PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

​कांग्रेस उम्मेद्वारका प्रचारका सात शैली



​कांग्रेस उम्मेद्वारका प्रचारका सात शैली

  • पहिलोपोस्ट -
काठमाडौँ : यतिबेला कांग्रेस महाधिवेशनमा सबै नजर केन्द्रित छ - नेतृत्वको प्रतिष्पर्धामा। कांग्रेसमा केन्द्रीय सदस्य देखि महामन्त्री अनि सभापतिका उम्मेद्वारसम्मले पनि नेतृत्वमा आउन कडै मिहेनत गरेका छन्। उनीहरुको प्रचार शैली पनि त्यहि अनुरुपको छ। महाधवेशन उद्घाटनस्थलदेखि बन्दसत्र हुने स्थानहरुमा फ्लेक्स प्रिन्टिङहरुले स्थान पाएका छन्। कसरी प्रचार गरिरहेका छन् त उम्मेद्वारहरुले? पढ्नुस् नेताहरुले अपनाएको तरिकाबारे नेताहरुको भनाई –

१ देउवाको बायोग्राफी भिडियोमा

सभापति पदका उम्मेद्वार शेरबहादुर देउवाले आफ्नो बायोग्रफी र संघर्ष झल्कने भिडियो बनाएका छन्। उनको जन्मस्थान देखि उनका राजनीतिक संघर्षका कहानी र राजनीतिक योगदानबारे भिडियोमा उल्लेख छ। महाधिवेशनलाई लक्षित गरी बनाइएको भिडियोमा देउवाको संघर्षका कहानीलाई देखाइएको छ।

२ भिडियोमार्फत उम्मेद्वारी घोषणा

देउवाका  महाधिवेशनका सक्रिय सहयोगी समेत रहेका केन्द्रीय सदस्यका उम्मेद्वार विश्वप्रकाश शर्माले आफ्नो उम्मेद्वारी घोषणा नै भिडियो मार्फत् गरे। उनले फेसबुक र युट्युबमा पोस्ट गरेको भिडियोमा आफू किन उम्मेद्वार बनेको खुलाएका छन्। अनि राजनीतिक चिन्तनको विषय पनि उल्लेख गरेका छन्। उनले भिडियोमा भनेका छन् - वीपी कोइराला आज हुनुहुन्थ्यो भने सायद जाउ त्रिभुवन विमानस्थलमा गएर बस, बाकसमा बेरिएर आएको युवकको लासलाई हेर, उसको लासमाथि गाउँमा आमाले बगाउने आँसुलाइ हेर, यसैबाट कांग्रेसले हिँड्ने बाटो थाहा पाउनेछौ।'

३ सोसल मिडियाको उच्च प्रयोग

अधिकांश नेतृत्व र केन्द्रीय सदस्यहरुले उम्मेद्वारले फेसबुक पेज मार्फत् मत मागिराखेका छन्। सभापतिका उम्मेद्वार रामचन्द्र पौडेल र महामन्त्रीका उम्मेद्वार गगन थापाको सोसल मिडिया सबैभन्दा धेरै सक्रिय छन्। गगन थापा ट्विटरमा पनि उत्तिकै सक्रिय छन्। नेताहरु आफ्नो अन्तर्वाता र समाचारका लिङ्कहरु सामाजिक सञ्जालमा सेयर गरिराखेका छन्। शेरबहादुर देउवाले पनि आफ्नो आधिकारिक ट्विटर अकाउन्ट सञ्चालनमा ल्याएका छन् भने रामचन्द्र पौडेलले पनि फेसबुक र ट्विटर चलाएका छन्। त्यसो त रामचन्द्र पौडेलले क्राउड फण्डिङ मार्फत चन्दा संकलन गरे निर्वाचन प्रयोजनका लागि।


४ फ्लेक्स बोर्ड

होडिङ बोर्ड राख्न काठमाडौँ महानगरपालिकाले प्रतिबन्ध लगाएको छ। तर कांग्रेस महाधिवेशनका लागि नेताहरुले फ्लेक्स प्रन्टिङ गरेर भृकुटिमण्डपमा झुण्डाएका छन्। भृकुटिमण्डपमा नेताहरुको हैसियत अनुसारका फ्लेक्स छन्। डोरीले टाँगेर रुखमा झुण्ड्याएर नेताहरुले ध्यान तान्ने गर्ने प्रयास गरेका छन्।

५ अन्तर्वार्ताको एड्भर्टोरियल

कांग्रेस नेता राजेन्द्र बजगाईँले आफ्नो प्रचारमा सबैभन्दा धेरै खर्च गरेका छन्। उनले कान्तिपुर दैनिकमा आधा पेज कलर अन्तर्वाता छापेका छन्। अनि नारा पनि दिएका छन् विकासका लागि आफ्नो सदस्यता भन्दै। विज्ञापनको रुपमा छापिएको भए पनि उनको अन्तर्वाता हो कि विज्ञापन छुट्याउन मुस्किल छ।

६ सम्पर्क कार्यालय

नेताहरुले मत माग्न र आफ्ना जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधि भेट्नका लागि सम्पर्क कार्यालय खोलेका छन्। कतिपय नेताहरुले आफ्नो घरमै भेटघाट स्थल बनाएका छन्। सम्पर्क कार्यालय राखेर मत माग्न नेताहरुले मत प्रयोग गरेका छन्। साथै कार्यकर्ता परिचालनको काममा पनि सम्पर्क कार्यालय मार्फत गर्ने गरेका छन्।

७ एसएमएस प्रचार

केन्द्रीय सदस्यका लागि तीन सय भन्दा धेरै कांग्रेसमा आकांक्षी छन्। उनीहरुले चार डिजिटको एसएमएस सेवा प्रयोग गरेर तीनहजार भन्दा धेरै रहेको महाधिवेशन प्रतिनिधिसँग मत मागि राखेका छन्। संविधानसभाको निर्वाचनका बेला एसएमएस सेवा नेताहरुले ब्यापक प्रयोग गरेका थिए। अहिले पनि कांग्रेस उम्मेद्वारहरुले एसएमएस प्रयोग गरिराखेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell