PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​यसरी संलग्न भए सुदर्शन शताब्दीकै ठूलो वैज्ञानिक उपलब्धिको खोजमा



​यसरी संलग्न भए सुदर्शन शताब्दीकै ठूलो वैज्ञानिक उपलब्धिको खोजमा

  • उमेश श्रेष्ठ / पहिलोपोस्ट -
काठमाडौँ : 'यो त बल्ल सुरुवात हो,'  शताब्दीकै ठूलो वैज्ञानिक उपलब्धिका रुपमा व्याख्या गरिएको गुरुत्वाकर्षण तरङको खोजबारे औपचारिक घोषणा गरिएको रात सुत्न बेडमा जानुअघि अनुसन्धानमा संलग्न एक नेपाली युवक सुदर्शन कार्कीले लेखे, 'बुझ्न खोज्ने हाम्रो प्रयासको अन्त्य यहाँ हुँदैन।'

बुटवल घर भएका कार्कीलाई अबेरसम्म निद्रा परेन। यो महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सफल टिमका एक नेपाली सदस्यका रुपमा उनलाई बधाई दिनेहरु निकै थिए। यस विषयमा मेरा जिज्ञासाहरुलाई राति अबेर नै भए पनि उनी समाधान गर्दै थिए। 

हिजो रातिसम्म होसै थिएन

कार्कीलाई यो निकै महत्त्वपूर्ण खोज हुनेछ भन्ने थाहा नभएको होइन। तर वास्तवमा भन्नुपर्दा उनलाई हिजो रातिसम्म योबारे होसै थिएन। भन्छन्, 'जब तपाईँ कुनै काममा डुबेर त्यसको सूक्ष्म विश्लेषणतर्फ लाग्नुहुन्छ, तपाईँलाई अरु कुराबारे होसै हुन्न।'

त्यसो भए सुदर्शनले विश्वले सराहना गरेको यत्रो ठूलो उपलब्धिमा आफ्नो योगदानबारे थाहा पाएर गौरव गर्ने समय चाहिँ कुन थियो त?
हिजो राति। सुत्नुअघि। त्यो एउटा यस्तो पल थियो जति बेला बल्ल सुदर्शनले महसूस गरे हामी के पब्लिस गर्दैछौँ र त्यसमा मेरो भूमिका के छ?

१६ देशका हजार वैज्ञानिकले २५ वर्षसम्म गरेको खोजको नतिजा एपिएस जर्नलमा प्रकाशित भएको  छ। यस अनुसन्धानमूलक जर्नल लेखका लेखकहरुको नाम मात्रै तीन पेजमा छ। त्यसमा उनको पनि नाम छ। 


शताब्दीकै महत्त्वपूर्ण वैज्ञानिक उपलब्धिको खोज गर्नेमा नेपाली युवक सुदर्शन कार्की पनि। जर्नलको लेखका लेखकहरुको नाम

यसरी पाए मौका

बुटवल घर भएका कार्कीले माइतीघरको सेन्ट जेभियर्सबाट साइन्समा प्लस टु सकाएका हुन्। त्यसपछि उनी उच्च शिक्षाका लागि अमेरिका पुगे। कन्सास सिटीको युनिभर्सिटी अफ मिस्सौरीमा अन्डरग्राजुएट सकाए। 

अन्डर ग्राजुएट हुँदैदेखि उनी रिसर्चमा संलग्न थिए तर उनी अप्लाइड फिजिक्समा काम गर्थे त्यतिबेला। ग्राजुएट स्कूलमा जाने निर्णय गरेपछि उनले फन्डामेन्टल साइन्सतर्फ बढी काम गर्न खोजे। ओरिगन युनिभर्सिटीमा भर्ना भएपछि उनले लाइगो (लेजर इन्टेरफेरोमिटर ग्राभिटेसनल- वेभ अब्जर्भेटरी) को काम बारे जानकारी पाएँ। 

'यो निकै चुनौतिपूर्ण तर चाखलाग्दो लाग्यो', उनले पहिलोपोस्टलाई भने, 'त्यसैले म आफू पनि त्यसमा संलग्न हुने निर्णय गरेँ।"
लाइगोको फेलोको रुपमा लाइगोको हान्फोर्ड साइटमा जाने मौका पाए। यस्तो फेलो अवार्ड प्रति वष दुई जना विद्यार्थीलाई दिइन्थ्यो। पहिलो वर्षमै उनी फेलो भए। 

खासमा यो प्रोजेक्ट सन् १९९२ मा नै सुरु भएको हो। सन् २००२ देखि पहिलो डिटेक्टर सुरु गरेर तथ्याङ्क लिन थालिएको थियो। तर आठ वर्षसम्म पनि केही नभेटिएपछि सन् २०१० मा तथ्याङ्क लिने काम बन्द गरियो। सन् २०१० देखि डिटेक्टर बन्द गरेर अपग्रेड गरियो। गएको सेप्टेम्बर १४, २०१५ मा नै यो तरङ्ग डिटेक्ट हुँदा डिटेक्टर भर्खर सुरु मात्रै गरिएको थियो। 


लाइगोको हान्फोर्ड, वासिङ्गटनस्थित ल्याबको भित्री दृश्य। फोटो : ओरिगन युनिभर्सिटी

तरङ्ग पत्ता लागेको दिन 

भदौ २८, सोमबारको दिन थियो त्यो। ल्याब भएको ठाउँमा त्यो दिन गएको आधा घण्टामै आफूहरुले के फेला पारेको भन्ने बारे थाहा भइसकेको उनी बताउँछन्। 

'यो दिनका लागि टेस्टहरु प्लान गरिएका थिए', कार्कीले भने, 'मेरो योजना मुख्य इन्टरफेरोमिटर लेजरको न्वाइजलाई सरपास गर्ने सिस्टममा काम गर्ने थियो। तर सब प्लान रद्दी टोकरीमा फ्याँकिए।'

'हामी सबै स्टायन्ड डाउन मोडमा थियौँ र तत्काल अहिले चर्चित भएको त्यो आवाजको परीक्षण गर्न लाग्यौँ,' उनले भने, 'एस्ट्रोफिजिकल ओरिजिनको रियल सिग्नल हो कि होइन भन्ने थाहा पाउनका लागि हामीले कुनै पनि कसर बाँकी राखेनौँ।'

उनले चाहिँ के काम गरे त ?

'म डिटेक्टर क्यालिब्रेसनसँग सम्बन्धित तथ्याङ्क विश्लेषण गर्दै थिएँ। यस क्रममा हाम्रा डिटेक्टरहरु त्यो बेला एकदम अप्टिमल कन्फिगुरेसनमा थियो कि थिएन भन्ने निश्चित गर्ने जिम्मा मेरो थियो।'


युनिभर्सिटी म्यागेजिनले कार्कीको अनुसन्धानमा संलग्नताबारे खुलाउँदै सार्वजनिक गरेको प्रेस रिलिजको अं‌श

'सपना देख्न नछाडौँ'

विज्ञानका लागि यो शताब्दीकै ठूलो उपलब्धि भए पनि सामान्य मानिसलाई यो खासै चासोको विषय नरहेको देखिन्छ। तर विज्ञानमा थोरै मात्र चासो राख्ने सबैले यसलाई महत्वका साथ हेरेका छन्। 

कार्कीले के आशा राखेका छन् त ? उनी भन्छन्, 'नेपालका विद्यार्थीहरु जो साइन्स क्लास पढ्छन्, उनीहरुमा आशाको एउटा किरण सञ्चार गर्ने आशा लिएको छु।'

'हो, हाम्रो देशको राजनीतिक अवस्था ठीक छैन। तर पनि वैज्ञानिक बन्ने सपना देख्ने र कल्पना गर्ने काम त उनीहरु पक्कै गर्न सक्छन्,' आशावादी सुदर्शनले थपे, 'सपना देखेपछि मात्रै त्यसलाई साकार पार्ने प्रक्रिय अघि बढ्छ।'     



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell