PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​श्रीलंकाका राष्ट्रपति राजापाक्ष काठमाडौंमा, यस्तो छ उनको लुम्बिनी भ्रमण योजना



​श्रीलंकाका राष्ट्रपति राजापाक्ष काठमाडौंमा, यस्तो छ उनको लुम्बिनी भ्रमण योजना

काठमाडौं : १८ औँ सार्क शिखर सम्मेलनमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजापाक्ष काठमाडौं आइपुगेका छन्। राष्ट्रपति राजापाक्ष बिहान सबा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हुन्।

राजापाक्ष सार्क सम्मेलनका लागि नेपाल आउने पहिलो सार्क राष्ट्राध्यक्ष भएका छन्।

राष्ट्रपति राजापाक्ष त्रिभुवन विमानस्थलबाटै विशेष हेलिकोप्टरबाट बुद्ध जन्मस्थल अवलोकन तथा भ्रमणका लागि लुम्बिनीका लागि रमाना भएका छन्।  

विश्व शान्तिको मुहान शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनीप्रति निकै आस्था र विश्वास राख्ने श्रीलंकन राष्ट्रपति राजापाक्ष देशको कार्यकारी पदमा पुगेपछि लुम्बिनीको भ्रमण गर्न लागेको यो दोस्रोपटक हो।  

यसअघि सन् २०१० मा श्रीलङ्का सरकारले निर्माण गरेको विहारको उद्घाटन गर्न लुम्बिनी आएका राष्ट्रपति राजापाक्षले लुम्बिनीको विकासमा टेवा पुर्‍याउने उद्देश्यले लुम्बिनी प्रवेश गर्ने ४ नम्बर गेटको भित्रपट्टिको गेटर बाटो निर्माण गर्ने विषयमा सम्झौता गरेको लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा स्याङ्वो सेर्पाले जानकारी दिए।

रहेको उपाध्यक्ष सेर्पाका अनुसार सन् २०१० मा सम्झौता गरेको पुलको आज राजापाक्षले उद्घाटन गर्नेछन्।  

राजापाक्षले श्रीलङ्कामा पहिलोपटक चुनाव जित्दा संसद्मा गएर लुम्बिनीको विकासमा श्रीलङ्कनले सहयोग गर्नुपर्दछ भनेर आवाज उठाएका थिए।

१८ औँ सार्क सम्मेलनको पूर्वसन्ध्यामा लुम्बिनी आएका राष्ट्रपति राजापाक्षले मायादेवी मन्दिरमा विशेष पूजा, श्रीलङ्काली तीर्थयात्री विश्रामगृह, श्रीलङ्का सरकारको सहयोगमा निर्मित पुलको उद्घाटन गर्नुका साथै श्रीलङ्काली विहार र लुम्बिनी बौद्ध विश्वविद्यालयको निरीक्षण गर्ने कार्यक्रम छ।

राष्ट्रपति राजापाक्ष लुम्बिनी आउने भएपछि लुम्बिनीलाई सिङ्गारिएको छ भने सुरक्षा व्यवस्थासहितको अन्य सबै तयारी पूरा गरिएको रुपन्देही प्रशासनले जनाएको छ। लुम्बिनीमा सार्कका विशिष्ट पाहुनालाई स्वागत गर्न भौतिक निर्माण, सौन्दर्य र सुरक्षासँग सम्बन्धित सम्पूर्ण तयारी पूरा भएको लुम्बिनी विकास कोषले जनाएको छ।

अन्य श्रीलङ्कन अतिथिहरु भने चार्टर विमानबाट गौतमबुद्ध विमानस्थल आउने र र लुम्बिनी जाने कार्यक्रम छ। सरकारले श्रीलङ्काका राष्ट्रपतिको स्वागतका लागि युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई जिम्मेवारी दिएको छ।

तीन हेलिप्याड निर्माण

कोषले लुम्बिनी विशिष्ट पाहुनाको हेलिकोप्टर अवतरण गर्न तीन हेलिप्याड निर्माण गरेको छ। हेलिप्याडबाट मायादेवी मन्दिरसम्म पुग्ने सडक मर्मतसमेत गरिएको छ। राजापाक्षको भ्रमणको समयमा नेपाल–भारत सीमा एकतर्फी रुपमा बन्द गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जानकारी दिए।

भ्रमण समयमा नेपालबाट भारतमा जान सकिने तर भारतीय नाकाबाट नेपाल प्रवेशमा रोक लगाउन भारतीय सुरक्षाकर्मीलाई समेत अनुरोध गरिएको प्रजिअ पन्थीले जानकारी दिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नआउने भए पनि श्रीलङ्कन राष्ट्रपतिको भ्रमणले लुम्बिनीमा भइरहेको तयारीले सार्थकता पाएको लुम्बिनीवासीको भनाइ रहेको राससले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell