PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

विदेश रोजगारीमा जानेमा धनुषाका धेरै



विदेश रोजगारीमा जानेमा धनुषाका धेरै

जनकपुरधाम : धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या बर्सेनि बढ्दै गएको देखिएको छ। 

सुरक्षित आप्रवासन सूचना केन्द्र तथा परामर्श केन्द्र, मित्र धनुषा र जनचेतना अभियान नेपालले अध्ययन पछि सार्वजनिक गरेको तथ्याङ्कमा विदेशिनेको संख्यामा बढोत्तरी देखिएको हो।
 
तथ्याङ्कअनुसार गत वर्ष २१ हजार ५८० जना वैदेशिक रोजगारीमा गएकामा थिए। तथ्याङ्क अनुसार  धनुषाबाट सबैभन्दा धेरै नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिएका हुन्।  

२०६७ सम्म दोस्रो स्थानमा रहेको यो जिल्ला ०७०/७१ देखि पहिलो स्थान ओगटेको छ। ०६७ सालमा नौ हजार ९२१, ०६८ सालमा १७ हजार ६४३, ०६९ सालमा १८ हजार ८९६ जना वैदेशिक रोजगारीमा गएको तथ्याङ्क छ। 

वैदेशिक रोजगारी जानेहरूमा स्थानीय एजेन्टबाट जानेको सङ्ख्या अधिक रहेको र अधिकांश ऋण लिएर विदेश गएका छन्। 

अधिकांश व्यक्तिगत श्रम स्वीकृति प्रक्रियाबाट वैदेशिक रोजगारमा गएका कारण ठगीको सिकार हुनुपरेको छ। सही जानकारी र सूचनाको अभाव, सीप नहुनु र सीप लिन नचाहनु, सामाजिक लागत बढ्दै जानु, एजेन्ट तथा म्यान पावर कम्पनीको चलखेलजस्ता चुनौतीले गर्दा वैदेशिक रोजगार असुरक्षित बन्दै गएको  अध्ययनले देखाएको छ। 

वैदेशिक रोजगारीमा ठगिने क्रममा वृद्धि भए पनि जिल्लाबाट राहदानी लिनेमा भने कमी आएको छैन। तथ्याङ्कअनुसार ०७१/७२ सालमा ३९ हजार ५३ जनाले राहदानी लिएका छन्।
यस जिल्लाबाट मुख्यतः साउदी अरब, कतार, मलेसिया र युएई जाने कामदारको सङ्ख्या अधिक देखिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell