PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​बाटो विस्तारले भत्किएको होटल एम्वास्डर ६० करोड रुपैयाँमा फेरि तयार



​बाटो विस्तारले भत्किएको होटल एम्वास्डर ६० करोड रुपैयाँमा फेरि तयार

काठमाडौं : काठमाडौंवासीले एम्वास्डर होटललाई दिएको नाम हो– लाजिम्पाटको नाक। दुईतिर फराकिलो सडक र लाजिम्पाटको अन्तिम विन्दुमा रहेकाले यसलाई भौगोलिक र प्रतिष्ठाको रुपमा पनि लाजिम्पाटको नाक भनिएको हो।
 
सरकारले सडक फराकिलो गर्ने क्रममा लाजिम्पाट क्षेत्रका पुर्वाधारहरु भत्काइदिएपछि बन्द भएको एम्वास्डर होटल पाँच वर्षपछि नयाँ लुकमा फेरि सञ्चालनमा आउन लागेको हो।
 
स्थानीयले ‘होटल तपाईँहरुको हो तर यसले हाम्रो पनि इज्जत बोकेको छ, राम्रो बनाउनुस्’ भनेको सम्झिँदै होटलकी  मार्केटिङ डाइरेक्टर प्रमिता शाक्य श्रेष्ठ भन्छिन्– ‘त्यही प्रेरणाले पाँच वर्षको अथक प्रयासमा राम्रो होटल तयार गरेका छौं।‘ 
 
उपत्यकाको बाटो विस्तारका क्रममा पाँच वर्षअघि यो होटलका केही भाग भत्काइएको थियो। त्यसपछि होटल पुरै भत्काएर निर्माण सुरु भएको थियो। अहिले होटलको दुई वटा फ्लोर सञ्चालनमा आइसकेका छन्।
 
यी दुई फ्लोरमा रेष्टुरा, क्युरियो, पश्मिना पसल छन्। यी कमर्सियल फ्लोर हुन्। जापाजिन कोतेचु र अमेरिकी फ्याट आइरन रेष्टुरेन्ट सञ्चालनमा आइसकेका छन्। होटलमा जम्मा चार वटा रेष्टुरेन्ट हुनेछन्। त्यसमध्ये एउटा लाउन्ज एण्ड बार हुनेछ।
 
यो सिटी होटल हो। होटलमा करिब ५० वटा रुम छन्। रुम फरक स्तरका छन्, स्ट्यान्डर्ड, सुपेरियर, डिलक्समा विभाजन गरिएको छ। यसमा ‘टु बेडरुम अमार्टमेन्ट’ पनि छ।
 
होटलको सफ्ट ओपनिङ २०१६ अक्टोबर १ तारिकमा गर्ने योजना रहेको जानकारी उनले दिइन्। ‘बुकिङ सुरु गरिसकेका छौं, अक्टोबरका लागि बुकिङ पनि छ,’ डाइरेक्टर प्रमिताले भनिन्, ‘आगामी जनवरीबाट होटल पूर्णरुपमा सञ्चालनमा आउँछ।’
 
करिब ६० करोड रुपैयाँको लागतमा यो होटल तयार हुँदैछ। यसमा जग्गाको मूल्य जोडिएको छैन। आफ्नै जग्गामा होटल निर्माण भएको हो। आठ तलाको बिल्डङको निर्माण अन्तिम चरणमा छ, आन्तरिक साजसज्जाको काम चलिरहेको छ। पाँच वटा फ्लोरमा होटल सञ्चालन हुनेछ। अण्डरग्राउन्ड सहित ४० वटासम्म कार पार्किङ गर्न मिल्छ यो होटलमा।
 
होटल निर्माण सुरु भएपछि केही असजिला अवस्थाहरु सिर्जना भए। त्यसले होटलको लागत पनि बढाएको छ। ‘निकै धेरै त बढेन, किनभने विल्डिङ तथा होटल निर्माणमा हाम्रो अनुभव छ,’ शाक्यले भनिन्, ‘करिब १५ प्रतिशत जति लागत बढ्यो।‘ भूकम्प, नाकबन्दी जस्ता घटनाले लागत केही बताएको हो। होटल निर्माण गरिरहँदा बालुवा, गिट्टी समेत नपाइएको अनुभव यो समूहसँग छ। ‘हुने कुरा भइसक्यो, अब कसरी अघि बढ्ने भनेर अघि बनाउने हो,’ उनले भनिन्।
 
शाक्य परिवारको तीन पुस्ताले होटल व्यवसाय गरिरहेको छ। एस होटल्स एण्ड रिसोर्ट नेपालले यो होटलको व्यवस्थापन गर्ने छ। समूहको अध्यक्ष योगेन्द्र शाक्य हुन्। शाक्य परिवार होटल तथा रिसोर्टको पायोनियर मानिन्छन्। बाबु बसन्तबहादुर शाक्यले होटल व्यवसाय सुरु गरे भने अहिले योगेन्द्रका छोरा र छोरी होटल व्यवसायमा संलग्न छन्।
 
एस होटल्सकै व्यस्थापनमा नगरकोटको क्लव हिमालयन, काठमाडौंकै मार्कोपोलो, छाउनीस्थित एम्व्यासडर अपार्टमेन्ट होटल र पोखराको ट्रेकोटेल सञ्चालनमा छन्। डिलक्स र बजेट क्याटागरीमा होटल सञ्चालित छन्। समूहको पोखरामै अर्को होटल रिसोर्ट सञ्चालन गर्ने योजना छ।
 
बेलायती महारानी एलिजावेथको नेपाल भ्रमणमा छ घोडे बग्गी बेलायती दुतावासमा जान असजिलो भएपछि सरकारको आग्रहमा एम्ब्यासडर होटलको कम्पाउण्ड भत्काएर बाटो फराकिलो बनाएको थियो। पछिल्लो समय लाजिम्पाट देखि महाराजगञ्जसम्मको बाटो फराकिलो बनाउने क्रममा होटल भत्काउनु परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell