PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​सार्कका सरकार प्रमुखहरु राजधानी आउननेक्रम जारी, राजधानीको सुरक्षा व्यवस्था कडा



​सार्कका सरकार प्रमुखहरु राजधानी आउननेक्रम जारी, राजधानीको सुरक्षा व्यवस्था कडा

काठमाडौँ : दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँ शिखर सम्मेलनमा भाग लिन आउने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखको सुरक्षालाई दृष्टिगत गरी राजधानीको सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारिएको छ ।

सरकारले सार्क सम्मेलनलाई ध्यानमा राखेर एकीकृत सुरक्षा प्रणाली लागू गरी करिब २८ हजार सुरक्षाकर्मी परिचालन गरेको छ । सो एकीकृत सुरक्षा योजनामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई समेटिएको छ ।

सो सुरक्षा योजनामा हवाई गस्ती, सडक पेट्रोलिङलगायत सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । शिखर सम्मेलनमा भाग लिन सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुख राजधानी आइपुग्नेछन्। सोही योजनाअनुसार नै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि होटल सोल्टीसम्मको सडक मार्गमा सुरक्षाकर्मी बाक्लो रूपमा परिचालन गरिएको छ ।

चोकचोकमा सवारीसाधनसहित सुरक्षाकर्मी तैनाथ गरिएको छ । हेलिकोप्टरबाट समेत गस्ती सुरु गरिएको छ । विशिष्ट पाहुना आउने समयमा यातायातको चापलाई व्यवस्थित तुल्याउन राजधानीका विभिन्न स्थानमा सार्वजनिक सवारीसाधनका लागि अस्थायी रूपमा सवारी पार्किङको व्यवस्था गरिएको छ । जसले गर्दा चक्रपथभित्रको सवारी चापलाई व्यवस्थित बनाउन सजिलो हुने महानगरीय ट्राफिक महाशाखाको भनाइ रहेको छ ।

सरकारले शिखर सम्मेलनलाई दृष्टिगत गरेर सवारीसाधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गर्नुका साथै निजी तथा सरकारी साधन सञ्चालनका लागि विशेष पासको व्यवस्था गरेको छ । यो व्यवस्थाबाट सुरक्षा व्यवस्थामा सहयोग पुग्ने सरकारले विश्वास लिएको छ । -रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell