार्कमा हाल ११ केन्द्र क्रियाशील छन्।
 

भारतको सरकारी टेलिभिजन दूरदर्शनले भने भारतमा रहेको एउटासहित तीन वटा क्षेत्रीय केन्द्र भङ्ग गर्ने र चार वटा अरुलाई गाभ्न लागेको बताएको छ। 

बैठकले वातावरण तथा विपद् व्यवस्थापन केन्द्र स्थापनाका लागि सिफारिस गरेको छ।
 
यस अतिरिक्त समितिले सन् २०१५ को सार्क गतिविधिको वार्षिक कार्यसूची र अघिल्ला बैठकहरूले गरेका सिफारिसहरूको कार्यान्वयनको अवस्थाबारे समेत छलफल गरेको मन्त्रालयले जनाएको छ।
 
बैठकले आफ्नो प्रतिवेदन भोलि र पर्सि हुने सचिवस्तरीय स्थायी समितिमा प्रस्तुत गर्नेछ।
 
नेपालको अध्यक्षता
समितिको पहिलो सत्रको अध्यक्षता माल्दिभ्सको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका एस्थ लुइस जाहिरले गरेका थिए। बैठकमा कार्यसूची प्रस्तुत भएपछि बैठकको अध्यक्षता माल्दिभ्सले नेपाललाई हस्तान्तरण गरेको थियो। सार्क प्रचलनअनुसार सार्क शिखर सम्मेलनका बैठकको अध्यक्षता आयोजक देशले नै गर्ने प्रावधान रहेको छ।
 
समितिको बैठकमा नेपालका पराराष्ट्र÷सार्क विभाग हेर्ने सहसचिव यज्ञबहादुर हमाल, भारतका डा एएम गोन्डने, पाकिस्तानका मोहम्मद नाफेज जाकिरा, श्रीलङ्काका दर्शना पेरेरा, बङ्गलादेशका अब्दुल मोटालेब सरकेर, अफगानिस्तानका इल्हाम घर्जी, भुटानका निमा ओमे र माल्दिभ्सका जाहिर नेतृत्वको टोलीको सहभागिता रहेको थियो ।
 
यस पटकको सम्मेलनको नारा ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ रहेको छ। राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell