PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

​एकै दिन छापिएका दुई गोरखापत्र, जसमध्ये एक तपाईँले पढ्न पाउनु भएन



​एकै दिन छापिएका दुई गोरखापत्र, जसमध्ये एक तपाईँले पढ्न पाउनु भएन

काठमाडौँ : पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता सुशील कोइरालाको राति १२:५० मा निधन भएको भए पनि बिहान बजारमा आएका कुनै पनि पत्रिकामा यो समाचार थिएन। तर सरकारी अखबार गोरखापत्र भने यो समाचार 'कभर' गर्न सफल भयो।  

कसरी यो संभव भयो त ?

गोरखापत्रका निमित्त प्रधान सम्पादक पुष्कर माथेमाका अनुसार न्युजडेस्कमा निधनको खबर बिहान ३ बजे मात्रै आएको थियो। त्यतिञ्जेल अरु पत्रिका जस्तै सरकारी अखबार गोरखापत्रले पनि आन्दोलनरत मधेसी मोर्चाले नाकाबन्दी र आमहड्तालको कार्यक्रम स्थगित गरेको प्रमुख समाचारका साथ पेज तयार पारिसकेको थियो। पत्रिका छापिसकिएको थियो। तर त्यो पत्रिका बजारमा भने गएन।

बजारमा अर्को पत्रिका गयो जसमा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनको ब्यानर हेडलाइनसहित समाचार थियो।

माथेमा भन्छन्, "हामीले आज पत्रिका सबै छापिसकेका थियौँ। सबै पेज छापिएको थियो। तर घटनाबारे जानकारी पाएपछि बीचमा हामीले सरसल्लाह गर्यौँ। महाप्रबन्धक सुशील कोइरालासँग पनि कुरा गर्यौँ। हामीले स्टप द प्रेस गरी नयाँ पत्रिका छाप्न प्रस्ताव गर्यौँ। उहाँ पनि तयार हुनुभयो। हामीले छापिसकेका सबै पत्रिका क्यान्सिल गर्यौँ।"

"हामीले ३ बजे खबर पायौँ। अनि कोअर्डिनेट गर्न थालेर साढे ३ बजे कार्यालय पुगेर काम थाल्यौँ। समाचार तयार गर्यौँ। सबै सेटअप चेन्ज गर्नु पर्यो ," उनले सुनाए। 

तर बिहान सात बजे विद्युत आपूर्ति बन्द भयो। उनका अनुसार यो सबैभन्दा च्यालेन्जिङ अवस्था थियो।

अरु पत्रिका बजारमा गइसक्दा पनि गोरखापत्र त्यही भएर छापाखानाबाट बाहिर निस्कन सकेको थिएन। यसबारे माथेमा भन्छन्, "कहिलेकाहीँ अलिक टेक्निकल कारणले पनि पत्रिका छाप्न ढिला हुन्छ भने यस्तो घडीमा पत्रिका छापिन ढिला हुनु सामान्य नै हो।"

उनले महाप्रबन्धक र अरु साथीहरुको पनि मेहनत र टिमवर्कले मात्रै यो संभव भएको बताए। "पूर्व प्रधानमन्त्री बित्दा दुःख लागेको भएपनि त्यस्तो घडीमा साथीहरुले पत्रकारितामा कमिन्टमेन्ट देखाए", उनले गर्वका साथ सुनाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell