PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

एउटा अनौठो सम्मान कार्यक्रम जहाँ प्रमुख अतिथिको आसनमा थियो रोबोट



एउटा अनौठो सम्मान कार्यक्रम जहाँ प्रमुख अतिथिको आसनमा थियो रोबोट

  • रमेश वाग्ले/पहिलोपोस्ट -
काठमाडौः नेपाली कांग्रेसको १३ औं महाधिवेशनपछि विजयी उम्मेद्वारहरुलाई सम्मान ग्रहण गर्नमै व्यस्त हुनुपरेको छ। हरेक ठाउँमा नेताहरुलाई खादा, माला लगाउने र प्रशंसापत्रसहित सम्मान गर्ने अभ्यास चलेको छ। तर शुक्रबार कांग्रेसका ६१ केन्द्रीय सदस्य मध्ये एकजनालाई मात्र सम्मानको कार्यक्रम राखिएको थियो। 
 
पहिलोपटक निर्वाचित भएका केन्द्रीय सदस्य प्रदीप पौडेलाई प्राविधिक विद्यार्थी समाजले नयाँ अवधारणासहित सम्मानको कार्यक्रम राखेको थियो। कार्यक्रममा सम्मानका लागि बोलाइएका प्रमुख व्यक्ति प्रमुख अतिथि भने थिएनन्। आयोजकहरुले नवनिर्वाचित केन्द्रीय सदस्य पौडेललाई विशेष अतिथिको आसन दिएका थिए। कार्यक्रमको प्रमुख अतिथि थियो मानव यन्त्र अर्थात् रोबोट।
  
हुन त कांग्रेसको महाधिवेशनको बन्दसत्र जारी रहँदा भृकुटीमण्डपको प्राङगणमा एउटा मात्र रोवोटले भोट मागिरहेको देखिन्थ्यो। त्यसले भनिरहेको हुन्थ्यो 'जुझारु तथा बौद्धिक  युवा नेता प्रदिप पौडेललाई बहुमतले विजयी गराऊँ'। हो, त्यही रोबोट कार्यक्रममा प्रमुख अतिथि बनाइएको थियो।

उद्घोषकले मञ्चमा उभिएर कार्यक्रममा प्रमुख अतिथि रोबोटलाई विशेष अतिथि तथा नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य प्रदिप पौडेलाई सम्मानका लागि आग्रह गरे। प्राविधिकहरुले रोबोटको स्विच अन गरे। रोबोटले चुइई... गरेर आवाज निकाल्यो रोबोटको टपमा राखिएको आँखा जस्तै आकारको रातो बत्ति झिलिक्क गर्यो। रोबोट केही पछि हट्यो र एक फन्को मार्यो।

सँगै राखिएको टेबुल झिकेर आयोजकले साना साना चक्का फिट गरिएको रोबोटका लागि मार्ग खुल्ला गरे। उद्घोषकले नवनिर्वाचित केन्द्रीय सदस्य पौडेललाई स्टेजमा आमन्त्रण गरे पौडेल र रोबोट अमन्ने सामन्ने जस्तै भए। सम्मानका लागि उद्घोषकले रोबोटलाई पुनः अनुरोध गरेपछि रोबोट केही अघि बढ्यो। पौडेलले सम्मान ग्रहण गर्दा जस्तै शिर झुकाए। रोबोटले माला लगाइदियो र सँगसँगै रोबोटले नै आवाज निकाल्यो, १३औँ महाधिवेशनबाट अत्याधिक बहुमतसहित विजयी हुनुभएकोमा हार्दिक बधाई।



माला लगाउँदै गर्दा रोवोटको बायाँ हातमा माला अड्कियो। त्यो माला पौडेलले नै खुस्काए र आफ्नो गलामा राखे। उपस्थित युवाको समूहले ताली बजाए। माला लगाउन माथि उठाएको रोबोटले बिस्तारै हात तल झार्यो र पौडेलको हातसँगै पर्ने गरी हात सोझो बनायो।


पौडेलले रोबोटसँग हात मिलाए। तालीको गड्गडाहट अझ बढेर गयो। केही बेर हात मिलाएपछि पौडेलले रोबोटको हात छोडे। रोबोट अत्याधिक बहुमतले विजयी हुनुभएकोमा बधाई भन्दै पछि हट्यो। प्राविधिकले रोवोटको स्विच अफ गरीदिए। रोबोट चुप लाग्यो।



के भने पौडेलले?

सम्मानपछि नवनिर्वाचित केन्द्रीय सदस्य पौडेलले रोबोटले भोट माग्दादेखि नै आफूलाई सृजनशील भएका कारणा सद्भाव आएको भन्दै त्यसका लागि रोवोटबाट भोट माग्ने अवधारणासहित रोवोट बनाउने समुहलाई धन्यवाद दिए। उनले सृजनशीलताको मूल्य हुने भन्दै त्यसलाई जारी राख्न विद्यार्थीहरुलाई हौस्याए र प्रविधि र राजनीतिलाई एकसाथ अघि बढाउनुपर्ने आवस्यकता रहेको पनि बताए।

'प्रविधि र राजनीति दुबै विज्ञान हुन् त्यसैले दुईको समन्वय आवस्यक छ' पौडेलले भने, 'अबको समयमा वैज्ञानिक राजनीति आवस्यक छ।' उनले कांग्रेसले आफूलाई व्यवस्थित गरेमात्र देशको व्यवस्थापन गर्छ भनेर जनताबाट विश्वास प्राप्त हुने तर्क गर्दै त्यसका लागि प्रविधिको प्रयोग अनिवार्य भएको बताए।  

कहाँबाट आयो त्यो रोवोट?

रोबोट बनाएर सृजनात्मक सहयोग गरेको थियो प्राविधिक विद्यार्थी समाजले। विभिन्न कलेजबाट इन्जिनियरिङ पढेका र प्रदीप पौडेलसँग निकट रहेका प्राविधिक विद्यार्थीहरुले पौडेललाई सहयोग पुर्याउन र आफ्नो सृजनात्मकता पनि देखाउन उनीसँग सल्लाह समेत नगरी भोट माग्न रोवोट बनाएका रहेछन्। पछि पौडेलले सहमति जनाएपछि पौडेलको भोट माग्ने काम महाधिवेशन अवधिभर त्यही रोवोटले गरेको थियो।

विभिन्न क्याम्पसबाट इन्जिनियरिङ गरेका विद्यार्थीहरु नवराज त्रिपाठी सुमधुर बराल, आनन्दश्री न्यौपानेलगायतको टोलीले प्राविधिक विद्यार्थी समूह नाम दिएर नयाँ कामको थालनी गरेका रहेछन्। उनीहरुले सृजनात्मक काम सहित कांग्रेस सुदृढीकरणो अभियान जारी रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell