PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भ्यालेन्टाइन्स डे कति ठिक कति बेठिक?



भ्यालेन्टाइन्स डे कति ठिक कति बेठिक?

  • कल्पना पौडेल- 
काठमाडौं : आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स डे। खासगरी पश्चिमा देशमा मनाइँदै आएको यो दिवस केही वर्षदेखि नेपालका युवाले पनि विशेष रुपमा मनाउन थालेका छन्। कतिपयले भने यसलाई विदेशी चाड भएकाले विकृति मात्र ल्याएको धारणा राख्दै आएका छन्।

नेपाल कमर्स क्याम्पस, मीनभवनमा स्नातक प्रथम वर्षकी समीक्षा गौतम प्रणय दिवसले नेपालका युवामा प्रेमलाई नकारात्मक रुपमा दिने बानीको विकास गरेको ठान्छन्। उनी भन्छन्—“प्रणय दिवस आफैँमा नराम्रो नभए पनि सहरी युवाले प्रेमलाई फेसनका रुपमा लिई कतिको भविष्य समेत खतरामा पारेका छन्। त्यसैले यसलाई सभ्य रुपमा मनाउन सकेमा मात्र राम्रो हुन्छ।” 

विज्ञापन कम्पनीमा कार्यरत दिवस ढकाल भने यो दिवसलाई मायाप्रेम साट्ने दिनको रुपमा लिन्छन्। उनी भन्छन्— “अहिले समय फेरिएको छ। युवा धेरै सचेत छन्। आफ्नो जीवनको निर्णय आफैँ गर्ने भएकाले आफ्नो जीवन साथी रोजी उनैसँग प्रेम दिवस मनाउनु नकारात्मक कुरा होइन।” 


प्रणय दिवसको औपचारिक सुरुआत सन् २६९ मा रोमबाट सुरु भएको मानिन्छ। रोमका तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए। सम्राट्को आदेशको उल्लङ्घन गर्दै त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि धेरै सैनिकको उनले सार्वजनिक रुपमा विवाह गराएका थिए। 

आदेश तोडेको आरोपमा उनलाई इपू ७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउन थालिएको हो। विश्वभरि नै यस दिनलाई उत्सवका रूपमा मनाउने गरिन्छ। नेपालमा अझै पनि खुला रुपमा प्रेमको कुरा गर्नु विपरीत लिङ्गीसँगै हिँड्नुलाई सकारात्मक रुपमा सहज रुपमा ग्रहण गरिँदैन। 

सातदोबाटोका ६० वर्षीय बलराम भण्डारी प्रणय दिवसले नेपालमा धेरै विकृति भित्रिएको बताउँछन्। अहिलेका युवाले प्रेमको नाममा धेरै विकृति भित्र्याएको बताउने भण्डारीले प्रेमलाई पनि अहिलेका युवाले खेलौना बनाएको विचार व्यक्त गरे। उनले भने—“हाम्रो समयमा अहिलेको जस्तो प्रेम गर्दै छाड्दै गर्ने चलन थिएन। यसरी खुला रुपमा प्रेम गर्ने अनुमति त्यो बेला थिएन तर अहिले त आज एउटासँग प्रेम छ, भोलि अर्कोसँग यो विकृति नभए के हो?” उनले त्यसैले अहिलेका युवाको प्रेमप्रतिको भावना देखेर चिन्ता लाग्ने गरेको सुनाए।  


उनको जस्तै भनाइ छ माछापोखरीकी ५५ वर्षीया भगवती न्यौपानेको पनि। उनले अहिलेका युवाले प्रेमलाई नबुझेको बताइन्। उनले भनिन्—“अहिलेका युवा राम्रो देख्नेबित्तिकै मन पराउने र माया गाँस्ने अनि अलिकति खटपट भए मिलाउनुको साटो तुरुन्तै छाडिदिने र अर्कापट्टि लाग्ने फेसन बनेको छ। त्यसैले अहिले सम्बन्धबिच्छेद गर्ने युवाको सङ्ख्या बढ्दो छ।” 

खासगरी युवाले एकार्काबीच व्यक्त गर्न नसकेको प्रेमलाई व्यक्त गर्ने र प्रेममा भएका जोडीले माया अझ प्रगाढ दिनका रुपमा आजको दिनलाई उपयोग गर्छन्। आजको दिन युवाले आफ्ना प्रेमीप्रेमिकालाई रातो गुलाबको फूल उपहारका रुपमा आदानप्रदान गरेर प्रेम दिवस बनाउने गर्छन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell