PahiloPost

Dec 5, 2024 | २० मंसिर २०८१

सुनकली बनाउँदाका क्षण



सुनकली बनाउँदाका क्षण
लेखक एक रुपैयाँमा छापिएको तस्बिरको पृष्ठभूमि।

प्रकाश केसी -
क्यामेरा बोक्ने र देश घुम्ने रहर कसलाई नहोला? त्यसमाथि युवा जोश। सपनाको कुरा गर्ने र यथार्थमा त्यसलाई पछ्याउने काम वास्तवमै गाह्रो काम। झन् भर्खरै विदेशबाट फोटोकलामाथि शिक्षा लिएर आउँदा ब्यग्रता उत्तिकै। आफ्नो भूमिलाई पैतालाले नाप्ने अनि पाएसम्मका विषयलाई क्यामेरामा कैद गर्ने रहर कायमै थियो। यस्तै अवस्थामा साथीभाइले घुम्न जाम कतै टाढा भन्नु त झन् ढुंगा खोज्दा देउतै मिलेको हुने।
 
नयाँ वर्ष २०१३ लाई के गर्दै स्वागत गर्नेमा कुनै मेसो नमिलिरहेको बेला मित्र भोजराज भाटले जिस्कँदा जिस्कँदै कैलाली जाने अफर गरे। जाने भए जाम न त भनिहालेँ मैले।  
 
विश्व स्वास्थ संगठनको एउटा छोटो फिल्म बनाउने काममा हात हालेका थियौं मसहित केही साथीले। नयाँ वर्षको छेकोमा त्यो फिल्मको काम पनि अड्किरहेको थियो। पूर्व र पश्चिमका जिल्लातिर पुगे पनि मध्य र सुदूर नेपाल हेर्ने रहर बाँकी नै थियो। केही पनि नसोची जाने निर्णय यसैले गरायो।

एउटा सानो झोलामा २ जोर कपडा अनि क्यामेराको अर्को ब्याग बोकेर लागियो। धनगढी नेपालकै गर्मी धेरै हुनेमध्येको एक क्षेत्र। अनि किन चाहियो धेरै कपडा भनेर यात्रा सुरु भएको थियो।
 
कैलालीका सुरुवाती दिन राम्रै भए। बयर खान जाने देखि कर्णाली चिसापानीमा माछा खानेसम्मका क्षण अविस्मरणीय रहे।
 
बसाइको केही दिनमा नजिकैको हाइस्कुलमा राष्ट्रब्यापी फुटबल हुने त्यो पनि छात्राहरुको भन्ने खबर आयो। साथीको गाउँको रौनक नै अर्कै देखियो। र, हाम्रा पाइला पनि त्यतै बढ्दै गए। सहर बजारको जस्तो भब्य नभए पनि सोची नसक्नु मान्छेको उपस्थिति। काठमाडौँ, ललितपुरसहित १०/१२ जिल्लाका छात्राहरुको समूह एकै ठाउँमा। सबैभन्दा नसोचेको र अनौठो कर्णाली अञ्चलका हुम्ला र मुगुबाट पनि एकएक समूहको उपस्थिति।
 
यसले भोजराजलाई खिचिहाल्यो। 'यसलाई चै अलिक प्रचार प्रसार गरौं आफ्नो गाउँ ठाउँको हो,' भोजराजबाट आएको प्रस्ताव स्वीकारिहालेँ। भिडियो अनि फोटो खिच्नेक्रमको सुरुवात यहीँबाट भयो।
 
फुटबल सेमिफाइनलको चरणमा पुग्दा यो विषय समाज परिवर्तनको एउटा मानक बन्नसक्ने देखियो। सीमित श्रोतमा फुटबल र बिजयी टोलीमाथि एउटा छोटो डकुमेन्ट्री बनाउने तय भयो।
 
यस्ता थिए रोचक घटना
मुगु र हुम्लाबाट आएका छात्रा पहिलोपटक ट्रयाक्टर तथा अन्य सवारी चढ्दै थिए। उनीहरुलाई यी साधन चढायो कि वान्ता गर्न थालिहाल्ने। त्यसैले सबै छात्राको लागि व्यवस्थापकले खेल अवधिभर, बस्ने स्थानदेखि लैजाने तथा ल्याउने कार्यमा मोटरसाइकलको प्रयोग गरायो।

प्रतियोगिता हुने मैदान स्कुलको खुल्ला चौर भएको हुनाले खेलको बीचमा कुकुर छिरिहाल्ने। कुकुरका कारण पटक पटक खेल रोक्नुपर्ने अवस्था आएको थियो। भिडियो खिचिरहेको छाडेर आफैँ पटक पटक कुकुर खेद्न दौडिएँ। एउटा क्यामरापर्सनले कुकुरको भिडियो खिच्ने कि आफैँ लखेट्न जाने ? म पटक पटक खेल सहज गराउन हुत्तिरहेको हुन्थेँ।

स्कुलको चौर खेल्न योग्य ठाउँ भए पनि थप मर्मत भएकाले सुन्दर र सफा थियो। तर चौरको बीचमा दुईवटा सल्लाका रुख थिए। यी दुई रुख
मेरालागि रक्षक बने। तिनकै आडमा रहेर बल र खेलाडीबाट क्यामरा जोगाउन सकियो।

काठमाडौँ तथा ललितपुरका छात्राहरुको प्रस्तुति तथा शारीरिक हाउभाउ हेर्दा कर्णालीबाट आएका निरीह देखिन्थे। खेलको समयमा हिमाली क्षेत्रका किशोरीले सहरका किशोरीलाई हायलकायल पो बनाए त। यिनीहरुको खेल हेर्दा कतैबाट पनि लाग्दैन थियो यिनको जिल्लामा एउटा पनि गतिलो चौर छैन।

खेलका हरेक दिन शितलहरले प्रभावित थिए। सोचेभन्दा धेरै जाडो भएकाले टीकापुर बजार गएर न्याना कपडा किन्नुपरेको थियो मलाई।
………………….

हुम्ला र मुगुका छात्राका अगाडि फोटो भिडियो खिच्दै अगाडि बढ्न सारै कठिन। उनीहरुका लागि हामी अजिव थियौं। क्यामरासहित घुलमिल हुन निक्कै कठिन भएको थियो।  
 
मुगुवासीका लागि यो विजय धेरै अर्थमा महत्वपूर्ण बनेर आयो। आफ्ना चेलीहरुले राष्ट्रब्यापी खेलकुद प्रतियोगितामा पहिलोपल्ट भाग लिनु अनि जितेर आउनुले मुगालीको मुहारमा असीमित खुसी देखिन्थ्यो। सयौं मुगाली भिन्नभिन्न समूह बनाई विभिन्न स्थानमा स्वागत द्वार बनाएर बसेका थिए।

कैलाली हुन्जेल भिडियो खिच्न वा फोटो खिच्न खासै समस्या परेन। समथर ठाउँ जतासुकै दौडिन सकिने। जब मुगु पुगियो यस्तै सहजता थिएन। काठमाडौँबाट अर्को साथी मनोज महर्जन पनि हाम्रो टिममा जोडिए।
 
ताल्चा झर्नुपूर्व हिउँले सेतै ढाकेको पहाड काट्नुपर्ने रहेछ। तारा एअरको सानो प्लेन त्यहाँ डरलाग्दोगरी हल्लिने रहेछ। सायद, हावाको बेगले होला। ताल्चा झर्दा पुसको मध्य थियो। हल्का हावासँग पारिलो घाम। हप्ता दिनपछि मुगुको चिसोमा पारिलो घाम देखियो। कतै भेला हुँदा खुसीमा गाउने देउडा ताल्चा विमानस्थलदेखि नै सुनियो।
 
मुगुका गाउँ गाउँमा खेलाडीसँग हिड्नु हाम्रालागि धेरै कष्टकर विषय थियो। हामी हिड्न नसक्ने किशोरी खेलाडी रोकिन नजान्ने। तराईका लागि लगाइएको जुत्ता चप्पलले पहाड छिचोल्नुपर्ने। फेरि स्वागतमा बसेका समूह र उनीहरुसँगै हामीले पाएको स्वागतले सबै पीडा भुलाइहाल्थ्यो।
………………….
 
दोस्रो पटकको मुगु यात्रामा हामीलाई जीवन श्रेष्ठको साथ थियो। मुगुबाट २०७० वैशाख एक गते हामी हुम्लातिर लाग्यौं। बीच बीचमा रेकर्ड गर्दै हिँडियो। हुम्ला जिल्लाको सिमाना भित्रको अनकन्टार जंगल हुँदै केही अघि पुगेपछ भेटियो सानो होटेल। साँझको ७:३० बजेको छ। एउटा अडियो रेकर्डर दिउँसो मुगुको जंगलमा प्रयोग गरेको थियौं भन्ने झल्यास्स सम्झना भयो। हामीले झ्याउ र पातले छोपेर त्यहाँको प्राकृतिक आवाज रेकर्ड गर्दै थियौं।
 
साथी जीवनले त्यसको जिम्मा लिएका थिए। अब के गर्ने ? एक त त्यो यन्त्र काठमाडौँदेखि भाडामा लागिएको थियो। अर्को भोलिदेखि केले अडियो रेकर्ड गर्ने ? लिन जाउँ त्यत्रो उकालो र ओरालो। थकित भएर बल्लबल्ल आश्रय लिन पुगेको अर्को पीरलो।

अन्तत: हामीलाई सहयोग गरिरहेका दुई मुगाली साथीहरु त्यो डरलाग्दो बाटो फर्केर रेकर्डर ल्याउन तयार भए। हामी खाइवरी सुत्ने बेलासम्म उनीहरु टाढा डाँडामा दियालो बोकेर जाँदै गरेको देखियो। भोलिपल्ट बिहान खाजा खाएर समान प्याक गरिरहँदा पो उहाँहरु फर्किनुभयो रेकर्डर सकुसल लिएर। यो गुन कहिल्यै तिर्न सकिएला जस्तो लाग्दैन।
………………….
 
एक रुपियाँमा छापिएको हिमाल चंखेलीतिर म उक्लिन सकिन। भोजराज र अरु साथीहरु चढे। तलै बसेर मैले काम गरेँ।
 
वास्‍तवमा धेरै रोमाञ्चक र पीडादायी भएर पनि मुगु - हुम्ला यात्रा सुखद भएको छ। मुगुको एउटा चित्र आएको छ। फुटबलबाट त्यहाँको जीवन र जगतलाई धेरैसामु ल्याएको छ। त्यहाँका चित्र र चरित्रहरु डकुमेन्ट्रीमा समेटिएका छन्।
 
भोजराजको अथक परिश्रम र मेहनत अनि यसलाई जसरी पनि बनाउनुपर्छ भन्ने अडानले एउटा मूर्तरुप लिएको छ। काठमाडौंमा यो फिल्म देखाइरहँदा म भने परदेशमा समाचारहरु कुरिरहेको छु। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell