PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

काठमाडौंमा मोदीलाई भन्दा राजापाक्षलाई बढी 'थ्रेट'



काठमाडौंमा मोदीलाई भन्दा राजापाक्षलाई बढी 'थ्रेट'

  • पहिलोपोस्ट-
काठमाडौँ : यस पटकको सार्क शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको चर्चा जनमानसमा बढी भए पनि सुरक्षाको दृष्टिले मोदीभन्दा श्रीलंकाली राष्ट्रपति महिन्दा राजापक्षलाई बढी महत्व दिइएको छ।
 
राजापाक्ष मंगलबार बिहान सबैभन्दा पहिला काठमाडौँ आइसकेका छन् र लगत्तै लुम्बिनी प्रस्थान गरिसकेका छन्।
 
राष्ट्र तथा सरकार प्रमुखहरुको सुरक्षाका लागि खटिएको प्रहरीको विशेष कार्यदलका जवान (अमेरिकाबाट प्रशिक्षित फुल कमान्डो) र सैनिकहरुलाई सार्कका सात अतिथि नेतामध्ये सबैभन्दा बढी सेक्युरिटी थ्रेट राजापाक्षमाथि भएको ब्रिफिङ गरिएको छ र त्यही अनुसार सुरक्षा व्यवस्था मिलाइएको छ।
 
श्रीलंकाली राष्ट्रपतिलाई चुनौति तमिल विद्रोही लिट्टेबाट हो। त्यसो त राजापाक्षले थालेको सैनिक अपरेसनका क्रममा लिट्टे प्रमुख भेलुपिल्लाइ प्रभाकरण पाँच वर्षअघि मारिएपछि यो संस्था निस्क्रिय जस्तै नै छ।
 
तर भारतीय प्रधानमन्त्री राजीव गान्धी, श्रीलंकाली राष्ट्रपति रणसिङ्घे प्रेमादासासहित हाइप्रोफाइल नेताहरुको हत्या गरेको इतिहास बोकेको लिट्टेले कुनै पनि बेला टाउको उठाउन सक्ने भय कायमै छ। त्यसैले नेपालमा पनि उनकै सुरक्षालाई सबैभन्दा बढी महत्व दिइएको हो।
 

महिला टार्गेटमा

'लिट्टेले विशेष गरी कम्मरमा विस्फोटक पदार्थ बाँधेर पड्काउने महिला आत्मघाती आक्रमणकारीको प्रयोग गर्ने गर्छ,' सुरक्षा योजनामा संलग्न एक उच्च सुरक्षा अधिकारीले पहिलोपोस्टलाई भने, 'त्यसैले भिभिआइपीको सेक्युरिटीको रिस्क जोनमा रहेका प्रत्येक सुरक्षाकर्मीलाई विशेष गरी महिलाको क्रियाकलापमा विशेष ध्यान दिन निर्देशन दिइएको छ।'
 
तमिल पुरुष र नेपाली पुरुष हेर्दा पनि चिनिने गरी फरक देखिने तर त्यहाँका महिला भने नेपालकै तराई क्षेत्रका बासिन्दा झैँ देखिने भएकोले पनि महिलाप्रति विशेष ध्यान दिन भनिएको हो।

'शारीरिक रुपमा त उनीहरु उस्तै हुन्छन्, तर बोली बिल्कुल छुट्टिने गरी नै फरक हुन्छ' उनी भन्छन्, 'त्यसैले महिलाको बोली, लवजमा ध्यान दिन पनि निर्देशन दिइएको छ।'
 
सुरक्षा चुनौति कै कारण श्रीलंकाली राष्ट्रपतिले लुम्बिनी भ्रमण गर्दा नजिकैका भारतीय नाकाबाट नेपाल आउन नमिल्ने गरी सीमा पनि बन्द गरिएको छ।

अफगानी राष्ट्रपति दोस्रो

सेक्युरिटी थ्रेटको हिसाबले नेपाली सुरक्षा निकायले दोस्रो नम्बरमा राखेका नेता हुन् अफगानी राष्ट्रपति असरफ घानी।
 
तीन वर्षअघि पाकिस्तानमा अल कायदा प्रमुख ओसामा बिन लादेनलाई अमेरिकी सेनाले मारेपछि अफगानिस्तानमा धेरै नेताहरुको हत्या भइसकेको छ। पाकिस्तानमा बेस भएको हक्कानी नेटवर्कले अफगानिस्तानभर ठूल्ठूला आक्रमणहरु गरिरहेको छ। यसै मेसोमा दुई महिनाअघिमात्रै हमिद कारजाईलाई विदा गरी राष्ट्रपति बनेका घानी टार्गेट बन्न सक्ने जोखिमले उनलाई दोस्रो नम्बरमा राखिएको हो।
 
यसै हप्तामात्रै भलिबल हेरिरहेका ५७ जना मारिने गरी त्यहाँ बम विस्फोट भएको थियो। यो घानी राष्ट्रपति बनेपछिको मात्रै होइन तीन वर्ष यताकै सबैभन्दा बढी मान्छे मारिएको आत्मघाती आक्रमण थियो।
 
अफगानिस्तानको खुफिया एजेन्सी एनडिएसले आक्रमणमा उही हक्कानी नेटवर्कको हात रहेको बताएको छ।

हक्कानी नेटवर्कले नै लादेन लगायत अल कायदाका नेताहरुलाई पाकिस्तानमा आश्रय दिएको आरोप छ।

नवाज सरिफ तेस्रो नम्बरमा

यही हक्कानी नेटवर्ककै तारो बन्न सक्ने भयले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई सुरक्षा निकायले सुरक्षा थ्रेट भएका नेताहरुको सूचीमा तेस्रो नम्बरमा राखेको छ।
 
तालिबानसँग नजिकको सम्बन्ध रहेको हक्कानी नेटवर्कविरुद्ध पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा अमेरिकी दबाबका बीच सैनिक अपरेसन चलाएका कारण हक्कानी नेटवर्क पाकिस्तानी राज्यसत्तादेखि क्रुद्ध छ। यसैको तारो बन्नसक्ने भयले उनलाई जोखिम बढेको हो।  

मोदी चौथो नम्बरमा

नेपाली सुरक्षा निकायले नवाज सरिफपछि बल्ल मोदीलाई राखेको छ। यसको एउटा कारण त मोदी आउँदा उनको सुरक्षाका लागि नेसनल सेक्युरिटी गार्डदेखि लिएर मोबाइल जामरसम्मका सुरक्षाका सबै प्रबन्ध भारतले आफै लिएर आउनु पनि हो। मोदीले आफ्नोमात्र नभएर अरु राष्ट्र तथा सरकार प्रमुखका लागि छ वटा थप बुलेट प्रुफ कार पनि लिएर दिएको छ। 
 
मोदीलाई नेपालमा चुनौती हुनसक्ने भनेको इन्डियन मुजाहिद्दीनबाट हो। यो अल कायदाको भारतीय शाखाका रुपमा कार्यरत छ। पछिल्लो पटक बोधगयामा विस्फोट गरेको यो संगठनले दुई वर्षअघि मुम्बईमा र तीन वर्षअघि पुणे, जामा मस्जिद र वाराणासीमा विस्फोट गरेको थियो। पोहोर यसका सहसंस्थापक यासिन भट्कल भन्नलाई नेपाल‌-भारत सीमाबाट गिरफ्तार भएको भनिए पनि नेपालको पोखराबाट गिरफ्तार गरेर भारत लगिएको थियो।  
 
सार्क शिखर सम्मेलन अघि त्यही भएर प्रहरीले काठमाडौँ, ललितपुरसहित पोखरामा पनि अपरेसन गरेको थियो। सबै ठाउँमा गरी ५० भन्दा बढीलाई नियन्त्रणमा लिइएको छ।
 
भुटान, माल्दिभ्स र बंगलादेशका नेताहरुलाई भने खासै सुरक्षा चुनौति नरहेको विश्लेषण सुरक्षा निकायको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell