PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

यस्तो रह्यो एकमात्र महिला सरकार प्रमुखको सम्वोधन



यस्तो रह्यो एकमात्र महिला सरकार प्रमुखको सम्वोधन

काठमाडौँ : बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले सार्कलाई यथार्थपरक, नतिजामुखी, आपसी हितका र समृद्धिका लागि दक्षिण एसिया एकताबद्ध भएर सँगसँगै अगाडि बढ्नुपर्ने बतएकी छिन। सार्क शिखर सम्मेलनको १८औँ शिखर सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले शान्त प्रगतिशील ज्ञानमा आधारित दक्षिण एसियाको विकास गर्न एकताबद्ध हुनुपर्नेमा जोड दिइन।

उनले दक्षिण एसियाको शान्ति विकासको बाधकका रुपमा देखिएको गरिबी निवारणका लागि खाद्य तथा पोषण सुरक्षाको निश्चित गर्नुपर्ने उल्लेख गरिन। बंगलादेशको औसत आर्थिक वृद्धि ६.२ प्रतिशत रहेको उल्लेख गर्दै प्रधानमन्त्री हसिनाले पछिल्लो पाँच वर्षमा गरिबी २४.४ प्रतिशतमा झार्न सफल भएको बताइन्।

बङ्गलादेशलाई सन् २०२१ सम्ममा मध्यमखालको आय भएको र सन् २०४१ सम्ममा विकासित देशका रुपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उनले त्यसका लागि उत्पादनलाई केन्द्रित गर्न तथा कृषि क्षेत्रको आधुनिकीकरण गर्ने दिशातर्फ अगाडि बढेको उल्लेख गरिन।

प्रधानमन्त्री हसिनाले यस क्षेत्रको गरिबी निवारणका लागि सार्कको खाद्य र बीउ बैैैंकको प्रभावकारीरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। बङ्गलादेशमा महिलालाई स्नातक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको उल्लेख गर्दै उनले दक्षिण एसियामा युवा जनशक्तिलाई गुणस्तरीय शिक्षा र प्रभावकारी तालिमका माध्यमबाट मानव संसाधनको विकास गर्न सकिने बताइन्।

हाम्रो शिक्षा आवश्यकता आधारित सिर्जनशील र आधुनिक प्रविधामा आधारित हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री हसिनाले दिगो विकासका लागि महिला सशक्तीकरण गरी उनीहरुको समान सहभागिताको सुनिश्चिता गर्नुपर्ने धारणा राखिन्। सूचना प्रविधिले दैनिक जीवनको मापन गर्ने भएकाले त्यसलाई ध्यान दिँदै सन् २०२१ सम्ममा बङ्गलादेशलाई प्रविधियुक्त बनाउने घोषणा गरिसकेको उल्लेख गर्दै उनले यसलाई साकार गर्न मुलुकभर पाँच हजार २७५ प्रविधि केन्द्रको स्थापना गरेको बताइन्।

जलवायु परिवर्तनका असरले निम्त्याउने विनासबाट आफ्नो मुलुकको कुल गार्हस्थ्य उत्पादनको दुईदेखि तीन प्रतिशत नाश हुने उल्लेख गर्दै प्रधानमन्त्री हसिनाले जलवायु परिवर्तनको मुद्दा यस क्षेत्रको प्रमुख चुनौतीका रुपमा देखिएको बताइन्। उनले निरन्तर विकासका लागि ऊर्जाको अत्यधिक खपत आवश्यक भएकाले दक्षिण एसियाकै क्षेत्रीय जलविद्युत् उत्पादनमा जोड दिनुपर्ने बताउँदै क्षेत्रीय, उपक्षेत्रीय तथा ऊर्जा विकासमा ध्यान दिनुपर्ने बताइन् ।

हिन्द महासागरमा रहेका अपार प्राकृतिक स्रोत साधनलाई परिचालन गरी निलो अर्थतन्त्र (ब्लु इकोनोमी) लाई प्रवद्र्धन गर्न यस क्षेत्रको दिगो विकास योगदान गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री हसिनाले त्यसका लागि क्षमता, सहकार्य र अनुसन्धानमा जोड दिनुपर्ने बताइन्। शान्ति, प्रगति र स्थायित्वका लागि भौतिक सम्बन्ध महत्वपूर्ण भएको बताउनुहुँदै उनले त्यसका लागि बुहआयामिक पूर्वाधार विकास गरी सार्क क्षेत्रका सबै भौगोलिक क्षेत्रलाई एकआपसमा जोड्न आवश्यक रहेको उल्लेख गरिन्। यस सार्क सम्मेलनमा एकमात्र महिला राष्ट्राध्यक्ष/सरकार प्रमुखका रुपमा रहेकी प्रधानमन्त्री हसिनाले यस क्षेत्रको बृहत् विकासका लागि विचार, ज्ञान, प्रविधि, संस्कृति, जनता, सडक र हवाई यातायात र वस्तु सेवा निर्बाध परिचालन, लगानीले जोडिनुपर्ने बताइन्। -रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell