PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

व्यापार विस्तारमा गैयुमको जोड



व्यापार विस्तारमा गैयुमको जोड

काठमाडौँ: माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुमले दक्षिण एसियाली राष्ट्रहरुबीचको व्यापार विस्तारबाट आपसी समझदारी बढाउनुका साथै साझा समृद्धिलाई पनि अघि बढाउने विश्वास व्यक्त गरेका छन्।

 

 

अठारौँ सार्क शिखर सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले आपसी विश्वास नभइकन व्यापार बढ्न नसक्ने र यसका लागि नविनतम प्रविधि र सही नेतृत्व आवश्यक हुने बताए। यस क्षेत्रका एक चौथाइ जनताको विश्वरङ्गमञ्चमा आवाज पुग्न नसकेको वास्तविकता औँल्याउँदै उनले यहाँका आवाजलाई विद्यमान परिस्थिति अनुकूल मुखरित गर्नुपर्नेमा जोड दिए।

 

विभिन्न सम्भावना भएर पनि गरिबीले व्याप्त यस क्षेत्रको विकासमा विद्यमान सम्पदालाई अधिकतम रुपमा उपयोग गर्नुपर्ने उनले बताए। सार्क स्थापनाको ३० वर्षमा कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जालगायतका धेरै क्षेत्रमा सहयोगको क्रम बढेको बताउँदै उनले सार्कको संस्थागत सुधारको प्रशंसा गरे।

 

आफू समुद्री सतहको देशबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा भएको देशमा आउन पाएकामा खुसी व्यक्त गर्दै उनले भने हालका वर्षहरुमा जलवायु परिवर्तनका कारण माल्दिभ्सलगायत यस क्षेत्रमा परेको असर न्यूनीकरणका लागि साझा प्रयास आवश्यक हुन्छ ।

 

जलवायु परिवर्तनको मुद्दा अहिले पछि परिरहेको उल्लेख गर्दै उनले यो मुद्दालाई उचित प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी राष्ट्रलाई पहिलो प्राथमिकता दिने नीतिले यो क्षेत्रको सामूहिक आवाज विश्वमा पुर्‍याउन मद्दत गर्ने विश्वास उनले व्यक्त गरे। सार्क क्षेत्रका पर्याप्त सम्भावनाबारे कुनै शङ्का नरहेको चर्चा गर्दै राष्ट्रपति गैयुमले भने हाम्रो विश्वासमा हामी अडिग हुनुपर्छ । दक्षिण एसियाली नेताहरुको हातमा अर्बौं मानिसको जनजीविकाको सवाल रहेको र यस क्षेत्रलाई विश्वकै एउटा शक्तिशाली क्षेत्रका रुपमा चिनाउन यहाँका नेताहरु सफल हुनेमा शङ्का नभएको विचार पनि उनले व्यक्त गरे। -रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell