PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

कांग्रेस बुझाउने एप 'डिजिटल नेपाली कांग्रेस'



कांग्रेस बुझाउने एप 'डिजिटल नेपाली कांग्रेस'

  • पहिलोपोस्ट -
काठमाडौ : नेपाली कांग्रेसका विषयमा बृहत जानकारी राख्‍नका लागि 'डिजिटल नेपाली कांग्रेस' एप सञ्चालनमा ल्याइएको छ। 'डिजिटल नेपाली कांग्रेस' अभियान घोषणा गरेका केन्द्रीय सदस्य प्रदीप पौडेलले नयाँ वर्षका अवसरमा एप सार्वजनिक गरेका हुन्।

'तपाईँ कांग्रेसको कार्यकर्ता हुनुहुन्छ वा नेपाली कांग्रेसको बारेमा जानकारी राख्‍न चाहनुहुन्छ?,' केन्द्रीय सदस्य पौडेलले भने, 'यदि चाहनुहुन्छ भने, तपाईँको एन्ड्रोइड मोबाइलको प्लेस्टोरमा जानुहोस् अनि डिजिटल नेपाली कांग्रेस एप डाउनलोड गर्नुहोस्।' उनले एप्लिकेसन भर्खरै सुरु गरिएकाले पर्याप्त सुचना र युजर फ्रेन्डली भइनसकेको भन्दै सुझावकै आधारमा एपलाई विकास गर्ने बताए।

उनले नेपाली कांग्रेस महाधिवेशनको संघारमा पुग्दा को क्रियाशील सदस्य हो को होइन भन्ने जस्तो विवादमा फस्नु पर्ने अवस्था रहेको भन्दै डिजिटल कांग्रेस अभियानले त्यस्ता समस्याको अन्त्य गर्ने अपेक्षा राखेको बताए। 'मृत्यु भइसकेका देखि अर्को पार्टी खोलेर अध्यक्ष रहेकासम्मको नाम क्रियाशीलमा आउने र भएका क्रियाशील सदस्यको नाम छुटेर समस्या भयो,' उनले भने, 'त्यस्ता समस्याबाट मुक्ति खोज्दै कांग्रेसबारे बुझ्न जाहने सबैलाई सहज पहुँचका लागि डिजिटल एप निर्माण गरेको बताए।'

कांग्रेस नेतृत्वले यसलाई लिन चाहेन भने तपाईँको अभियान के हुन्छ? भन्ने प्रश्नमा पौडेलले नेतृत्वले आफ्नै अभियानलाई अपनत्व नलिए पनि अभियानलाई साथ दिनुको विकल्प नभएको बताए। 'मेरो अभियानमा कांग्रेसले साथ दिन्छ वा दिनुपर्छ भन्ने छैन तर यो युगमा डिजिटल प्रणालीमा नगई सुखै छैन,' उनले भने, 'पहिला यसलाई प्रयोगमा ल्याएर सबैको पहुँचमा पुर्‍याउनु पर्‍यो त्यसपछि मात्र नेतृत्वलाई प्रयोगका लागि सुझाव दिन सकिन्छ।' उनले प्रयोगबाट आवश्यकता महसुस गराउन सके सबै आकर्शित हुने पनि बताए।

डिजिटल नेपाली कांग्रेस एपले नेपाली कांग्रेसका विषयमा आधारभूत जानकारी दिन्छ भने कांग्रेसका विभिन्न समितिमा रहेकाहरुको विवरण पनि दिने गर्छ। अहिले यो एन्ड्रोइड भर्सनमा मात्र छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell