
- पहिलोपोस्ट-
शनिबार बारको निर्वाचनका क्रममा गुल्मीका सागर ज्ञवालीले अधिवक्ता शैलेश कुमार अर्यालको नाममा नक्कली परिचयपत्र बनाएको उजुरीमा उल्लेख छ। ८८५५ नम्बरको परिचयपत्रको नक्कल बनाएको बारले उजुरीमा उल्लेख गरेको छ। बारको तर्फबाट महासचिव सुनिल पोखरेलले महानगरीय प्रहरी वृत सिंहदरबारमा जाहेरी दिएका हुन्।
बारले उजुरीमा भनेको छ – 'नेपाल बार एसोसिएसन जस्तो व्यावसायिक संगठनको निर्वाचनको प्रक्रियाको विश्वसनीयतामै गम्भीर प्रश्न उठ्ने र प्रतिवादीले अवाञ्छित गतिविधि गरी निर्वाचन स्थलमा अशान्ति सिर्जना गरी शान्ति तथा सुरक्षामा गम्भीर अवरोध सिर्जना गरेको हुँदा केही सार्वजनिक अपराध ऐन २०२७ बमोजिम हदैसम्म सजाय गरी पाउन यो जाहेरी दरखास्त पेश गरेका छौँ।‘
बारले जाहेरीमा निर्वाचनका बेला ज्ञवाली सर्वोच्च अदालतको पछाडिपट्टि सिंहदरबारको हाताभित्र रहेको बुथ नं ३ मा मतदाताको रुपमा प्रवेश गरी होहल्ला गरेको तथा अशान्ति सिर्जना गरेको जनाएको छ।
बार एसोसिएसनले ज्ञवालीले पाटन पुनरावेदन अदालत बार एकाइबाट जारी भएको बाइ-इकाइका सचिवको हस्ताक्षर सहितको नक्कली सदस्यता प्रमाणपत्र समेत प्रहरीलाई बुझाएको छ।