राजधानी काठमाडौं सहित देशका विभिन्न सहरमा यतिबेला आँखा पाक्ने रोगको संक्रमण छ। चिकित्सकहरु भन्छन्, आँखाको डिल चिलाउने, सुन्निने, चिप्रा लाग्ने र रातो हुने यो रोग राम्रोसँग उपचार नगरे अन्धोपनको कारण समेत बन्न सक्छ। भाइरस तथा ब्याटेरियाको संक्रमणबाट हुने यो रोग सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ। आँखा पाक्ने रोग, रोगका कारण, लक्षण, उपचार तथा आँखाको हेरचाहबारे पहिलोपोस्ट डट कमका रविराज बरालले प्रा. डा. डिएन शाहसँग कुरा गरेका छन्।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको बिपि कोइराला नेत्र अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा. शाह ३२ वर्षदेखि चिकित्सा तथा शिक्षण पेशामा संलग्न छन्। आँखाको क्षेत्रमा मात्रै उनले काम गरेको २९ वर्ष पुग्यो। सुनसरीको इनरुवामा जन्मिएका ६१ वर्षीय डा. शाह भन्छन्- आँखा पाक्ने रोगलाई हलुका रुपमा लिनु भनेको अन्धोपन निम्त्याउनुसरह हो।
आँखा कसरी पाक्छ? यो रोग हो कि सामान्य समस्या?
यो एक किसिमको संक्रमणबाट लाग्ने रोग हो। भाइरस वा ब्याक्टेरियाजस्ता जीवाणुको संक्रमणबाट यो रोग लाग्छ। एउटा क्षेत्र विशेषमा एकै समयमा धेरैजनालाई हुने रोगलाई 'इपिडेमिक' भनिन्छ। यो भाइरसको संक्रमणबाट हुन्छ। एउटा, व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा आँखा पाक्छ। दोस्रो, मधुमेहको समस्या हुँदा, बालबालिकामा कुपोषण छ भने, क्यान्सरको समस्या छ भने वा मिर्गौलाको समस्या छ भने ब्याक्टेरिया संक्रमणबाट आँखा पाक्ने समस्या बढि हुन्छ। यो प्रायः भाइरसका कारण नै हुने हो।पत्तै नपाइ आँखा पाक्छ। लक्षण देखिन्नन्?
खासमा यो रोग सर्छ कसरी?
संक्रमित व्यक्तिले आँखा मिच्दा उसको हातमा किटाणु टाँसिन्छन्। अब ऊसँग हात मिलाउनुभयो भने सर्ने भयो। होटलहरुमा एउटा तौलिया राखिदिएको हुन्छ। त्यहाँ कयौँ मानिसले हात पुस्छन्। संक्रमित मानिसले हात पुछेमा अरुलाई सर्ने सम्भावना भयो किनकी हात पुछेपछि आँखामा त गइहाल्छ। घर, अफिसमा बस्दा पनि सोफामा/टेबुलमा हात राखिन्छ। कम्प्युटर, ल्यापटप, मोबाइल अरुको पनि चलाइन्छ। संक्रमित व्यक्तिका कारण त्यहाँ पनि रोग सर्ने सम्भावना हुने भयो। यतिसम्म कि साबुनबाट पनि भाइरस सर्न सक्छ। साबुनमा पनि केहीबेर बाँच्न सक्ने भाइरस हुन्छन्। अर्को, आँखाको चिप्रा पुछेर टिस्यु पेपर, कपडा, कपास वा रुमाल फालिएमा हावामा पनि त्यसको संक्रमण फैलिन सक्छ। यद्यपी यसको सम्भावनाचाहिँ निकै कम छ। तर मानिसमा संक्रमण भएपछि भाइरस करोडको संख्यामा वृद्धि हुन्छ। नेपाली समाजमा एउटा भ्रान्ति छ कि संक्रमित व्यक्तिको आँखामा हेर्दा पनि रोग सर्छ। तर त्यस्तो होइन। कसैको आँखामा हेर्दैमा आँखा पाक्ने रोग सर्दैन।यो रोग लागिहाल्यो भने कसरी उपचार गर्ने त? कसरी व्यवस्थापन गर्ने?
बडो बिनम्रतापूर्वक सम्बन्धित व्यक्तिलाई अनुरोध गर्ने कि तपाईँको आँखा पाकेको छ, हात नमिलाउँ। हाम्रै नेपाली नमस्कार भन्ने र दुई हात जोड्ने। यो नै सबैभन्दा राम्रो तरिका हो। आफ्नो ल्यापटप, मोबाइल, रुमाल, तकिया आदि अरुलाई चलाउन नदिउँ। अरुको पनि नचलाउँ। धेरै हदसम्म बँच्न सकिन्छ।कतिसमयसम्म रहन्छ?
निश्चित अवधि हुँदैन। जीवाणु फरकफरक हुन्छन्। साधारणतया एकहप्तादेखि तीनहप्तासम्म रहने सम्भावना हुन्छ। त्यसमा पनि अधिकतम एकहप्ता देखि १० दिनसम्म आँखा पाक्ने समस्या रहन्छ। कतिपय भाइरल उपचार नगरे पनि स्वतः निको हुने खालका पनि हुन्छन्, तर सबै होइन। जस्तो सुकै भए पनि औषधि प्रयोग गर्नु बेश हो। भाइरसका कारणले भएको आँखा पाक्ने रोगमा पनि ब्याक्टेरिया इन्फेक्सन हुन सक्छ। त्यसैले एन्टिबायोटिक ड्रप राख्नुपर्छ। यसले ब्याक्टोरियल संक्रमण घटाउन सक्छ। यदि ठिक ढंगले उपचार नगरिएमा अनेक समस्या निम्तन सक्छन्। सामान्यतयाः दुईदेखि चार घण्टाको फरकमा ड्रप प्रयोग गर्नुपर्छ। सुत्ने बेलामा मलम प्रयोग गर्नुपर्छ। आँखामा जति बढी चिप्रा छ, त्यति बढी प्रयोग गर्नुपर्ने हुन्छ। आँखा खोल्नै गाह्रो हुन्छ भने एक एक घण्टाको फरकमा ड्रप प्रयोग गर्नुपर्छ। सादा र हलुका मनतातो पानीमा सफा कपडा भिजाएर आँखा सफा गर्नुपर्छ। घर बाहिर हुनुहुन्छ भने टिस्यु पेपरले पुछ्न सकिन्छ। पानी सफा हुनुपर्छ। चिप्रा धेरै बेरसम्म आँखामा रहन दिनुहुँदैन।आँखा पाक्ने रोग दीर्घकालीन स्वास्थ्य समस्या पनि बन्न सक्छ? कत्तिको खतरनाक हुन्छ?
नेपालमा आँखा पाक्ने रोगलाई निको भइहाल्छ नि भनेर हलुका ढंगले लिएको पाइन्छ। तर उचित ढंगले उपचार गरिएन भने यो ठूलो समस्या पनि बन्न सक्छ। आँखा पाक्ने समस्यालाई अंग्रेजीमा 'इन्फेक्टिभ कन्जङ्टभाइटिस' भनिन्छ। आँखाको सेतोभाग रातो हुन्छ। सेतोभागको बाहिर हुने झिल्ली रातो हुनु नै आँखा पाक्नु हो। राम्रोसँग उपचार नगरेमा हाम्रो आँखाको कालो भाग (हर्निया) अर्थात नानीमा पनि असर पर्छ। सही समयमा उचित उपचार नभएमा आँखाको नानीमा घाउ हुन्छ, फुलो पर्छ। त्यसको पनि सही उपचार भएन भने दृष्टि अल्पता/न्युनता हुन्छ र कुनै कुनै केसमा चाहिँ आँखा नदेख्ने अवस्था अन्धोपन समेत हुन सक्छ। त्यसैले यो सेल्फ लिमिटिङ (आफै निको हुने) भएता पनि यसलाई हलुका रुपमा लिनु हुँदैन। आँखाको नानीमा संक्रमण हुनु भनेको अन्धोपनालाई स्वागत गर्नु सरह हो। यो अन्धोपनको कारण पनि हुन सक्छ।संक्रमण बढ्नुमा बाह्य वातावरण कत्तिको जिम्मेवार छ?
बाह्य वातावरण भन्दा पनि हामी नै जिम्मेवार छौँ भन्छु म। प्रदुषण बढाउनमा हामी नागरिककै भूमिका ज्यादा छ। हो, सरकारले यसको उचित व्यवस्थापनको प्रबन्ध मिलाउन सकेको छैन तर यसलाई अव्यवस्थित बनाउने त फेरि हामी नै हौँ। काठमाडौंमा थुपारिएको फोहोरमा सडेगलेको खानेकुरा, तरकारी, माछामासु, अस्पतालको फोहोर, यतिसम्म कि मानवअंग पनि भेटिन्छ भनिन्छ। यसले संक्रमण त बढाउने नै भयो। प्रदुषण आफैमा एलर्जी पनि हो। राजधानी सार्क सम्मेलनताका अलि सुन्दर देखियो। तर फेरि उस्तै बन्ला भन्ने चिन्ता छ। फोहोर व्यवस्थापनको प्रबन्ध राम्रो छैन भने जनस्तरमा पनि यससम्बन्धि सजगता पनि कम छ। अनुशासनको कमी छ।आँखामा कस्ताकस्ता रोग लाग्न सक्छन्।
आँखामा लाग्ने रोगलाई दुई किसिममा वर्गीकरण गर्न सकिन्छ। एउटा, संक्रमण हुने र अर्को, संक्रमण नहुने। संक्रमण नहुनेमा जस्तै मोतिविन्दु, पश्चिमी तराईमा लाग्ने खस्रे रोग आदि। आधुनिकीकरणसँगै बदलिएको जीवनशैलीका कारण मधुमेह, ब्लडप्रेसर जस्ता स्वास्थ्य समस्या बढिरहेका छन्। सही समयमा उपचार भएन भने आँखालाई पनि अन्धो बनाउन सक्छ। पश्चिमी मुलुकमा मधुमेह अन्धोपनको प्रमुख कारणको रुपमा आएको छ। नेपालमा पनि मधुमेह भएका व्यक्तिको संख्या बढिरहेको छ। जति लामो समयसम्म मधुमेह रह्यो आँखामा समस्या हुने मिर्गौलामा समस्या हुने सम्भावना हुन्छ। यदि त्यसको सही समयमा उपचार भएन भने त्यसले आँखाको दृष्टि कमजोर बनाउन सक्छ र अन्धो पनि बनाउन सक्छ। सुरुमा थाहा भएमा उपचार हुन्छ नत्र अनेक समस्या आउँछन्। संक्रमित रोगमा, आँखाको नानीमा हुने घाउ र खस्रे रोग अन्धोपनका दुई प्रमुख कारण हुन्।किसानहरुलाई आँखामा धान तथा गहुँको बाला वा पातले लाग्न सक्छ। सानो चोट हो भनेर गम्भीरतापूर्वक नलिने चलन हाम्रोमा छ। जानकारीको अभावमा हामी संक्रमणलाई बढाइरहेका हुन्छौँ। हामीले नै गरेको एउटा अध्ययनले आँखामा समस्या आएमा आमाको दुध राख्ने, मह राख्ने, चियापत्ती राख्ने, गाजल राख्ने, रातोगेडी राख्ने, अन्डा तताएर राख्ने जस्ता अचम्म लाग्ने चलन पनि रहेको भेटायौँ। कतैकतै जंगली बोटको चोप राख्ने पनि चलन छ। यस्ता कारणले झन् संक्रमण र समस्या भित्रन्छन्। आँखाको नानीमा घाउ हुने कतिपय समस्या यस्ता सम्म पनि हुन्छन् कि जुन बेलामा उपचार नगरे आँखा नै फुट्छ। यस्तो भएमा दृष्टि सदाका लागि जान्छ।
के आँखाको नियमित परीक्षण आवश्यक छ?
आँखाको मुख्य काम दृष्टि हो। विकसित मुलुकमा बच्चा जन्मनेबित्तिकै आँखाको सामान्य परीक्षण गर्ने चलन छ। ९ महिना पनि नपुगेका बालबालिकालाई आँखाको समस्या हुने सम्भावना बढी हुने भएकोले उनीहरुको आँखा परीक्षणमा ध्यान दिइन्छ। त्यहाँ विद्यालय भर्ना गर्नुपूर्व बच्चाको आँखा परीक्षण गर्नुपर्ने व्यवस्था छ। कानुन जत्तिकै कडा छ यो विषय। अनुसन्धानका नतिजाहरुले के देखाउँछन् भने दृष्टि कम भएका बालबालिकाको मृत्युदर धेरै छ, वौद्धिक क्षमता पनि दृष्टि भएका बालबालिकाको भन्दा कम छ। यसले आँखा परीक्षणको महत्व दर्शाउँछ। त्यसैले एउटा सामान्य मानिसले १३/१४ वर्षको उमेरमा आँखा परीक्षण गराउनुपर्छ। यो तीब्र शारीरिक परिवर्तनको बेला पनि हो।कतिपय व्यक्तिलाई यतिबेला नयाँ चस्माको आवश्यकता पर्न सक्छ। त्यसपछि २० देखि २५ वर्षको उमेरमा र ३० देखि ३५ वर्षको उमेरमा आँखा परीक्षण गराउनुपर्छ। कुनै समस्या नै नभए पनि ४० देखि ४५ वर्षको उमेरमा पनि परीक्षण गराउनुपर्छ किनभने यो शारीरिक रुपमा कमजोर हुँदै जाने बेला हो। चिकित्सकको सल्लाहअनुसार परीक्षण गराउनु पर्छ। त्यसपछि ५०/५५ वर्ष पछि वर्षेनी परीक्षण गराउँदा राम्रो। तर मधुमेह, ब्लड प्रेसरको समस्या छ, क्षयरोग छ, क्यान्सरको समस्या छ भने आँखामा समस्या नभए पनि वर्षेनी परीक्षण गराउनैपर्छ। क्षयरोगको औषधिले आँखालाई कमजोर बनाउँछ। बिरामीको ध्यान पनि क्षयरोगमा मात्र हुन्छ। जब उनीहरु हामीकहाँ आउँछन्, हामीले केही गर्नै नसक्ने अवस्था पनि आउँछ।
