- स्वेच्छा राउत/पहिलोपोस्ट-
खाना पकाउँदै गर्दा ती व्यक्ति भूकम्पले लडेको घर हेरिरहेका अर्का व्यक्तिलाई नियाल्छन्। ती निराश देखिन्छन्।
एकछिनमा उनी पकाएको खाना आगोबाट झिक्छन् र पस्कन्छन्। तर गाँस हाल्नु अघि अर्का व्यक्तिका लागि पनि उनी खाना भाग लगाउँछन्। लडेको घर हेरिरहेका निराश व्यक्तिलाई इशाराले डाक्छन् – खाना खान आऊ।
यो सबै दृश्यबारे एक व्यक्ति कविता भन्छन्। कविताको भाव छ - टोपी छैन। भाइ रोए म पनि रुन्छु। भाइको मन बेखुसी हुँदा म कसरी खुसी हुन सक्छु। केही भए बाँडेर खान हुन्थ्यो।
राष्ट्रकवि माधव घिमिरेको कविता थियो त्यो।
पहिलो श्रव्य दृश्य स्टोरी वेबसाइटको कार्यक्रममा माथिको दृश्यसहित आफ्नो कविता बजेपछि माधव घिमिरे पनि 'सरप्राइज' भए।
अनि भने – 'ल मेरै आवाजमा पो रहेछ।'
मंगलबारबाट सुरु भएको हाम्रोकथा डट कम यस्तै कथा भनिएका, म्युजिकल र एक्सपेरिमेन्टल दृश्यहरु राख्ने वेबसाइट हो।
कार्यक्रममा राष्ट्र कवि माधवप्रसाद घिमिरेले नयाँ वर्षबाट भत्किएका सांस्कृतिक धरोहर साथै आम जनताको घर पुनर्निर्माण सुरु हुने आशा व्यक्त गरे। २०७२ वैशाख १२ गते आएको भूकम्पले भत्किएका संरचनाहरुको पुननिर्माण हुन सकेको छैन।
घिमिरेले साहित्यको अति महत्वपूर्ण विधा कथाको उत्थानका लागि कथाको प्रस्तुतिमा ध्यान दिइएकोमा भने खुसी व्यक्त गरे।
साथै उनले साल २०७२ को आफ्नो रिभ्यु पनि सुनाए।
'यो वर्ष देशमा विपत्ति आयो। देश क्षणभरमै कुरुप भयो। तर पनि नेपालीले एक अर्कालाई सहयोग गरे। सद्भाव साटे, सहानुभूति प्रकट गरे। देशमा संविधान आयो। अरुको देशमा पनि यस्तै विपत्ति आएकै हो। अब जापानमा जस्तै विपत्ति पछिको विकास गर्नुपर्छ।'
उनले साल २०७३ मा नेपालीहरु पुननिर्माणमा लाग्नुपर्ने आवश्यकता औँल्याए।
'हामी राष्ट्र पुर्ननिर्माणमा अब लागे हुन्छ।'