PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​​शताब्दीकै ठूलो वैज्ञानिक उपलब्धिको खोजमा संलग्न एक नेपाली युवक



​​शताब्दीकै ठूलो वैज्ञानिक उपलब्धिको खोजमा संलग्न एक नेपाली युवक

  • उमेश श्रेष्ठ -
काठमाडौँ : नेपाली समय अनुसार बिहीबार राति अमेरिकाको लाइगो ल्याबमा गरिएको पत्रकार सम्मेलनमा विश्वको ध्यान आकर्षित थियो। 
"महिला तथा सज्जनवृन्द, गुरुत्वाकर्षण तरङ्ग पत्ता लगायौँ। हामीले गर्‍यौँ', लाइगो ल्याबका कार्यकारी निर्देशक डेभिड रित्जले पत्रकार सम्मेलनमा यति के भनेका थिए, ताली बज्यो। एक मिनेटसम्म ताली रोकिँदै रोकिएन। बजी नै रह्यो।

विश्वभरका प्रमुख मिडियाले लगत्तै ब्रेकिङ न्युज दिए- शताब्दीकै ठूलो खोज। वैज्ञानिकहरुले गुरुत्वाकर्षण तरङ्ग पत्ता लगाए। गुरुत्वाकर्षण तरङको आवाज रेकर्ड गरिएको थियो, त्यो पनि सार्वजनिक भयो।

भौतिक शास्त्रको आगामी नोबेल पुरस्कार कसले पाउँछ भनेर कुनै ज्योतिषले भविष्यवाणी पनि गर्नै नपर्ने र जुरीले पनि धेरै दिमाग खियाउन नपर्ने स्थिति सिर्जना भएको छ। 

नेपाली पनि संलग्न

अध्ययनमा सहभागी मध्ये एक जना नेपाली छन्- सुदर्शन कार्की।  उनी युनिभर्सिटी ओरिगनको फिजिक्स डिपार्टमेन्टका ग्राजुएट विद्यार्थी हुन्। (उनीसँगको विशेष कुराकानीका लागि पहिलोपोस्टको आगामी सामाग्री प्रतीक्षा गर्नुहोला)

​ 
शताब्दीकै महत्त्वपूर्ण वैज्ञानिक उपलब्धिको खोज गर्नेमा नेपाली युवक सुदर्शन कार्की पनि। जर्नलको लेखका लेखकहरुको नाम

सेन्ट जेभियर्सबाट स्कूले पढाइ सकाएर कन्सास सिटीको युनिभर्सिटी अफ मिस्सौरीबाट अन्डरग्राजुएट सकाएका कार्कीको घर बुटवल हो। उनले लाइगो फेलोका रुपमा यो अनुसन्धानमा संलग्न हुने मौका पाएका हुन्।
 
१६ देशका हजार वैज्ञानिकले २५ वर्षसम्म गरेको खोजको नतिजा एपिएस जर्नलमा प्रकाशित भएको केही समयमा नै वेबसाइट क्रयास भयो। यसले पनि यो विषयमा विश्वको चासो प्रष्ट पार्छ। यस अनुसन्धानमूलक जर्नल लेखका लेखकहरुको नाम मात्रै तीन पेजमा छ। तीमध्ये तीन जनाको मृत्यु पनि भइसकेको छ। 

आइन्सटाइनले पनि शायदै सोचेका थिए !

महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनले सय वर्षअघि अर्थात् सन् १९१६ मा सापेक्षतावादको सामान्य सिद्धान्तको आधारमा गुरुत्वाकर्षणलाई भीमकाय आकाशीय पिण्डहरुले अन्तरिक्षमा सिर्जना गर्ने एक प्रकारको भू-काल संकुचन वा वक्रताका रुपमा व्याख्या गरेका थिए।
 
यसै सिद्धान्तका आधारमा उनले विशाल आकाशीय पीण्डहरुले एक आपसमा अन्तर्क्रिया गर्दा गुरुत्वाकर्षण तरङ्गहरु बन्ने परिकल्पना गरेका हुन्। सय वर्षअघि उनले गरेको यही सैद्धान्तिक परिकल्पना अहिले आएर प्रमाणसहित खोज भएको हो।

आइन्सटाइनले सिद्धान्ततः यस्तो हुन्छ भने पनि त्यस्ता गुरुत्वाकर्षण तरङहरु वास्तवमै मापन गर्न सकिन्छ कि सकिन्न भन्नेमा उनी आफै पनि शायदै विश्वस्त थिए। 

आइन्सटाइनको सिद्धान्तका लगभग सबै विषय प्रयोग वा अवलोकनबाट पुष्टि भइसके पनि यही गुरुत्वाकर्षण तरङमात्रै पुष्टि हुन बाँकी थियो। 

खासमा यो किन महत्त्वपूर्ण?

गुरुत्वाकर्षण तरङ कै कारण उत्पतिको रहस्यका प्रश्नहरुको उत्तर भेट्टाउन सकिने आशा छ। खगोलविद्हरुले टाइम र स्पेस दुवैलाई पछाडि गएर हेर्न सक्छन्। १३ अर्ब प्रकाश वर्ष टाढाको कुनै चिज हेर्नका लागि उनीहरुले १३ अर्ब वर्षअघि यात्रा सुरु गरेको प्रकाशलाई क्याप्चर गर्छन्। तर जतिसुकै राम्रो टेलिस्कोप भए पनि ब्रह्मान्डको पहिलो ४ लाख वर्षको कुरा हेर्न सकिन्न। किनभने त्यतिबेला प्रकाशले समेत त्यो बाक्लोपनालाई चिर्न सक्दैन। 

तर गुरुत्वाकर्षण तरङ भने उत्पतिदेखि नै भएको हुनुपर्छ। रहस्यका पाटाहरु अब खुल्दै जानेछन्। 
 

केको आवाज ?

१४ सेप्टेम्बर २०१५ मा अमेरिकाको लुइजियानामा रहेको लिभिङस्टोन ल्याबको सिस्टममा एउटा ब्लिप आवाज सुनियो। त्यसको सात मिलिसेकेन्डपछि ४ हजार किलोमिटर टाढा वासिङ्गटनको हान्फोर्डस्थित अर्को ल्याबमा त्यस्तै ब्लिप सुनियो जुन पृथ्वीबाट गुज्रेको गुरुत्वाकर्षण तरङका कारण आएको थियो।

अर्बौँ वर्षअघि ब्रह्मान्डमा ठोक्किएर एकाकार भएका दुई ब्ल्याक होलबाट निस्केको गुरुत्वाकर्षण तरङ पृथ्वी भएर गुज्रँदाको आवाज हो यो जुन बिहीबारको पत्रकार सम्मेलनमा सुनाइएको थियो।
 

 

शताब्दीकै ठूलो यो उपलब्धिलाई नेपाली वैज्ञानिकहरुले कसरी लिएका छन्? पहिलोपोस्टमा आगामी सामाग्री।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell