PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

विनोद चौधरीका पिता रहेनन्



विनोद चौधरीका पिता रहेनन्

काठमाडौं : उद्योगपति तथा चौधरी ग्रुपका संस्थापक लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा निधन भएको छ। उनी चौधरी ग्रुपका संस्थापक हुन्। यो समूह अहिले विश्वका अर्बपतिको समूह बिलेनियर क्लबमा छ। 
 
लुनकरण दास चौधरीको जन्म काठमाडौंको मखन टोलमा १९७९ सालमा भएको थियो। उनका तीन छोरा र एक छोरी छन्। उनका जेठा छोरा विनोद चौधरी विश्वका डलर अर्बपतिको सूचीमा परेका एकमात्र नेपाली हुन्। 

लुनकरणले सुरु गरेको कम्पनी भूरामल लुनकरण दास चौधरी थियो। उनले बाबु भूरामलको पालादेखि नै चल्दै आएको कपडाको व्यापारलाई निरन्तरता दिँदै औद्योगिक क्षेत्रमा पाइला टेके। उनले विराटनगरमा जुट उद्योग स्थापना गरे भने निर्माण कम्पनी पनि चलाए। 
 
उनले २०२२ सालमा मोर्डन होजियारी उद्योग कम्पनी स्थापना गरेका थिए जसले मोजा उत्पादन गर्थ्यो। उनको दोस्रो उद्योग नेपाल स्पिनिङ बेभिङ एण्ड निटिङ हो। यसले सेन्थेटिक कपडा उत्पादन गर्थ्यो। तेस्रो उद्योग रत्न स्टेनलेस स्टिल हो। यो उद्योगले भाँडा उत्पादन गर्थ्यो। 
 
जुट उद्योगबाट उनले औद्योगिक क्षेत्रमा पाइला टेकेका हुन्। लुनकरण दासले काठमाडौं बाहिरको क्षेत्रमा पनि आफ्नो व्यापारलाई त्यही बेलादेखि विस्तार गरेका थिए। विराटनगरमा उनले भूरामल लुनकरण दास चौधरी नामको नयाँ कार्यालय सुरु गरेका थिए।
 
जुट निर्यात यो समूहको पहिलो अन्तर्राष्ट्रिय व्यापार हो। जुटको व्यापारसँगै यो समूहले कोरिया र जापानबाट कपडा आयात थालेको थियो। 
 
लुनकरण दासले २०१४ सालमा काठमाडौं त्रिशुली सडकमा सब कन्ट्याक्टरको काम पनि गरे। ‘त्रिशुली जाने ७० किलोमिटरको त्यो सडकमा मैले खासै यात्रा गरेको छैन तर त्यही सडकमा हिँडेर हामी यहाँसँग आइपुग्यौं’, उनका जेठा छोरा विनोद चौधरीले आत्मकथामा लेखेका छन्। यसको तात्पर्य हो– यही सडकको कामले चौधरी समूहलाई परम्परागत व्यापारबाट अन्यत्र मोड्यो। 
 
लुनकरणदासले युनाइटेड बिल्डर्स नामको निर्माण कम्पनी स्थापना गरे। यही कम्पनीले सोल्टी होटल निर्माण गरेको हो। 
 
उनले २०२० सालमा फ्लोरिङ एण्ड फर्निसिङको आउटलेट खोलेका थिए। यो फर्निसिङको शाखा काठमाडौं बाहिर वीरगञ्जसम्म फैलाइएको थियो। यसले होटल तथा दूतावासको सजावटको काम गर्थ्यो। लुनकरण दासले नै नेपालमा पहिलो पटक डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याएका हुन्। उनले २०२५ सालमा न्यूरोडमा डिपार्टमेन्ट स्टोर खोलेको थिए। 
 
१९९० सालमा चौधरीका पिताले घुमुवा व्यापार छाडेर इन्द्रचोकमा पसल स्थापना गरेका थिए। यसलाई नयाँ उचाइमा पुर्‍याउने र औद्योगिक क्षेत्रमा प्रवेश गराउने काम लुनकरणले गरे। 
 
उनका तीन छोरा अहिले औद्योगिक क्षेत्रमा छन्। चौधरी ग्रुप अन्तर्गत अहिले विभिन्न क्षेत्रमा ४० वटाभन्दा बढी औद्योगिक–व्यापारिक संस्थाहरु स्थापित छन्। यी संस्थामा सात हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell