PahiloPost

Feb 22, 2024 | १० फागुन २०८०

गढिमाई : आएको आशीर्वाद लिन, फर्कनु पर्‍यो आँसुसहित लाश बोकेर



गढिमाई : आएको आशीर्वाद लिन, फर्कनु पर्‍यो आँसुसहित लाश बोकेर

  • बाराको बरियारपुरस्थित गढिमाई परिसरबाट पहिलोपोस्ट टिम-
उनीहरु आएका थिए मागेको पूरा हुने शक्तिशाली गढिमाई देवीको आशीर्वाद पाउने विश्वासमा। न उनीहरुलाई दूरीको पर्वाह थियो, न भौगोलिक सीमाको। न समयको। एउटै ट्र्याक्टरमा ३०/३५ जनासम्म खाँदिएर आएका थिए छिमेकी देश भारतबाट।

लाखौँको संख्यामा आउने ती भक्तजनहरुले चिताएको पूरा होला, नहोला आफ्नो ठाउँमा छ, तर पाँच पाँच वर्षमा लाग्ने मेला भर्न आएकामध्ये दुई वटा परिवार भने शोकमा डुबेको छ। प्रियजनको लाश बोकेर आँसुमा डुब्दै फर्कन उनीहरु बाध्य भएका छन्।

राँगो बलिको मात्र अत्यधिक चर्चा रहेको गढिमाईमा अव्यवस्थापनका कारण  कुनै पनि बेला मान्छेको 'बलि चढ्न सक्ने' जोखिम रहेको पहिलोपोस्टले हिजोको स्थलगत रिपोर्टिङमा उल्लेख गरेको थियो। 

नभन्दै शुक्रबार भिडले किचेर भारत सीतामढी भवदेव १५ की पानकुमारी देवीको मृत्यु भयो। ६५ वर्षकी यी वृद्धा मन्दिर दर्शन गर्न हजारौँको अव्यवस्थित भिडमा थिइन्। जो बलियो, उसैले पेल्ने यो भिडमा ठेलाठेल हुने क्रममा लडेपछि उनी किचिएकी थिइन्।   


त्यस्तै, भारतको छाप्रा बनियापुर घर भएका माका तिवारीको परिवार एक वर्षकी बालिकासहित गढिमाई दर्शनका लागि आएका थिए। शुक्रबार आमाले काखमा लिएर सुतिरहेकै बेला बालिका अचेत भइन्। स्वास्थ्य शिविरमा उपचारका लागि लगिँदा प्राण गइसकेको पत्ता लाग्यो।
 

'मरेर बाँचे' 

'म पनि मरेर बाँचे,' मेला हेर्न काठमाडौँबाट आएका दामोदर कार्की भन्छन्, 'दुई साना छोरा र श्रीमतीसहित मेला हेर्न र दर्शन गर्न आएको थिएँ। भिडमा चेपिएर ढलेर दुई जनालाई किचेको आफ्नै आँखाले देखेँ। भिडले जता लाग्यो उतै जानबाहेक केही गर्न सक्ने स्थिति थिएन।'
उनी प्रशासनलाई यसको दोषी मान्छन्, 'हामीले पशुपतिमा पनि लाखौँको भिड हुँदा व्यवस्थापन गरेको देखेका छौँ। यहाँ त्यस्तो केही पनि देखिएन। राज्य आफ्नो जिम्मेवारीबाट चुकेको छ, आफ्नो उपस्थिति नै देखाउन सकेको छैन।' 

बलिभन्दा व्यवस्थापन महत्त्वपूर्ण

गढिमाई मेला पशुबलिका कारणमात्र मिडियामा चर्चामा छ। तर पशुबलि यो मेलाको एउटा अंश मात्र हो। पशुबलि जत्तिकै महत्त्वपूर्ण यहाँको भिड व्यवस्थापन पनि हो, जसका कारण कुनै पनि बेला ठूलै हताहतीसहितको दुर्घटना हुन सक्ने भय छ। 

लाखौँको भिड हुने ठाउँमा महिला र पुरुषलाई छुट्टाछुट्टै लाइनमा राख्ने, लाइनको अनुशासन पालना गराउन सुरक्षाकर्मी र स्वयंसेवकको व्यवस्था गर्ने, सवारी साधनलाई व्यवस्थित बनाउने आदि व्यवस्थापनका कुनै पनि उपाय अपनाइएका छैनन्।  मेला भर्न आएकाहरुले जथाभावी दिशापिसाब गर्ने समस्या उत्तिकै छ।

हजारौँ जना एक साथ मन्दिर भित्र प्रवेश गर्न खोज्ने अनि भिडको बलले जतातिर लग्यो उतैतिर जाने अवस्थामा थिए। मन्दिर अगाडि राखिएका फलामे बारहरु भत्किएका छन्।  

भागदौड मच्चिएपछि मान्छे एकातिर, उनीहरुले लगाएका जुत्ताहरु अर्कोतिर। 

स्थानीय प्रशासनले १४ सयको संख्यामा सुरक्षाकर्मी खटाइएको दावी गरे पनि बलिस्थलमा बाहेक भिड व्यवस्थापनमा उनीहरुको खासै उपस्थिति देखिएको थिएन। 

'यत्रो हुँदा पनि सय डेढ सय जना मर्ने घटना भएको छैन, साँच्चिकै गढिमाई देवीको आशीर्वाद रहेछ यो ठाउँमा', भिडमा चेपिँदै पहिलोपोस्टसँग कुरा गरिरहँदा पनि कार्कीले आफ्नो (अन्ध?) विश्वास अभिव्यक्त गर्न पछि परेनन्।  


 

मेलासमितिविरुद्ध भारतमा मुद्दा दर्ता

यसैबीच, गढिमाई मेला व्यवस्थापन समितिका पदाधिकारीविरुद्ध भारतमा मुद्दा दर्ता भएको छ। यो मुद्दा अव्यवस्थापन र लापरवाहीको लागि नभई उही पशुबलिको एक्टिभिजमसँगै जोडिएको छ। 

भारतीय जीवजन्तु कल्याण बोर्डका सदस्य तथा पिपल फर एनिमलका सदस्य गौरी मलेखीले भारतको रक्सौलमा आएर मेला समितिका १० पदाधिकारीविरुद्ध मुद्दा दर्ता गराएका हुन्। 

मन्दिरबाट २५ किलोमिटर टाढा पर्ने रक्सौलमा आएर बलिको पक्षमा भारतीयहरुलाई उक्साएको आरोप उनले लगाएका छन्। 
 
भारतको सर्वोच्च अदालतले अवैध रुपमा भारतबाट गढिमाई मेलाका लागि राँगा लग्न रोक लगाउन आदेश दिएको थियो।      



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell