PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सकियो सार्क सम्मेलनः आउ मिलाउँ हाम्रा हातहरु



सकियो सार्क सम्मेलनः आउ मिलाउँ हाम्रा हातहरु
तस्बिरः सूचना विभाग

मनोज सत्याल/पहिलोपोस्ट
काठमाडौँ: पाकिस्तानमा १९ औँ सार्क शिखर सम्मेलनमा भेट्ने गरी अठारौ सार्क शिखर सम्मेलन सकिएको छ। काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको १८ औँ सार्क शिखर सम्मेलन काठमाडौँ घोषणापत्र जारी गर्दै सकिएको हो।

१८ औँ सार्क शिखर सम्मेलनमा सबैभन्दा चर्चामा रह्‍यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफको सम्बन्ध। उनीहरुले हात नमिलाएको/नभेटेको र नबोलेको भन्दै भारतीय मिडियामा बुधवारदेखि नै यो प्रमुख समाचार बनेको थियो।

सम्मेलनको उद्घाटन सत्रमा 'विगतका कटुता अन्त्य गरी नयाँ सम्बन्ध र सहकार्य स्थापना गर्नुपर्ने' बताए पनि भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानी समकक्षीसँग उद्‍घाटन सत्रमा बोलचाल समेत गरेका थिएनन्। सरिफले पनि मोदीतर्फ हेरेका थिएनन्।

यसरी मिल्यो हात

सम्मेलनको समापन लगत्तै सार्क राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुले एक अर्कासँग हात मिलाएका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पनि एकआपसमा हात मिलाएका थिए।

यसअघि मिडियामा सार्क सम्मेलन भन्दा पनि भारतीय प्रधानमन्त्री र पाकिस्तानी प्रधानमन्त्रीले शिष्टाचार समेत ननिभाएको विषय चर्चामा रहेको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेसँग हात मिलाएर कुराकानीमा रहेका थिए। उनी अन्य देशका प्रधानमन्त्रीसँग पनि हात मिलाउँदै अगाडि बढेका थिए। पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ पनि नेपालका परराष्ट्रमन्त्री महेन्द्र पाण्डेसँग हात मिलाउँदै अगाडि बढे।  

लगत्तै दुबै देशका प्रधानमन्त्री व्यवस्थापन गरिएको सिटबाट केही अगाडि सरेर हात मिलाएका थिए। हात मिलाए सँगै दुबै देशका प्रधानमन्त्री मुस्कुराएर फोटोका लागि पोज दिएका थिए। बिचमा नेपालका प्रधानमन्त्री सुशील कोइराला हँसिलो मुद्रामा देखिएका थिए। हात मिलाएपछि हलमा खुसीको माहौल उत्पन्न भएको थियो।

हात मिलाउनु अघि प्रधानमन्त्री सुशील कोइरालाले सार्कको समापन भएको घोषणा गरेका थिए। लगत्तै सार्क मुलुकका परराष्ट्रमन्त्रीहरुलाई फोटो सेसनको निमित्त मञ्चमा बोलाइएको थियो।

यसअघि सार्कको आयोजकको हैसितयतले नेपालले धुलिखेलमा आयोजना गरेको रिट्रिटमा पनि दुबै देशका प्रधानमन्त्रीले हात मिलाएको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले बताएका थिए।  

१९ औँ सार्क सम्मेलन पाकिस्तानमा

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा हुने छ।

मङ्सिर १० र ११ गते काठमाडौँमा आयोजना भएको सार्कको १८ औँ शिखर सम्मेलनको समापनका अवसरमा यो जानकारी दिइएको हो।

समारोहमा १९ औँ शिखर सम्मेलन गर्ने अवसर पाएकामा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखलाई धन्यवाद ज्ञापन गरे।

तेस्रोपटक सार्क शिखर सम्मेलनको आयोजना गर्ने अवसर पाएको पाकिस्तानमा यसअघि सन् १९८८ डिसेम्बर २९–३१ मा चौथो र सन् २००४ जनवरी ४–६ मा बाह्रौँ शिखर सम्मेलन सम्पन्न भएको थियो।

तस्बिरहरूः सूचना विभाग



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell