PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नेपाली वैज्ञानिकको नजरमा शताब्दीकै ठूलो उपलब्धि, मानव समाजलाई के फाइदा?



नेपाली वैज्ञानिकको नजरमा शताब्दीकै ठूलो उपलब्धि, मानव समाजलाई के फाइदा?

  • विनोद ढकाल/मनोज सत्याल -
काठमाडौं : अल्बर्ट आइन्स्टाइनले सन् १९१५ मा पत्ता लगाएको सापेक्षतावादको सिद्धान्तको अनुमान पुष्टि हुने प्रमाण सार्वजनिक भएको भोलिपल्ट यस विषयमा नेपाली वैज्ञानिकहरुको धारणा बुझ्न हामी त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभाग पुग्यौँ।   

अमेरिकाको लाइगो ल्याबमा गुरुत्वाकर्षण तरङ्ग पत्ता लगाएको पत्रकार सम्मेलनलाई नेपालमा पनि भौतिक शास्त्रमा चासो हुनेहरुले लाइभ हेरे। सय वर्षपछि आइन्स्टाइनको अनुमान पुष्टि हुनुलाई विज्ञानको क्षेत्रमा शताब्दीकै ठूलो उपलब्धि भएको संसारभर चर्चा भयो।


हामी प्राध्यापक डा. उदयराज खनाललाई भेट्न कीर्तिपुर पुगेका थियौँ।  

२०४५ सालमै युवा वैज्ञानिक पुरस्कार पाएका खनालले त्रिभुवन विश्वविद्यालयमा भौतिकशास्त्र अध्यापन र खोजमा बिताएको नै चार दशक पुग्न लागेको छ। 

प्राध्यापक खनालसँगै १०/१२ जना विद्यार्थी पनि सँगसँगै आए। हामी भौतिकशास्त्र केन्द्रीय विभागका प्राध्यापकहरुको कार्यालयबाहिरको वेटिङ रुममा भेला भयौं।

'विदेशी मिडियामा हिजै न्युज आयो, नेपाली मिडियामा केही आएन' एक विद्यार्थीले भने 'तपाइँहरु आउनुभयो खुशी लाग्यो।'

विद्यार्थीहरु धेरै उत्साहित थिए। उनीहरुले न्युयोर्क टाइम्स र गार्जियनमा डिटेल स्टोरी आएको बताए। वैज्ञानिकहरुले पुष्टि गरेको ग्राभिटेसनल वेभलाई नेपालीमा के नाम दिने त ? उनीहरु छलफल गर्न थाले।

हामीले सोध्यौं- खास भएको के हो? यो कत्तिको महत्वपूर्ण छ?


प्राध्यापक खनालले विस्तारमा भने-
'अल्बर्ट आइन्स्टाइनले सन् १९१५ मा ब्रह्माण्डका कुनै पिण्ड हिँड्दा, घुम्दा फरक ऊर्जा (ग्राभिटेसनल रेडियसन) प्रसारित हुन्छ भन्ने सिद्धान्त दिएका थिए। उनको यो सिद्धान्तलाई लामो समयसम्म सबैले स्वीकार गरे। विश्वविद्यालयमा त्यही अनुसार पढाइ भयो।'

'आइन्स्टाइनले सिद्धान्त दिएको १०० वर्ष पहिले नै हो, त्यो पत्ता लाग्न यति धेरै वर्ष लाग्यो' उनले भने, 'कुनै पनि कुरा तबमात्र सिद्धान्त ठहरिन्छ जब त्यसको प्रयोगात्मक प्रमाण भेटिन्छ। प्रमाण नभेटेसम्म यो मिथकको रुपमा मात्र रहन्छ, लेखनको रुपमा मात्र रहन्छ।'

'आइन्स्टाइनको यो सिद्धान्तलाई लामो समयसम्म सबैले स्वीकार गरे, विश्वविद्यालयहरुमा पनि त्यही अनुसार पढाइ भयो। तर सन् १९६० देखि यो कति वर्षसम्म सिद्धान्तकै रुपमा रहिराख्यो। सन् १९६० पछि नाप्नै पर्‍यो भनेर चर्चा भयो। अहिलेसम्म नाप्न सकेको थिएन। अहिले नाप्ने काम भयो। आइन्सटाइनले गरेको भविष्‍यवाणी मिल्यो।'


'आइन्सटाइनले दुईवटा ब्ल्याकहोल नजिक भएपछि घुम्न थाल्छन् र उनीहरुको ऊर्जा घट्दै जान्छ भनेका थिए। घटेको केही ऊर्जा ग्राभिटेसनल रेडियसनको रुपमा जान्छ। नजिक-नजिक हुँदै दुईवटा ब्ल्याकहोल एकाकार हुँदा ठूलो मात्रामा ग्राभिटेसनल रेडियसन फाल्छन्।'

'उनले ग्राभिटी भनेको अन्तरिक्षकै एउटा विशेषता हो भनेका थिए। जुन पुष्टि भयो।'

'आइन्सटाइनको धेरै सिद्धान्त एक्सपेरिमेन्टल्ली प्रमाणित भएको थियो। यो बाँकी थियो। यो पनि ठीक छ भन्ने आयो।'

 

मानव समाजलाई के फाइदा?

'यो विज्ञानको क्षेत्रमा ठूलो उपलब्धि हो। तर यसको उपयोग के हुन्छ भन्नै गाह्रो छ।'

'इलेक्ट्रो म्याग्नेटिभ वेभ पत्ता लागेको सन् १८८० मा हो। त्यसको मद्दतले डेढ सय वर्षमा टेलिकम्युनिकेसन विकसित भएर अहिलेको अवस्थामा आयो, हरेकको खल्तीमा आज मोबाइल छ। अहिलेको खोज इलेक्ट्रो म्याग्नेटिभ वेभ भन्दा पनि धेरै ठूलो हो। तर यसको उपयोग कसरी गरिएला भन्न गाह्रो छ।'

'हामीले जति टाढासम्म ब्रह्मान्ड देख्छौं त्यसभन्दा पनि धेरै टाढासम्म हेर्न सकिन्छ कि? यो प्रविधि विकास भएपछि हाम्रो ब्रह्मान्ड कस्तो थियो भन्ने हेर्न र अध्ययन गर्न सकिने क्षमता नै दिन्छ कि?'


'नभए साइन्स फिक्सन जस्‍तो भएर जाला। यसको उपयोग गरेर ग्राभिटेसनल वेभ जेनेरेट गर्न सक्ने मेसिन बनाउन सक्यौं भने टाइम ट्राभल नै गर्न सकिन्छ कि के थाहा? तर कति सम्भव होला कति नहोला वा कति समय लाग्ला केही भन्न सकिँदैन।'

टाइम ट्राभललाई धेरैले फिक्सनमा रमाइलोसँग प्रस्तुत गरिसकेका छन्। एचजी वेल्सको प्रख्यात उपन्यास टाइम मेसिन धेरै पुरानो भइसक्यो, बलिउडमै पनि ऐश्वर्या राय र अक्षयकुमार अभिनित फिल्म 'एक्सन रिप्ले'मा उनीहरुका छोराले टाइम ट्राभल गरी ३० वर्षपछाडि गई बाबुआमाको मिलन गराउँछन्।  

हलिउडमा मेन इन ब्ल्याक ३ मा पनि चन्द्रमामा अमेरिकाले यान पठाउन लागेको समयमा गरिने टाइम ट्राभलकै विषय छ। तर यो विषय अहिलेलाई कल्पना मात्र हो।
 
यस्ता स्टडीमा हामी कहाँ छौं? त्रिवि कहाँ छ?

हामीले यस्तो जिज्ञासा राख्दा प्राध्यापक खनाल र उनका विद्यार्थीहरु धेरै बेर हाँसे। खनालले भने 'देखिहाल्नुभयो मेरो विद्यार्थी कति इन्ट्रेस्टेड छन्। मैले आज क्लासमा यसबारेमा कुरा गर्दा उनीहरुले धेरै कुरा जानेका रहेछन् मैले भन्दा पनि धेरै। युवा धेरै उत्साहित रहेका छन्।

यो एउटा खोजमा १६ देशका ९०० भन्दा बढी सहभागी छन्। त्यसमध्ये एक हाम्रै नेपाली पनि छन्- सुदर्शन कार्की।

सम्बन्धित समाचार
यो अर्बौं डलरको अन्तर्राष्ट्रिय प्रोजेक्ट हो, धेरै देश लागेका छन्। हाम्रो देशमा त विज्ञानको विकास गर्ने उद्धेश्य नै छैन। विज्ञान पढेकाहरुले आफ्नो क्षमता देखाउने अवसर पाएका छैनन्। उनीहरुको क्षमता उपयोग गर्न देशले विज्ञान आवश्यक भएको महसुस गर्नुपर्छ। हामी गाँस,बास कपास भन्छौं। त्यो भनुन्जेल कहिल्यै विज्ञानको विकास हुँदैन। त्यसैले लक्ष्मीप्रसाद देवकोटाले भनेजस्तो उदेशेय ठूलो राख्नुपर्‍यो।

विकास विज्ञानले मात्र गर्छ। गरिबी निवारण कोष खडा गरेर पैसा बाडेर कोही धनी हुँदैन। त्यसका लागि त उत्पादन गर्नुपर्‍यो। राम्रो काम गर्नुपर्‍यो। विकास त विज्ञानले मात्र गर्छ।

उनले करिब २० मिनेटमा यति कुरा गरिसकेपछि उनका एक विद्यार्थीले सोधे 'के पत्ता लागेको हो भन्ने थाहा पाउनुभयो त?' उनले हामीसँग सवाल गरे - राम्रोसँग बुझ्नुभएन भने फेरि ट्विस्ट होला नि। पहिला पनि गड पार्टिकल्स पत्ता लगाउँदा कण-कणमा भगवान् छन् भन्ने पुष्टि भयो भनेर मिडियामा आयो।

अर्का विद्यार्थीले ल्यापटप खोलेर अगाडि ल्याए र भने 'ग्राभिटेसनल वेबको बारेमा पपुलर भिडियो छ त्यो हेर्‍यो भने पनि धेरै कुरा थाहा हुन्छ है।'


भौतिकशास्त्रका विद्यार्थी यादवप्रसाद कँडेलले भने 'अन्तरिक्षबाट ठूलो आवाज आयो भन्ने मात्र चर्चा धेरै छ तर यो कुरा महत्वपूर्ण होइन यस्ता आवाज त धेरै आइरहेका छन्। यो चाहिँ ग्राभिटेसनल वेबको पहिलो आवाज हो।'

उनका अनुसार अहिलेसम्म निस्केका आवाज यान्त्रिक तरंग र विद्युतीय तरंगका मात्र थिए अहिले गुरुत्वाकर्षणीय तरंगको आवाज पनि निस्कियो।

उनीहरुको कुरा सुनेर हामी निस्कँदा झण्डै ३० विद्यार्थी हाम्रा वरिपरि झुम्मिएका थिए। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell