PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​राजेश हमालबाट दयाहाङसम्म आउँदा हिरोइज्म कसरी फेरियो?



​राजेश हमालबाट दयाहाङसम्म आउँदा हिरोइज्म कसरी फेरियो?

  • पहिलोपोस्ट-
काठमाडौं : सिनेमामा नायकको परिभाषा बदल्ने दुई अभिनेता राजेश हमाल र दयाहाङ राई एउटै मञ्चमा मिले। युगदेखि युगसम्मको राजु र लुटको गोफ्ले एउटै मञ्चमा भेटिनु संयोग मात्र होइन, नेपाली फिल्मको समाजशास्त्रको हिसाबले ठूलै अर्थ हो।
 
फेवातालको छेवैमा बनाइएको चिटिक्कको मञ्चमा उनीहरुले एक घन्टाजति नेपाली फिल्ममा हिरोइज्मको अर्थ खोतले। यस्तो मेसो मिलाएको थियो, सोमबार सकिएको साहित्य मेलाले।
 
‘असम्भव कुरालाई सम्भव जस्तै देखाइनु हिरो हुनु हो’ राजेश हमालले आफ्नो नायक व्याख्या यसरी गरे, ‘दर्शकले जे चाहे, जुन कुरामा मनोरन्जन खोजे, मैले आजसम्म त्यही कुरा पस्किएको हो।’
 
‘महानायक’ आफूले २५ वर्ष लामो फिल्मी करियरमा पाएको सबैभन्दा ठूलो पुरस्कार रहेको सुनाउँदै हमालले अब बदलिएको दर्शकीय आकांक्षाअनुसार आफू पनि परिवर्तन हुनु जरुरी रहेको बताए ।
 
प्लेन डिले भएपछि ढिलो गरि पोखरा पुगेका दयाहाङलाई हमालले समेत कुरे। हमालले यसलाई सहजरुपमा स्वीकारे। कुनै बेला राजेश हमाल बन्ने सपना देखेका तर आँट गर्न नसकेका दयाहाङ त्यही मञ्चमा हमालसँग नायक छविबारे बहस गर्दै थिए।
 
‘त्यति राजेश हमाल बन्ने आँट पनि गर्न सकिँदैनथ्यो’ दयाले भने, ‘उहाँको पहिलो फिल्म कसम हेरेपछि ममा कलाकार बन्ने चाहना पलायो। अनुप बराल र मनोज पण्डितले नडोर्‍याएको भए, म आज यहाँसम्म आइपुग्दिन थिएँ।’
 
सामाजिक परिवर्तनसँगै हिरोइज्ममा परिवर्तन आएको बताउँदै दयाले दर्शकीय आकांक्षा यसमा जिम्मेवार भएको बताए। यसअघि ‘मुखौटा’मा राजेश हमालसँग खेलेका दयाले चाँडै हमालसँग स्क्रिन सेयर गर्न आफू आतुर रहेको समेत बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell