PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

​पौरखी किसान रायो साग बेचेरै लखपति



​पौरखी किसान रायो साग बेचेरै लखपति

बागलुङ : साग बेचेर यहाँकी एक महिलाले मनग्य आम्दानी गर्न सफल भएकी छन्। जिल्लाको रायडाँडा–४ की ५५ वर्षीया पवित्रा थापाले ‘रायो’ साग बेचेर वार्षिक रु एक लाख कमाइ गर्दै आएकी हुन्। थापाले मुख्य याममा दैनिक ५० किलोसम्म साग बेच्छिन्।

आफ्नै सीप र अनुभवबाट साग उत्पादन गर्दै आएकी थापालाई गाउँमा सडक पुगेपछि व्यावसायिक बन्न सजिलो भएको हो। सदरमुकामदेखि रायडाँडा जोड्ने कृषि सडक बनेपछि गाउँको कृषि उत्पादनले बजार पाएको छ। 

“बजारमा सागको माग छ, रायडाँडाको साग भनेपछि सबैको रोजाइमा पर्छ”, थापाले भनिन् “पहिले–पहिले साग त्यत्तिकै कुहिएर जान्थ्यो, गाईवस्तुलाई खुवाउनुपर्थ्यो, सिन्की बनाउने चलन थियो, अहिले बजारमा बिक्री हुन्छ।” 

अहिले साग प्रतिकिलो रु ३५ देखि रु ४० सम्ममा बिक्री हुने गरेको उनको भनाइ छ। थापाले घर आसपासका बारीमा व्यावसायिक रुपमा सागको खेती गर्दै आएकी छन्। सागसँगै थापाले काउली, बन्दागोभी, गाजर, धनियाँ पनि बेच्छिन्। 

थापाका श्रीमान् लक्ष्मण थापा र छोराछोरीसमेत कृषि उत्पादनमा खट्ने गरेका छन्। अब उनीहरु व्यवसायिक बाख्रापालनलाई अघि बढाउने योजनामा छन्। लघु उद्यम विकास कार्यक्रमको सानो सहायताबाहेक अन्य कुनै निकायबाट सहयोग नपाएको थापाको गुनासो छ। “आर्थिक स्रोत जुटेमा प्लास्टिक घरमा तरकारीखेती गर्ने लक्ष्य छ” उनले भनिन्।

रायडाँडाका अन्य किसानले पनि व्यावसायिक सागखेती गर्दै आएका छन्। यहाँको साग जैविक र स्वादिलो हुने हुँदा उपभोक्ताको पनि रोजाइमा पर्ने गरेको छ। अन्य तरकारी बालीको तुलनामा सागखेतीलाई त्यहाँका किसानले प्राथमिकता दिने गरेका छन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell