- विनोद ढकाल/पहिलोपोस्ट -
भृकुटीमण्डपमा आयोजित अनेरास्ववियुको महाधिवेशन उद्घाटन गर्ने क्रममा दुई वर्षभित्र तुइन विस्थापित गरी झोलुङ्गे पुल बनाउने कुरा गर्दा सबैले आलोचना गरेको भन्दै उनले आफ्नो रोडम्याप सुनाए- अब आउने असार मसान्तभित्र कहाँ कहाँ झोलुङ्गे पुल बनाउने खाका तयार भइसक्छ, त्यसपछिको असार मसान्तसम्म झोलुङ्गे पुल बनिसक्छ।
ओलीले सरकार बनेको २ वर्षभित्र तुइन बिस्थापित गरिसक्छु भनेपनि त्यसका लागि दुई वर्ष पनि नलाग्ने दावी गरे।
प्रधानमन्त्रीले कार्यक्रममा नयाँ प्रतिवद्धता पनि सुनाए- दुई वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बनाउने।
हनिमुन नमनाई काम गरिरहेको छु
प्रम ओलीले आफूले हनिमुन पिरियड पनि नभनी एक दिन पनि विश्राम नलिई काम गरिरहेको बताए। आफूले काम गरेको देखेर सबै आश्चर्यचकित भइरहेको उनको विश्वास थियो। '१०० दिन सरकारको हनिमुन मानिन्छ, तर मैले एक दिन पनि विश्राम लिएको छैन' उनले भने।'एक वर्षभित्र लोडसेडिङ हटाउँछु भन्दा मान्छे किन छटपटाए मलाई थाहा छैन', उनले सोधे, 'किन विरोध भइरहेको छ?'
'हावाबाट बिजुली निकाल्ने भन्दा त झन् उधुम नै भयो,' उनले थपे।
'कांग्रेसले राष्ट्रिय सरकार धान्न सकेन'
कमल थापादेखि विजय गच्छदारसम्म सामेल भएको सरकारमा कांग्रेस कुन राजनीतिले बाहिर बसेको आफूलाई थाहा नभएको उनले बताए। सरकारमा सामेल नहुनेको राजनीति नभएको भन्दै उनले काग्रेस राजनीति बिना नै बाहिर बसेको आरोप लगाए।'हामीले राष्ट्रिय सरकार भन्यौं तर केही केहीले धान्न सकेनन्' उनले भने 'म बुझ्दिन कांग्रेस कुन राजनीतिले बाहिर बसेको छ?' उनले सरकारमा सामेल हुन कांग्रेसलाई आग्रह पनि गरे।
उनले मधेसवादीहरु ह्वात्तै अगाडि बढेकोले अहिले ब्रेक लगाउन समस्या भएको बताए। 'कहिलेकाहीँ अगाडि बढेपछि पछि हट्न समस्या आउँछ', उनको कथन थियो।
उनको प्रश्न थियो, 'मैले देशभक्तिको कुरा गर्दा खोक्रो देशभक्ति भने, भरिलो देशभक्ति भनेको के हो ?'