PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

टेक रिभ्यु : कस्तो छ कलर्स पर्ल ब्ल्याक सिरिजको के३ स्मार्टफोन?



टेक रिभ्यु : कस्तो छ कलर्स पर्ल ब्ल्याक सिरिजको के३ स्मार्टफोन?

  • पहिलोपोस्ट-
काठमाडौँ : चिनियाँ र भारतीय ब्रान्डका मोबाइलसित प्रतिस्पर्धा गरिरहेको नेपाली ब्रान्ड कलर्सले बजारमा ल्याएको पछिल्लो उत्पादन हो - के ३।  यसअघि हामीले गरेका दुई रिभ्यु कलर्सको इलाइट सिरिजको थियो भने यस पटक हाम्रो कार्यालयमा रिभ्युका लागि आइपुगेको स्मार्टफोन पर्ल ब्ल्याक सिरिजको हो।

यो सिरिजमा कलर्सले यसअघि के २२ अक्टा, के १५ रक र के २० ड्रोइड बजारमा ल्याइसकेको छ। दुई साता यो स्मार्टफोन चलाएर हेरी हामीले यो रिभ्यु गरेका हौँ।
 

डिजाइन

हामी कहाँ आइपुगेको के ३ गाढा नीलो रङ्गको थियो। यसबाहेक यो बजारमा प्लेटिनम रङ्गमा पनि उपलब्ध छ। डिजाइनमा यसको महत्त्वपूर्ण विशेषता असाही ड्रागन ट्रेल टफ ग्लासको उपयोग हो। टच स्क्रिन डिभाइसका लागि विशेष किसिमको शिशा जापानको असाही ग्लास कम्पनीले तयार पार्ने गर्छ। यो स्मार्टफोनको दुवै साइडमा असाही टफ ग्लास राखिएको छ।
 
अरु मोबाइलमा जस्तो तपाईँले यसको ब्याक कभर खोलेर ब्याट्री निकाल्ने र सिम राख्ने ठाउँ पाउनुहुन्न। आइफोन शैलिको डिजाइनमा साइडमा पिन घोचेर सिम राख्ने ठाउँ राखिएको छ।
 
६.५ एमएम यसको मोटाइ रहेको छ। यसको वजन पनि मात्र १४५ ग्राम हो।  
 
कलर्सका अधिकांश मोबाइलमा जस्तै तपाईँले यसमा पनि एउटा लेदर कभर निःशुल्क पाउनु हुन्छ। त्यसो त यसको डिजाइन पनि एन्टी डस्ट रिसिभर छ।
 

हार्डवेयर र सफ्टवेयर

१.३ गिगाहर्जको ए ५३ क्वाड कोर प्रोसेसर रहेको यसमा एन्ड्रोइड ललिपप ५.१ अपरेटिङ सिस्टम राखिएको छ। र्‍याम र रोममा यसले यति नै मूल्यका अरु ब्रान्डका मोबाइललाई धेरै पछि पार्ने गरी ३ जिबीको र्‍याम र ३२ जिबीको विशाल इन्टरनल मेमोरी राखेको छ। थप मेमोरी आवश्यक परे यसले माइक्रो एसडी कार्डसमेत सपोर्ट गर्छ। 
 

कनेक्टिभिटी

नेपालमा फोरजी नेटवर्क सुरु भइसकेको छैन। तर पनि कलर्सले आफ्ना पछिल्ला उत्पादनहरुलाई फोरजीसमेत सपोर्ट गर्ने बनाउँदै आएको छ। के ३ ले पनि थ्रीजी र फोरजी दुई वटै जिएसएम सिम सपोर्ट गर्छ। वाइफाइ र ब्लुटुथ ४.० त भई नै हाल्यो।
 

डिस्प्ले

पाँच इञ्चको एचडी आइपिएस एलसिडी स्क्रिनको रेजोल्युसन १२८०X७०० छ। एचडीतर्फ ७२०X१२८० को स्क्रिन यसमा हुन्छ।  
 

क्यामेरा

समान मूल्यका अरु ब्रान्डलाई कलर्सका मोबाइलहरुले अरु पक्षमा पछाडि पार्न सफल भए पनि क्यामेरामा यो पछि पार्दै आएको छ। के ३ मा १३ मेगापिक्सेलको क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेराका साथ सामसुङ १३ मेगापिक्सेल एएफ सिमोस सेन्सर भएको दावी गरे पनि यसको क्यामेरा पर्फमेन्स अझै पनि सन्तोषजनक चाहिँ छैन। यद्यपि यसको भि साइन सटर (क्यामेरामा देखिने मान्छेको औँलाले भि साइन देखाउँदा) र स्माइल सटर (क्यामेरामा देखिने मान्छे हाँस्दा) आफै सटर थिचिने जस्ता सुविधा तपाईँका लागि रोचक हुनसक्छन्।
 

ब्याट्री

यसमा २३५० मिलिएम्पायर आवर (एमएएच) को ब्याट्री छ जुन योभन्दा सस्तो यो सिरिजको अघिल्लो संस्करण के २० ड्रोइडभन्दा पनि कम हो। के २० ड्रोइडमा ४००० एमएएचको ब्याट्री थियो। मोबाइल हलुका बनाउन यसमा कम एमएएचको ब्याट्री राखिएको प्रष्ट हुन्छ किनभने के २० ड्रोइडको वजन अलि गह्रुँगै थियो। कम्पनीले ६०० मिनेट भ्वाइस टक टाइमको दावी गरेको छ। तर स्मार्टफोनमा उपभोक्ताले बोल्ने मात्र होइन अन्य काम पनि गर्ने गर्छन् जसका कारण ब्याट्री लाइफ बढी नै आवश्यक हुन्छ।
 

हाम्रो धारणा

२० हजार रुपैयाँको यो मोबाइलको डिजाइन उत्कृष्ट छ। ३ जिबीको र्‍याम र ३२ जिबी इन्टरनल मेमोरी समान मूल्यका अरु मोबाइलमा भेट्टाउन गाह्रै पर्छ। क्यामेरा र ब्याट्रीमा पनि सुधार गर्न सकेको भए यो अझ उत्कृष्ट मोबाइल हुनसक्थ्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell