- ऋषिकेश दाहाल/मनोज सत्याल-
गुनासो गर्ने व्यक्तिले एकछिनपछि नजिकै रहेका दुई जनालाई बोलाए। सेता लुगा लगाएका दुवै व्यक्ति उनीहरुतिर आए। तिनले दुईमध्ये एकको हातमा केही पैसा थमाए तर खासै केही बोलेनन्। त्यसपछि एकएक गर्दै मानिसहरु दक्षिणतिरको सिँढीतिर उक्लिए। नजिकै बलिरहेको आगो पार गर्दै पश्चिमतिर लाग्दा पैसा पाउने दुईजना करिब २० मिटर परको सिँढीबाट तलतिर ओर्लिए र उनीहरुभन्दा पछि रहेका केही मानिस आगो नाघ्न थाले। पैसा हातमा लिएर दक्षिणतिर लाग्नेहरु घाटे बाहुन रहेछन् जसले सुशीलको देहलाई जलाउन सघाएका थिए।
स्थान : पशुपति आर्यघाट।
मिति : २०७२ माघ २७ गते।
समय : राति ८ बजे।
पूर्व प्रधानमन्त्री सुशील कोइरालाको अन्त्येस्टि सकेर घाटबाट फर्किँदा मुस्किलले ३० जना मानिस पनि भेटिएनन् सुरक्षाकर्मीसहित। महानगरको वडा अध्यक्ष भइसकेका र पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षसमेत रहेका नरोत्तम वैद्य बाँकी व्यवस्थापनमा नै व्यस्त थिए स्थानीयको हैसियतमा।
सुशील कोइरालालाई दागबत्ती दिएर कपाल खौरिएका अतुल र सुधांशु गाडी मगाउने तरखरमा थिए। त्यहाँ साना दुई गाडीमा अटाएसम्म मानिस चढेर हिँडिसकेका थिए तर अलपत्रमा थिए कोरा बस्ने तयारीमा रहेका सुशील कोइरालाका दुई भतिज। एकको मोबाइलको स्वीच अफ थियो, अर्को मोबाइलबाटै गाडीको बन्दोबस्तीमा थिए। राजकीय सम्मानका साथ सद्गत भएका कोइरालाका किरिया बस्नेहरुको हालत देख्दा : राजकीय सम्मानको खिल्ली उडिरहे झैँ लाग्थ्यो।
सुशील कोइरालाको निधनपछि महाराजगञ्ज निवासमा सबेरै पुगेकी ईला शर्मा सुशील कोइरालको सद्गत सकिँदासम्म पशुपतिमै थिइन्। निर्वाचन आयुक्तसमेत रहेकी उनकै गाडीमा सुशीलका दुई भतिज पनि अटाए। ईला उनीभन्दा पछाडि बसिन्। बा ६ च १४४८ नम्बरको ल्यान्ड क्रुजरले पशुपति परिसर छाड्दा सवा ८ भइसकेको थियो।
परम्परागत हिसाबले दाह संस्कार सकेर सुशील जुन घरमा बसे त्यही घरमा नै किरियाको तयारी भएकाले त्यसका लागि आवश्यक सामाग्री यहीँबाट जुटाइएको थियो। त्यही गाडीभित्र ती सामान पनि खाँदियो। १३ दिनको कामका लागि चाहिने डालो त्यसमै अटाइए र सेता कोरा कपडाका टुक्राहरु पनि घुसाइयो।
भव्य बाजागाजासहित सुरु भएको सुशीलको अन्त्येष्टिका अन्त्यतिर मलामी थिएनन्। सुशील कोइरालाका नजिकका थोरैमात्र त्यहाँ देखिए। मलामी अभाव हुने र आएका मलामी पनि छिट्टै हिँड्ने संस्कार परम्पराकै रुपमा विकास भइरहेको छ - निवर्तमान प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेता तथा संसदको सबैभन्दा ठूलो दलको नेताको दाह संस्कार सकिँदा यही अवस्था दोहोरियो।
अन्त्येष्टि सकेपछि अस्थायी रुपमा बनाइएको घाटको बालुवामाथि हालिएको पानीले बाफ माथितिर धकेलिरहेको थियो। उनलाई श्रद्धाञ्जलि दिन ल्याइएका मालाहरु कति जलेका थिए त कति वागमतिमा फोहर बनिसकेका थिए। सुशीलको कायाजस्तै ती फूलहरुमा रङ थिएन। केही घन्टाअघि बुके स्टोरमा सजिरहेका फूल, जसप्रति सबैको मोह थियो, वाग्मतीमा मिल्किएको थियो र त्यो अस्तित्वहीन बनिसकेको थियो। केही क्षणअघिको सुन्दरता फोहरमा रुपान्तरित भइसकेको थियो।
सुशीललाई सलामीसहित विदाई गर्न पुगेकाहरु उनको चितामा आगो लागेलगत्तै हिँड्न थालेका थिए। र यो क्रम उनको देह भष्म नहुन्जेल चलिरह्यो। सुशीलकै काँधमा बसेर अथवा उनलाई भर्याङ बनाएर राजनीतिको शिखारोहण गरेकाहरु उनी विलीन होउन्जेल उनीसँग बस्लान् भन्ने लागेको थियो। यहाँ त्यो भ्रम पूरै टुट्यो – जसरी मालामा उनिएका फूलहरु वाग्मती किनारामा कान्तिहीन बनिसकेका थिए।
सुशील कोइराला खरानी भए पनि, उनका शवमाथि राखिएका फूल र खादाहरु वाग्मतीमा मिल्किएर फोहरमा परिणत भए पनि, पशुपतिको मन्दिरमा घन्टहरु बज्न रोकिएको थिएन। सुशील कोइरालाको मलामी गएकाहरु उनको शरीर नजल्दै बेपत्ता भए पनि आर्यघाटमा कमी थिएन मलामीहरुको। शवहरु आइरहेका थिए र चिताहरु जलिरहेका थिए। त्यहाँका चिताबाट निस्किएका धुँवा भष्मेश्वरमा पुगिरहेकै थियो।