PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

यसो भने पाकिस्तानका प्रधानमन्त्रीले



यसो भने पाकिस्तानका प्रधानमन्त्रीले

काठमाडौँ: पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले दक्षिण एसिया क्षेत्रलाई विवादरहित, शान्त र समृद्ध बनाउन सबैको सामूहिक कार्य र सहयोगको अपेक्षा गरेका छन्।

काठमाडौँमा सुरु भएको १८ औँ शिखर सम्मेलनको उद्घाटन मन्तव्यमा प्रधानमन्त्री सरिफले शान्ति र समृद्धिका लागि गहन एकता नारा दिइएकाले यस सम्मेलनमार्फत नै दक्षिण एसियालाई यसै नाराबमोजिम अगुवाइ गर्न सबैलाई आह्वान पनि गरे।

उनले आपसमा रहेका विगतका सबै खालका आपसी तिक्ततालाई मेटाउँदै आपसी सहयोग र समृद्धिका लागि सबैको साझा समस्याका रुपमा रहेको आतङ्कवाद र गरिबी निवारणको मुद्दामा ऐक्यबद्धरुपमा लाग्न पनि आह्वान गरे। प्रधानमन्त्री सरिफले दक्षिण एसियाली क्षेत्रमा सामाजिक एवम् आर्थिक रुपान्तरणका लागि महिला सशक्तीकरण, गरिबी निवारण, स्वास्थ्य र शिक्षामा पहुँच एवम् सुधार गर्नेतर्फ सार्कका आगामी कार्यक्रमलाई लक्षित गर्नुपर्नेमा जोड दिए।

दक्षिण एसियाली क्षेत्र विश्वको कम्तीमा पनि पाँच भागको एकभाग जनसङ्ख्या रहेको क्षेत्र हो भन्दै यहाँ १५ देखि २४ वर्षको युवा शक्ति करिब पाँच भागको एक भाग बसोवास गर्ने हुँदा आगामी दिनमा यो शक्तिलाई सम्बोधन गरी उनीहरुको भविष्यलाई उज्ज्वल बनाउनेतर्फ हाम्रा कार्यक्रम लक्षित हुनुपर्नेमा जोड दिए।

विश्वको यतिधेरै जनशक्ति तथा युवा जनशक्तिको बसोवास रहेको यस क्षेत्रको आर्थिक विकासको दर सरदर छ प्रतिशत मात्र रहेको र विश्व व्यापारकै जम्मा चार प्रतिशतमात्र यस क्षेत्रले ओगटेकाले आर्थिक र सामाजिक विकासका एजेन्डालाई थप विस्तार गरिनुपर्नेमा उनको जोड थियो । उनले ग्रामीण क्षेत्र, मानव संशाधन एवम् स्रोतका साथै विज्ञान र प्रविधिको विकासमा विशेष ध्यान दिँदै सीमा क्षेत्रमा हुने विविध क्रियाकलापको आपसी सूचना आदानप्रदानका लागि पनि ध्यानाकर्षण गराए। साथै दक्षिण एसिया बाढीपहिरो र प्राकृतिक प्रकोपको चपेटामा सधैँ पर्ने भएकाले यस क्षेत्रमा बाढीपहिरो र मौसमका पूर्व सूचना आदानप्रदान गर्नका लागि पूर्व सूचना सम्प्रेषण प्रणाली स्थापनामा जोड दिए।

स्वास्थ्य एवम् रोग निवारणका क्षेत्रमा काम गर्न आग्रह गर्दै उनले स्वास्थ्यमा थप सामूहिक लगानी र सर्ने खालका रोगको निवारणमा सामूहिक पहलको जरुरी रहेको औँल्याए। उनले गरिबी निवारण र आतङ्कवाद यस क्षेत्रका साझा समस्या रहेको स्मरण गर्दै यसका लागि सबैको सहकार्य रहनुपर्ने र शान्त, समृद्ध तथा प्रगति हासिल गर्नसक्ने दक्षिण एसियाको निर्माणमा लाग्नुपर्नेमा जोड दिए।

सार्कले दक्षिण एसियाका नागरिकको भावना र चाहनाको प्रतिनिधित्व गर्नुपर्छ भन्दै त्यसका लागि हाम्रा कार्यक्रम पनि लक्षित हुनुपर्नेमा जोड दिए। दक्षिण एसियाको आर्थिक विकास केही हदसम्म यहाँ ऊर्जा क्षेत्रको विकास र यसको आपसी उपलब्धतामा सहजीकरण तथा खरिद गर्नसक्ने मूल्यमा पनि भरपर्ने भएकाले ऊर्जाको उत्पादन र वितरणमा सामूहिक प्रयासतर्फ सार्कका आगामी कार्यक्रम केन्द्रित गर्न आग्रह गरे।

साथै ऊर्जाको समस्या समाधानका लागि भौगोलिक अवस्था र त्यसको सम्भावनाका आधारमा अन्तरदेशीय ग्यास पाइप लाइनको अवधारणालाई पनि अब अघि बढाउनुपर्नेमा पनि जोड दिए। उनले १८ औँ शिखर सम्मेलनको आयोजना र विशेष आतिथ्यताका लागि नेपालका प्रधानमन्त्री सुशील कोइराला र नेपाली जनतालाई विशेष धन्यवाद एवम् बधाई ज्ञापन गर्दै तथा यसअघिको १७ औँ सम्मेलनको आयोजना र आजसम्मको अध्यक्षताका लागि पनि माल्दिभ्सलाई पनि धन्यवाद ज्ञापन गरे। -रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell