PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

‘भावी पुस्तालाई कस्तो सार्क हस्तान्तरण गर्ने? निर्णय गर्ने बेला भइसक्यो’



‘भावी पुस्तालाई कस्तो सार्क हस्तान्तरण गर्ने? निर्णय गर्ने बेला भइसक्यो’

  • सुशील कोइराला -
अध्यक्ष महोदय,
सार्क सदस्य मुलुकका महामहिम राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु,
विशिष्ट प्रतिनिधिमण्डल,
भद्र महिला तथा सज्जनवृन्द,

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलन आयोजना गर्नु नेपालमा निम्ति सम्मान र सौभाग्यको विषय हो। नेपाली जनता तथा नेपाल सरकार र मेरो आफ्नै तर्फबाट तपाईँहरु सबैलाई काठमाडौँमा न्यानो स्वागत गर्दै यहाँहरुको नेपाल बसाइ सुखद् एवम् उपयोगी होस् भन्ने कामना गर्दछु।

बितेका तीन वर्षमा सार्क प्रक्रियालाई सर्वोत्कृष्ट नेतृत्व प्रदान गर्नुभएकामा गणतन्त्र माल्दिभ्सका महामहिम राष्ट्रपति अब्दुल्ला यामिनप्रति आभार प्रकट गर्दछु। यो शिखर सम्मेलनको तयारी प्रक्रियामा सार्कका महासचिव र सार्क सचिवालयले गरेको योगदानप्रति पनि म कृतज्ञता ज्ञापन गर्न चाहन्छु।

महामहिम तथा विशिष्ट प्रतिनिधिमण्डल,

हामीले शिखर सम्मेलन गरिरहँदा सारा विश्वले दक्षिण एसियालाई नियालिरहेको छ। अन्तर्राष्ट्रिय वातावरण द्रुत गतिमा परिवर्तन भइरहेको तथा हाम्रो समाज र अर्थतन्त्र एकअर्कामा अन्तरसम्बन्धित र अन्तरनिर्भर रहेका बेला यो बैठक भइरहेको छ। रणनीतिक भूगोल, मध्यम वर्गको उन्नत जनसङ्ख्याको रुपरेखा, परिश्रमी युवा जमात, बढ्दो प्रजातान्त्रिक प्रक्रिया, अपार प्राकृतिक स्रोत, मूल्यवान् जैविक विविधता तथा आर्थिक आयामले दक्षिण एसियालाई अपार बजारयुक्त बनाएको छ। विश्वव्यापी उत्कर्ष हासिल गर्न यो क्षेत्रसँग रुपान्तरणात्मक सम्भावना छन्।

हाम्रा जनताका नयाँ उत्साह, आशा, अपेक्षाका साथ हामी भेला भएका छौं। सार्क स्थापनाकाल देखि नै यस क्षेत्रमा प्रजातान्त्रिकीकरणको दिशामा भएका अविचलित प्रगतिप्रति हामीले गर्व गर्नुपर्छ। सबैभन्दा विशाल भारतीय प्रजातन्त्रको उद्भवले सुदृढ सभ्यता शक्तिका रुपमा अभिप्रेरित गरेको छ। पछिल्लो शिखर सम्मेलन यता यस क्षेत्रमा शृङ्खलाबद्ध निर्वाचन भइ वैधानिक एवम् शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण भएका छन्। विशिष्ट एवम् सम्मानित नेताहरुलाई उहाँहरुको सफलताप्रति म बधाई ज्ञापन गर्न चाहन्छु।

विशाल विविधतामा अद्वितीय एकता यो क्षेत्रको अनुकूलन हो। अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय अपराध, लागुपदार्थ र हातहतियार तथा मानव तस्करी, जलवायु परिवर्तन एवम् गरिबीजस्ता केही चुनौतीले हामीलाई निरन्तर गिज्याइरहेको छ। तिनले सामाजिक सम्बन्ध, शान्ति, राजनीतिक स्थायित्व, प्रजातान्त्रिक प्रक्रिया र विकासलाई कमजोर पारेका छन्। ती चुनौतीको सामना गर्न तथा स्रोत र साधनको समुचित उपयोगका लागि इमान्दारीपूर्वक हामीले काम गर्न जरुरी छ। यस क्षेत्रका जनतासमक्ष गरिएका वाचा पूरा गर्न सामूहिक प्रतिबद्धता चाहिन्छ। 

विशिष्ट प्रतिनिधिमण्डल,

हाम्रो सामूहिक अन्तस्करणमा गरिबी अभिशापका रुपमा विद्यमान छ। यही नै खराब गतिविधिको प्रमुख स्रोत हो। यसले हाम्रा समाजहरुमा धेरै वैमनस्य र तनाब सिर्जना गरेको छ। हाम्रा साझा प्रयासबाट गरिबी र भोकमरीका कारण अमानवीय अवस्थामा रहेका यस क्षेत्रका जनतालाई मुक्त गर्न सकेमा त्यो २१ औं शताब्दीको सफलताको गाथा हुनेछ। गरिबी बहुआयामिक छ। त्यसैले कृषि, स्वास्थ्य, सरसफाइ, शिक्षा र महिला सशक्तीकरणजस्ता महत्वपूर्ण क्षेत्रमा  हाम्रा साझा प्रयास आवश्यक छन्। अनियमित मौसम, जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपत्तिले दक्षिण एसियालाई जोखिमपूर्ण बनाएको छ। हिमाली हिमनदी होस् वा समुद्री सतहवृद्धि, तिनले विनाशकारी बढीले हाम्रा पहाड र तराईका जनतालाई पारेर निरन्तर कष्ट दिइरहेका छन्। वातावरणीय क्षयीकरण र जलवायु परिवर्तनका नकारात्मक प्रभावले हाम्रा जनतालाई थप भयभीत तुल्याएको छ। साझा तर पृथक जिम्मेवारीयुक्त नियमनकारी निकायसँगै जलवायुसम्बन्धी न्यायपूर्ण संयन्त्र निर्माणको हामी आह्वान गर्दछौँ। अनुकूलन तथा न्यूनीकरणका उपाय अवलम्बन गर्न क्रियाशील कोष परिचालन संयन्त्र पनि चाहिन्छ। जवाफदेहिताबिना यो विश्वलाई दूषित तुल्याउने अधिकार कसैलाई छैन।
 
भौगोलिक रुपमा निकट रहे पनि हाम्रो क्षेत्र सबैभन्दा कम एकीकृत भूभाग हो। सम्पर्कको अभावमा हामी एकअर्काबाट टाढा छौँ। अन्तरक्षेत्रीय व्यापार तथा लगानीको मात्रा घटिरहेको छ। यसका निम्ति परिमाणात्मक वृद्धि, विस्तृत आर्थिक सम्बन्ध र साफ्टालाई पूर्ण कार्यान्वयन गर्नुपर्छ। दक्षिण एसियाली आर्थिक सङ्घको लक्ष्य हासिल गर्न सेवा व्यापारसहित व्यापार उदारीकरण गर्नुपर्छ। मालसामान, सेवा, पुँजी र जनताको बृहत् प्रवाहका लागि हामीले सडकमार्ग रेलमार्ग, हवाई मार्ग, पाइप लाइन, बन्दरगाह, जलमार्ग निर्माण गर्नुपर्छ।

महान् सभ्यताको उद्गमस्थल दक्षिण एसियामा दर्शनीय सम्पदा छन्। प्रकृतिले हामीलाई विश्वको सर्वोच्च शिखर सगरमाथाजस्ता हिमालय र नीला गहिरा समुद्रजस्ता अनुपम उपहारले वैभवशाली तुल्याएको छ। भौगोलिक लाभांश प्राप्त गर्न तथा यस क्षेत्रका जनताको बिनाअवरोध आवागमन प्रवर्द्धन गर्न हामीले नागरिक संस्था, निजी क्षेत्र र नागरिक समाजबीच एकताबद्ध साझेदारी गर्दै सार्क प्रक्रियालाई कार्यान्वयन गर्नुपर्छ। यसो गरेमा काठमाडौँ शिखर सम्मेलनको शीर्ष शीर्षक ‘शान्ति र समृद्धिका लागि गहन एकता’  वास्तविक रुपमा सार्थक हुनेमा म विश्वस्त छु।
 
महामहिम तथा विशिष्ट प्रतिनिधिमण्डल,

हाम्रो क्षेत्रमा युवा तथा सशक्त जनसङ्ख्याको विशाल समूह छ तर विश्वका अन्य भाग भने श्रमिक  जनशक्तिको अभाव झेलिरहेको छ। यद्यपि, स्वदेशमा रोजगारीका पर्याप्त अवसर उपलब्ध नहुँदा ठूलो सङ्ख्यामा युवा शक्ति कामका लागि बिदेसिनने गरेका छन्। आप्रवासी कामदारले पठाएको विप्रेषणबाट राष्ट्रिय आयमा ठूलो योगदान पुगे पनि त्यसले मनौवैज्ञानिक, आर्थिक तथा सामाजिक मूल्य चुकाउनु परेको छ। यस्तो अवस्थाले क्षेत्रीय कार्यक्रममा मानव संसाधनको अत्यधिक उपयोगको माग गरेको छ। आप्रवासी कामदारको सुरक्षा, रक्षा र सम्मानका लागि अन्तर्राष्ट्रिय मञ्चमा साझा अवधारणा बनाउन हामीले संयन्त्र बनाउन जरुरी छ। 
 
महामहिमहरु,

आतङ्वाद हाम्रो साझा शत्रु हो, जसले सभ्य जीवनशैलीमा खतरा बढाएको छ। दक्षिण एसिया आतङ्कवाद तथा विविध अन्तरदेशीय अपराधको सिकार भएको छ। चरमपन्थी अतिवाद तथा धार्मिक अतिवादिताका साथै आतङ्कवादका सबै रुपविरुद्ध सामूहिक तथा निर्विवाद सङ्घर्ष गर्नुपर्छ। आतङ्वादसँगको सम्झौताले शान्तिको संस्कारमा आघात पर्छ। सार्कअन्तर्गत हामीले केही संस्थागत संरचना बनाएका छौँ। तर तिनको प्रभावकारी एवम् इमान्दारी कार्यान्वयन आवश्यक छ। कानुन कार्यान्वयन गर्ने हाम्रा संस्थाबीच समयमै महत्वपूर्ण सूचनाको आदानप्रदान हुनुपर्छ।

सुशासन प्रवर्द्धनका लागि साझा चुनौतीका रुपमा रहेको भ्रष्टाचारले पनि शान्ति, स्थायित्व, प्रजातन्त्र र विकासमा जोखिम पुर्‍याएको छ। प्रजातान्त्रिक शासन पद्धतिका लागि हाम्रा जनताले दशकौँसम्म गरेको सङ्घर्ष र असमान दुःखकष्ट झेलेर जिम्मेवार, पारदर्शी र भ्रष्टाचारमुक्त शासन व्यवस्था स्थापना गरेका छन्। हामीले शासन पद्धतिका रिक्तता पूरा गर्दै प्रजातान्त्रिक मूल्यमान्यतालाई जस्तोसुकै परिस्थितिमा पनि अवमूल्यन हुन दिनुहुँदैन। 

सार्कअन्तर्गत हामीले धेरै संयन्त्र गठन गरेका छौँ। तिनीहरुलाई सक्षम, प्रभावकारी एवम् परिणाममुखी बनाउनुपर्छ। बदलिँदो परिस्थितिमा सार्कका लक्ष्य र जिम्मेवारी पूरा गर्न सार्क सचिवालयको संस्थागत क्षमता सुदृढ गर्नुपर्नेमा हाम्रो दृढ विश्वास छ। सार्क प्रक्रियामा सामेल भएकामा पर्यवेक्षकप्रति हामी आभार व्यक्त गर्दछौं। हामी उहाँहरुले विभिन्न क्षेत्रमा हासिल गरेका  अनुभव तथा विशेषज्ञताका साथै स्रोतसाधनबाट लाभान्वित हुनेमा पूर्ण विश्वस्त छौं। पर्यवेक्षकलाई सार्कमा अर्थपूर्ण रुपमा सामेल गराउन दिगो प्रारुप विकास गर्नुपर्छ।

विशिष्ट मित्रगण,

मन्तव्य टुङ्ग्याउनुअघि नेपालको पछिल्लो राजनीतिक विकासक्रमबारे केही शब्द व्यक्त गर्न चाहन्छु। नेपालको प्रमुख प्राथमिकता सशस्त्र विद्रोहीलाई मूलधारमा समाहित गरेर प्रारम्भ गरिएको संवैधानिक प्रजातान्त्रिक राजनीतिसहितको संविधानसभाबाट प्रजातान्त्रिक संविधान जारी गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु हो। सबै राजनीतिक दल संविधान लेखन प्रक्रियामा सामेल भएका छन्। देशमा शान्ति र प्रजातन्त्रलाई संस्थागत गर्ने कार्यमा र प्रमुख संवैधानिक विषयमा हामीले उल्लेखनीय प्रगति हासिल गरेका छौँ। संवैधानिकताको भावना, राजनीतिक बहुलता, सर्वमान्य प्रजातान्त्रिक मान्यता, विधिको शासनयुक्त नयाँ संविधानले प्रजातान्त्रिक उपलब्धिलाई संस्थागत गर्दै समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको आधार तयार पार्नेछ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले प्रतिपादन गर्नुभएको पारस्पारिक विश्वास एवम् समझदारीमा आधारित राष्ट्रिय मेलमिलाप नीति तथा राष्ट्रिय एकताबाटै देशलाई स्थायित्व दिन सक्नेमा हामी दृढ विश्वस्त छौंँ। सन् २००६ को जनआन्दोनका नेता जिपी कोइरालाले विभिन्न राजनीतिक आदर्श बोकेका दलहरुलाई राष्ट्रिय स्वाधीनता, प्रजातन्त्र र मानवअधिकार रक्षाका लागि एकै थलोमा ल्याउनुभयो। संविधान लेखनका निम्ति हामीले उहाँका आदर्शलाई अङ्गीकार गरेका छौं। देशका राजनीति दलहरुको साझा प्रतिबद्धता,  छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायका मित्रहरुको सद्भाव एवम् सहयोगमा नेपाल शान्ति, स्थायित्व तथा  प्रजातान्त्रिक शासन पद्धतिको बाटामा अग्रसर हुन लागेको छ। शान्तिपूर्ण, स्थिर एवम् प्रजातान्त्रिक नेपाल हाम्रा छिमेकीका साथै क्षेत्रीय र विश्वस्तरमा यहाँको स्थायित्वका लागि सघाउने मुलुकको दीर्घकालीन हितमा छ भन्नेमा हामी विश्वस्त छौं।

शान्तिपूर्ण सहयोगको संरचनामा सार्क मुलुक बाँधिएका छन् भन्नेमा म विश्वस्त छु। यद्यपि, विगतलाई फर्केर हेर्‍यौँ भने हाम्रा लक्ष्य तथा उपलब्धि अपेक्षा गरिएअनुरुप छैनन्। दक्षिण एसियामा उपलब्ध अपार स्रोत र साधनको भरपूर उपयोग र एकार्कालाई लाभ हुने क्षेत्रमा समेत असहयोगका कारण तीन दशक लामो सार्कको यात्रा लक्ष्यसम्म नपुगेको हो। तीन दशक लामो अनुभवले हाम्रा कार्यशैलीलाई परिवर्तन गर्दै बृहत् आर्थिक तथा प्राविधिक नवप्रवर्तन अँगाल्नुपर्ने आवश्यकता औँल्याएको छ। भावी पुस्तालाई कस्तो सार्क हस्तान्तरण गर्ने हो भन्ने निर्णय गर्ने बेला भइसकेको छ। लामो समयदेखि धैर्यपूर्वक जनताले प्रतीक्षा गरिरहेका छन्। विस्तारित क्षेत्रीय सहयोगबाट विकासको प्रतिफल सार्क मुलुकका जनतासमक्ष पुर्‍याउनुपर्छ।  

दक्षिण एसियाको समग्र विकासका लागि अवरोध र चुनौतीलाई सम्बोधन गरौँ, हाम्रो एकता सबल पारौं, ऐक्यबद्धता प्रवद्र्धन गरौँ। विगतका पूर्वाग्रहपूर्ण मनस्थितिबाट मुक्त हुने साहस गर्दै सार्कलाई सबल, एकीकृत र अर्थपूर्ण माध्यमका रुपमा विकास गरौँ। शान्तिका अग्रदूत तथा यस क्षेत्रका सपूत गौतम बुद्धले हामीलाई सिकाउनुभएको उद्धरण उद्धृत गर्न चाहन्छु, “आफैँमा दीप होऊ। आफ्नो आत्मविश्वास आफैँ होऊ। सत्य र सत्यलाई मात्र आफैँमा उच्च राख।”

शान्ति, स्थायित्व र प्रजातन्त्र नै उपलब्ध स्रोतको उपयोग, जनताप्रति गरिएका वाचा पूरा गर्ने र चुनौती सामना गर्ने एक मात्र माध्यम हुन्। नेपाल सार्क सदस्य मुलुकका साझा दृष्टिकोण र चाहना पूरा गर्न सहकार्यका निम्ति सधैँ तत्पर छ। म सार्कका उद्देश्यप्रति नेपालको अपार प्रतिबद्धता पुनः दोहोर्‍याउन चाहन्छु। धन्यवाद।

जय सार्क, जय नेपाल। 

(प्रधानमन्त्री सुशील कोइरालाले सार्कको १८ औं शिखर सम्मेलनको उद्घाटनका अवसरमा दिएको स्वागत भाषणको अनौपचारिक अनुवाद -रासस)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell