PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

भारतमा बढ्यो कारको मूल्य, नेपालमा के होला भाऊ?



भारतमा बढ्यो कारको मूल्य, नेपालमा के होला भाऊ?

  • उमेश पौडेल -
काठमाडौं : बजेटबाट लक्जरियस कारमा करको दर बढेपछि भारतमा कारको मूल्य बढिसकेको छ। भारतमा मूल्य बढेपछि नेपालमा कारको मूल्यमा के प्रभाव पर्छ?  
 
भारतले लगाएको कर अन्तरिक वा वाह्य हो, सवारी साधनका नेपालका अधिकृत बिक्रेता नै अन्यौलमा छन्। तर कर लाग्नु अघि नै आएका गाडी पूरानै मूल्यमा नेपाली उपभोक्ताले पाउने उनीहरुले बताए।  
 
भारतमा मूल्य बढे पनि नेपालमा तत्कालै असर भने नपर्ने सवारी साधनका नेपालका अधिकृत बिक्रेता बताउँछन्। टाटा गाडीको नेपालको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले तत्काल कुनै पनि गाडीको मूल्य नबढाउने भएको छ। 'यो नितान्त भारतमा बढेको कर हो र त्यो नेपालका लागि लागू हुँदैन,' सिप्रदी पेसेन्जर कार युनिटका प्रमुख प्रविण खतिवडाले भने।
 
टाटाले भारतमा दुर्इदेखि ३५ हजार भारुसम्म मूल्य बढाउने निर्णय गरिसकेको छ। सिप्रदीले नेपालमा प्रतिमहिना दुईसय कार बेच्छ।  
 
हुन्डार्इ गाडीको नेपालको अधिकृत बिक्रेता लक्ष्मी हुन्डाईले नेपालमा बिक्री हुने कारको मूल्य तत्काल नबढ्ने बताएको छ।  
 
'विदेश निकासी हुने गाडीहरुमा करको दायरा बढाउने वा नबढाउने भनेर भारतीय सरकारले प्रस्ट गरेको छैन,' लक्ष्मी हुन्डार्इका कार्यकारी निर्देशक निराकार श्रेष्ठले भने, 'भारतले स्थानीय कर बढाएको हो। हामी तत्कालै मूल्य बढाउँदैनौं।' 
 
कोरियन मोटर निर्माता कम्पनी हुन्डाइले भारतमा आफ्ना कारमा तीन हजारदेखि ८० हजार भारतीय रुपैयाँले बढाउने भएको छ। भारतमा विशेषगरी हुन्डाइका एसयुभि र डिजेल इन्जिनका गाडीको मूल्य बढ्नेछन्।  
 
लक्ष्मी हुन्डार्इले महिनाको तीन सय गाडी बिक्री गर्दै आएको छ। भारतले लक्जरियस कारमा एक प्रतिशत करको दर बढाएको थियो।  
 
भारतमा मूल्य बढाउने निर्णय गरिसकेको मारुती सुजुकीका सवारी साधनको मूल्य नेपालमा तत्कालै नबढ्ने जनाएको छ। मारुती सुजुकीको नेपालको अधिकृत बिक्रेता सिजी मोटर कर्पले वैसाख अघि मूल्य नबढ्ने जनाएको छ। नेपालमा मारुती सुजुकीका मासिक साढे चार सय गाडी बिक्री हुन्छ।  
 
कम्पनीले भारतभरी लागू हुनेगरी आफ्नो उत्पादनमा १५ सय देखि ३४ हजार पाँचसय भारतीय रुपैयाले मूल्य बढाउने निर्णय गरेको छ। मारुती सुजुकीले सिएज र एर्टिकाका स्मार्ट हाईब्रिड मोडेलमा भने मूल्य यथावत राखेको छ। नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनका भेहिकल समितिका सभापति गोपी न्यौपाने नेपालका आयातकर्ता र गाडी निर्माता कम्पनीबीचको छलफलपछि मूल्य टुङ्गो लाग्ने बताए। 'तत्काल यसै भन्न सकिन्न तर वैसाख वा जेठमा टुङ्गो लाग्छ,' उनले भने, 'तत्कालै मूल्य बढ्दैन।' पुजा इन्टरनेसनलले भारतीय बजेटमा करको दायरा बढेसँगै कारको मूल्यमा केही हेरफेर हुने जनाएको छ। 'हामीसँग यो वर्षभरिका लागि पुग्ने गाडीहरु पाइपलाइनमा छन्। भारतमा मूल्य बढेमात्र नेपालमा मूल्य बढ्छ,' पुजा इन्टरनेसनलका सेल्स मेनेजर सुदीप आचार्यले भने, 'यदि कर बढेर आयो भने  हामीले तीनदेखि आठ लाखसम्म मूल्य बढाउनुपर्ने हुन्छ।' कम्पनीले नेपालमा प्रति महिना ७० गाडी बिक्री गर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell