PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

आसामको चुनाव : सात गोर्खाली मैदानमा, सबैभन्दा धनाढ्य उम्मेदवार नेपालीभाषी महिला



आसामको चुनाव : सात गोर्खाली मैदानमा, सबैभन्दा धनाढ्य उम्मेदवार नेपालीभाषी महिला

  • सञ्जीव दाहाल -
गुहाटी (भारत) : भारतको आसाम राज्यमा विधानसभाको चुनाव सुरु भएको छ। चुनावलाई लिएर यहाँको राजनीतिक माहौल जति गर्मिएको छ त्यति नै चर्चा छ गोर्खाली उम्मेदवारको।
 
आसाममा लगभग ३० लाख नेपाली भाषी गोर्खालीको बसोबास छ। त्यसैले यहाँका गोर्खालाई चुनावी गर्मीले धपक्कै गर्म्याएको छ। यसपाला चुनावमा ७ जना गोर्खा उम्मेदवार मैदानमा छन्।

यसमा दुई जना प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीबाट उम्मेदवार छन्। तीन जना सोनिया गान्धी नेतृत्वको कांग्रेसबाट। र, अन्य दुई जना स्वतन्त्र उम्मेदवार।
 
यहाँ १ सय २६ विधानसभा क्षेत्र छन्। यसभित्र ६ वटा विधानसभा क्षेत्रमा ७ जना नेपालभाषी उम्मेदवार खडा भएका हुन्। अर्को महत्त्वपूर्ण विषय हो १ सय २६ चुनावी क्षेत्रमा १ हजारभन्दा बढ़ी उम्मेदवार भिड्दै छन्।
 

यी हुन् नेपाल भाषी उम्मेदवार

चुनावी प्रतिस्पर्धामा ७ जना गोर्खालीहरू छन्। कांग्रेस पार्टीबाट पूर्व सभामुख, पूर्व मन्त्री तथा वर्तमान विधायक टङ्कबहादुर राई चुनावी मैदानमा उत्रिएका छन्। त्यस्तै वर्तमान विधायक सञ्जयराज सुब्बा र युवा नेता रूपक शर्मा चुनावी दौडमा भिडेका छन्।
 
त्यसैगरी भारतीय जनता पार्टीबाट गणेश लिम्बू र भास्कर शर्मा उम्मेदवार रहेका छन्। चुनावी मैदानमा ज्योति सुब्बा र टिकेन थापा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका छन्।
 
एउटै क्षेत्रमा कांग्रेस पार्टीका टङ्कबहादुर राई र भारतीय जनता पार्टीका गणेश लिम्बूले प्रतिस्पर्धा गरेका छन्।
 
दुईवटा चरणमा हुने यो चुनाव ४ अप्रिलमा भयो भने अर्को चुनाव ११ अप्रिलमा हुँदैछ। तर सातै जना गोर्खाको भाग्य इलेक्ट्रोनिक भोटिङ मेसिन (इबीएम)मा बन्दी भइसकेको छ।
 

सबैभन्दा चर्चामा धनी उम्मेदवार

यसपाला चुनावमा सहभागी हुनेमध्ये सबैभन्दा धनी उम्मेदवार एकजना गोर्खाली महिला रहेकी छिन्।
 
स्वतन्त्र उम्मेदवार ज्योति सुब्बा आसमकै सबैभन्दा धनी उम्मेदवार हुन्। चुनाव आयोगलाई दिएको सम्पत्तिको विवरणले उनलाई सबैभन्दा धनी उम्मेदवार देखाएको छ।
 
सम्पत्ति विवरणमा उनले आफ्नो सम्पत्ती २ सय ८८ करोड भारतीय रुपैयाँ अर्थात् ४ अर्ब ६० करोड नेपाली रुपैयाँ देखाएकी छिन्। ज्योति सुब्बा असमका धनाढ्य राजनेता तथा लोकसभाका पूर्व सांसद मणिकुमार सुब्बाकी पत्नी हुन्। उनले कांग्रेस पार्टीबाट प्रतिस्पर्धाका लागि टिकट मागेकी थिइन्। तर पार्टीले उनलाई प्रत्यासी नबनाएपछि उनी स्वतन्त्र उम्मेदवारका रूपमा खडा भएकी हुन्। वर्तमान विधायक तथा कांग्रेस पार्टीबाट चुनाव लड्ने सञ्जयराज सुब्बा उनका देवर हुन्।
 

७ मा ४ जना जित्ने सम्भावना

यी सात जना गोर्खा उम्मेदवारमध्ये कम्तिमा पनि चार जनाले चुनाव जित्ने सम्भावना बलियो छ। बरसोला क्षेत्रमा गणेश लिम्बू अथवा टङ्कबहादुरमध्ये एकले जित हासिल गर्नेछन्।
 
मार्घेरिटा क्षेत्रबाट खडा भएका भास्कर शर्मा, बिहालीबाट खडा भएका रूपक शर्मा र नाववैसाबाट खडा भएका सञ्जयराज सुब्बाले चुनाव जित्ने सम्भावना धेरै छ। तै पनि आउँदो १९ मे सम्म चुनावमा कसले कति मतले जित्छ कुर्नैपर्ने हुन्छ। अहिले असम विधानसभामा दुई जना नेपाल भाषी विधायक छन्।
 
यता असमबाट लोकसभामा एकजना सांसद छन्। भारतीय जनता पार्टीका रामप्रसाद शर्माले लोकसभामा नेपाली भाषीको प्रतिनिधित्व गर्छन्।
 
असममा यति धेरै संख्यामा बसोबास गर्ने गोर्खालीहरूको समस्याहरू धेरै छन्। यी चारजना नेता विधानसभामा चुनिए भने आउँदा दिनमा गोर्खाहरूका समस्या हल हुने आशा पनि गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell