PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

टेलिकमले ल्यायो नयाँ सुविधा, विदेशबाट रु ६मा आफ्नै पोस्टपेड नम्बरबाट फोन गर्न/रिसिभ गर्न मिल्ने



टेलिकमले ल्यायो नयाँ सुविधा, विदेशबाट रु ६मा आफ्नै पोस्टपेड नम्बरबाट फोन गर्न/रिसिभ गर्न मिल्ने

  • पहिलोपोस्ट -
काठमाडौँ : मानौँ तपाईँ अमेरिका वा जापानमा हुनुहुन्छ। त्यहाँ नेपाल टेलिकमको जिएसएम नेटवर्क हुने कुरै भएन। तर अब तपाईँ आफ्नो पोस्टपेड मोबाइल नम्बरबाटै नेपालमा वा विश्वका कुनै पनि देशमा फोन गर्न वा फोन रिसिभ गर्न सक्नुहुने भएको छ। 

यस्तो सुविधाका लागि नेपाल टेलिकमले एनटी प्रो सेवा सुरु गरेको हो। यसबाट नेपालभित्रै वा नेपालबाहिर जिएसएम नेटवर्क नभएको तर इन्टरनेट भएको अवस्थामा फोन गर्न र रिसिभ गर्न सकिन्छ। 

यसअघि रोमिङ सुविधा भएकाका लागि मात्र यो संभव थियो। 

कसरी लिने एनटी प्रो?

यसका लागि आफ्नो जिएसएम पोस्टपेडबाट एनटी प्रो अकाउन्ट खोल्नुपर्छ। एप्पलको एप स्टोर र गुगल प्लेस्टोरमा एनटी प्रो एप डाउनलोड गरेपछि sub ntpro टाइप गरी १४२८ मा एसएमएस गरेपछि युजर नेम र पासवर्ड प्राप्त हुन्छ।  त्यसैबाट यो सेवा उपयोग गर्न सकिन्छ। 

कति लाग्छ शुल्क?

एनटी प्रोबाट अर्को एनटी प्रोमा फोन निःशुल्क गर्न सकिन्छ। तर टेलिकमको नेटवर्क (जिएसएम, सिडिएमए, पिएसटिएन)मा कल गर्दा र कम्पनीको नेटवर्कबाट कल रिसिभ गर्दा प्रति मिनेट ६ रुपैयाँ शुल्क (करबाहेक) लाग्छ। यसबाट अन्तर्राष्ट्रिय कल गर्दा हालको अन्तर्राष्ट्रिय महसूलमा थप ६ रुपैयाँ बढी शुल्क लाग्छ। 

त्यति मात्र होइन, यो सुविधा लिए वापत् मासिक रु एक सय (करबाहेक) पनि थप तिरिरहनु पर्छ। शुल्क तपाईँको पोस्टपेड ब्यालेन्सबाट कटाउँदै लगिन्छ। 

नयाँ होइन प्रविधि

यो कुनै नयाँ प्रविधि भने होइन। यो भिओआइपी (इन्टरनेट कल)को एउटा रुप हो। अहिले पनि भाइबरले आफ्नो नम्बरबाट अर्को नम्बरको भाइबरमा निःशुल्क फोन गर्ने सुविधा दिन्छ। त्यसैगरी भाइबर नभएको ल्यान्डलाइन र मोबाइल नम्बरमा पनि शुल्क लिई फोन गर्ने सुविधा दिन्छ। तर यसका लागि डेबिट वा क्रेडिट कार्डमार्फत् अन्तर्राष्ट्रिय मुद्रामा क्रेडिट खरिद गर्न जरुरी हुन्छ। भाइबरबाट नेपालमा फोन गर्न झण्डै १६ रुपैयाँ मोबाइलमा र ल्यान्डलाइनमा साढे १८ रुपैयाँ पर्छ। 

स्काइपले पनि यसरी नै क्रेडिट खरिद गरी मोबाइल र ल्यान्डलाइनमा फोन गर्ने सुविधा दिएको छ। 

टेलिकमको रेट अलि सस्तो भए पनि मासिक १०० रुपैयाँ तिर्नुपर्ने प्रावधानले यसलाई महँगो बनाइदिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell