PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

थोरै इन्द्रावती धेरै इच्छामती



थोरै इन्द्रावती धेरै इच्छामती

  • किशोर नेपाल -
नयाँ प्रधानमन्त्रीले मधेस आन्दोलन र अघोषित भारतीय नाकाबन्दीको अवसर मिलाएर देशवासीका नाममा टेलिभिजनबाट सन्देश दिने हावा सञ्चार जगतमा सररर चल्ने बित्तिकै समाचार सम्पादकले अविरललाई आफ्नै कोठामा बोलाएर आदेशको भाषामा भनेका थिए – “अहिलेको विशेष परिस्थितिमा पीएमको सन्देश कति महत्वपूर्ण छ तिमीले कुरा बुझेकै छौ। तिमी विषयलाई आफनो पकडमा राख्न सक्छौ। भाषा पनि राम्रो छ। पीएमको सन्देशलाई अलिकति पोजिटिभ टोनमा मिलाएर समाचार लेख। सन्देश प्रसारणका बेला कनेक्सन मिलाएर बालुवाटार गयौ भने झन् राम्रो। प्रधानमन्त्रीको हाउभाउ र कलर आउने गरी हजार शब्दको स्टोरी तयार गर्न सजिलो हुन्छ। आज त्यही समाचार लिड हुन्छ।”  

अविरल समाचार सम्पादकको कोठाबाट निस्किँदा साथीभाइले उसलाई जिस्क्याएका थिए, “ल, बधाइ छ। भविष्य उज्ज्वल छ।”  

अविरल र उसका साथीहरुलाई थाह थियो यो कम्पनीमा कसैको पनि भविष्य उज्ज्वल छैन। कामदारले महिनावारी नै पाउनुपर्ने तलब तीन महिना पारी पाउने कम्पनीमा के को उज्ज्वल होस् कामदारको भविष्य ?   तै पनि मानिसहरु काम गर्दै थिए। किनभने त्यसको अर्को विकल्प थिएन। एक प्रकारको नाकाबन्दी नै थियो जागिरमा पनि। राम्रो ठाउँमा काम पाउन कनेक्सन पनि राम्रै चाहिने। छोडौं भने छाडेर के गर्ने ? नछोडौं भने घिडघिडो समाएर कतिन्जेल बाँच्ने? जे जस्तो भए पनि कम्पनीको नाम थियो। नचलेको भए पनि ब्राण्ड त ब्राण्ड नै थियो।  

अविरल सिधै रिसेप्सनमा आयो। आफनो मोबाइलमा खडानन्दको नम्बर हेरेर अफिसको ल्याण्ड लाइनबाट उताको मोबाइलमा फोन घुमायो र सोध्यो, “आज कति बजे हो सम्बोधन? प्रवेश पाइन्छ कि नाईं?”   केहीबेरको वार्तापछि उसले प्रसन्न मुद्रामा फोन राख्यो। उसको जिगरी दोस्त खडानन्दले नयाँ प्रधानमन्त्रीको प्रेस समूहमा जागिर पाएको थियो। “कुन पोष्टमा ?” अविरलले सोध्दा खडानन्दले जवाफ दिएको थियो, “वालै भएन नि, बालुवाटार छिर्न पाएपछि पोस्ट पियनकै भए पनि के भो र? जे हो पावर हो, चाहिने कुरा।”   जवाफ सुनेर अविरल हाँसेको थियो।
हाँस्दाहाँस्दै उसले देखेको थियो, खडानन्दका कानका रौं निकै लामा भएछन्।  

“दंग छौ नि त दादा, राम्रै तीर मार्‍यौ कि के हो?” रिसेप्सनिस्टले सोधी। हेर्दा ग्वाँचीग्वाँची भए पनि उ निकै स्मार्ट थिइ। अविरल उसलाई अलि अलि मन पराउन थालेको थियो।   रिसेप्सनिस्टलाई इम्प्रेस गर्ने हिसाबले अविरलले जवाफ दियो, “तीरै मारेको त होइन। पीएमको भाषण सुन्ने भए बालुवाटार आइज भन्यो। यति भएपछि मेरो काम बन्यो।”  

रिसेप्सनिस्ट केही बोल्दै थिइ। उ सुन्दै नसुनी पार्किंङ लटमा पुगिसकेको थियो।   साँझ अविरल अफिस फर्कियो। फर्किन लाग्दा खडानन्दले भनेको थियो, “चाँडै काम सकेर फोन गर है। आज जम्नु पर्दछ। तँसँग नजमेको धेरै भो।” पार्किङमा मोटर साइकल राखेर ऊ कार्यालयमा उक्लियो। बालुवाटारको एसी तापेर आएको केटो, काठमाडौंको यो चीसोमा, अफिसमा एउटा हिटरसम्म छैन। उसले हेर्‍यो। अफिस खाली छ। साथीहरु निस्किइसकेका छन्। समाचार–सम्पादक नाइट डेस्क सम्पादकलाई आवश्यक निर्देशन दिएर कतै जम्न गइसकेको छ। नाइट डेस्क सम्पादक फेसबुकमा लीन।  

कहाँबाट सुरु गरौं? अविरललाई बालुवाटारमा नै प्रधानमन्त्रीको पूरै भाषण गँजडीको गफ जस्तो लागेको थियो। एक वर्षमा लोडसेडिङको अन्त्य, काठमाडौंमा मेट्रो रेल, जियो थर्मल प्लान्ट, केके हो केके। उसलाई लागेको थियो प्रधानमन्त्रीको भाषणमा ओखति, ग्याँस, पेट्रोल र डिजेलको अभाव, दाल–चामल र तरकारीको चुलिँदै गरेको भाउको हाहाकारलाई सम्बोधन गरिएको होला। त्यस्तो केही थिएन। भाषण गर्दा प्रधानमन्त्रीको पाइला धर्तीमा टेकिएकै थिएन। भाषण सुन्दासुन्दै अविरललाई रीस उठेको थियो। भाषणमा आफ्नो मनको भँडास समेत मिसाएर दह्रो समाचार लेख्ने मूडमा थियो ऊ। सामान्य जनताले अनाहक भोग्नु परेको दुःखको प्रस्ट तस्‍बिर उतार्ने इच्छा थियो उसको। तर, तुरुन्तै उसको मनले कोल्टे फेर्‍यो। उसले समाचार–सम्पादकको अनुहार र निर्देशन सम्झियो। साथी खडानन्दको कानमा उम्रिएका लामा लामा रौं सम्झियो। काठमाडौं पस्नुअघि जिल्ला सदरमुकाममा बसेर गरेको संघर्ष सम्झियो। यो नरक जस्तो कम्पनीबाट छुटकारा पाउन बालुवाटारको कनेक्सन उपयोगी हुने सम्झियो। घर सम्झियो। बाबु–आमा सम्झियो। बिहे गर्ने उमेर कट्न लागेकी दिदीको अनुहार सम्झियो र मनमनै भन्यो, “भाँडमा जाओस् पत्रकारिता। भाँडमा जाओस पत्रकारिताको मर्म।” त्यसपछि उसका औंलाहरु कम्प्युटरमा दौडिन थाले। चित्त नबुझ्दा नबुझ्दै पनि उसले आधा घण्टामा प्रधानमन्त्रीको भाषणको भाषाभन्दा गतिलो भाषामा एकहजार शब्दको “महिमा गान” लेख्यो। फोल्डरमा समाचार टाँसेर अफिसबाट हिँड्यो।  

भोलिपल्ट बिहान अविरल व्यूँझिदा ९ बजिसकेको थियो। ऊ स्थानीय एउटा एफएममा सहायक सम्पादकका रुपमा पार्ट टाइम काम गर्थ्यो। ऊ विस्तारै उठ्यो। खडानन्दसँग बिताएको हिजोको साँझ धेरै हिसाबले अविस्मरणीय रहेको थियो अविरलका लागि। हिजोको मदिरामय जोशले उसलाई अझै छोडेको थिएन। उनीहरुले उन्नतिका धेरै योजना बनाएका थिए। दुवैको राजनीतिक पृष्ठभूमि फरक थियो। खडानन्द क्रान्तिकारीबाट चौतारी छिरेका थिए। उनी अविरललाई युनियन छाडेर चौतारीमा आउन हौस्याइरहेका थिए। अविरल बिस्तारै कन्भिन्स हुन खोजिरहेको थियो। एफएममा पार्ट टाइम गर्न थालेदेखि अविरललाई आफ्नो दृष्टिकोणमा परिवर्तन आउन लागेको जस्तो लाग्न थालेको थियो।

माचारको बृहत्त थुप्रोमा बसेर प्रशोधन गर्ने क्रममा उसले देशका विभिन्न भागमा भइरहेका घटनाहरुका बारे व्यापक जानकारी पाउन थालेको थियो। चलिरहेको मधेस आन्दोलनका उद्देश्यसँग उ सहमत हुँदै थियो। जिल्लाका समाचारदाताहरुसँगको प्रत्यक्ष टेलिफोन सम्पर्कले उसको परिवेश फराकिलो भएको थियो। ऊ जुन कम्पनीको समाचारपत्रको संवाददाता थियो त्यसको नीति एफएमको भन्दा संकुचित थियो। मधेस आन्दोलनका पक्षमा कहिल्यै समाचार आउँदैनथ्यो। जिल्लाबाट आएका समाचारहरुको पूरै अपरेसन हुन्थ्यो डेस्कमा। एक किसिमको ट्रान्सफरमेसनको अवस्थामा आइपुगेको थियो अविरल।  

एफएममा जाने समय भै सकेको थियो। ऊ छिटोछिटो तयार भयो। तल पुगेर आफ्नो बाइक घिच्याएर रोडमा निकाल्यो। स्टार्ट गर्न खोज्यो। भएन। उसले तेल चेक गर्‍यो। ट्याङ्कीमा थोपो थिएन। चार दिनअघि एउटा चिनजानको व्यापारीलाई कन्याएर कालोबजारमा ३५० रुपियाँ लिटरका दरले पाँच लिटर तेलको जुगाड गरेको थियो। स्टकमा दुई लिटर बाँकी थियो। कोठामा गएर तेल ल्यायो। ट्याङ्कमा खन्यायो र एफएमतिर लाग्यो।   एफएममा पुग्नेबित्तिकै साथीहरुले अविरलको बाइलाइनमा प्रकाशित मुख्य समाचारको उसकै अगाडि खिल्ली उडाए। रेडियोका साथीहरुको विचारमा सरकार प्रमुखको त्यस्तो महिमा मण्डित समाचार त सरकारी मुखपत्रहरुले पनि लेख्न सक्दैनन्। साथीहरुको टिप्पणीले अविरल आहत भयो। उसले स्टेसन मेनेजरलाई भेटेर भन्यो, “म काम गर्न आउँदिन आजैदेखि। मेरो हिसाब गरिदिनु होला।”  

ऊ कम्पनीको अफिसमा पुग्यो। त्यहाँ पनि साथीहरु उसको खिल्ली उडाइरहेका थिए। उसले कुरा बुझिहाल्यो। ऊ सरासर समाचार–सम्पादकको क्याविनमा छिर्‍यो। उनले टिप्पणी गरे, “अलि बढी नै गर्‍यौ तिमीले। मध्यम टोनमा लेखेको भए राम्रो हुन्थ्यो।”  

अविरल चिन्तामा पर्‍यो। एकातिर सुविधाको पत्रकारिता गर्ने खुला निमन्त्रण छ। अर्कोतिर ताना मार्ने साथीहरुको लर्को। ऊ डिलेमामा थियो। उसको सोच्ने शक्ति गायव भएको थियो। उसले खडानन्दलाई फोन गर्‍यो। अविरलले लेखेको समाचार पढेर खडानन्द खुब खुसी थियो। उसले सबैलाई त्यो समाचार आफूले लेखाएको बताइसकेको थियो। अविरल बालुवाटार पुग्यो। खडानन्दले उसलाई फोनमा भन्यो, “तँ अहिले नै गएर सोझै एमडीलाई भेटिहाल। त्यसपछि यता आइज।”  

एमडीले अविरललाई संवाददाताबाट वरिष्ठ संवाददातामा बढुवा भएको जानकारी दिए। थपमा प्रोत्साहन भत्ताको पनि व्यवस्था भयो। पत्र बुझेर अविरलले एमडीलाई धनुष्टङ्कार नमस्कार गर्‍यो। समाचार–कक्षमा पुग्दा उसको हैसियत बढिसकेको थियो।  

यो एउटा घटनाजस्तो कथा मात्र हो। नेपाली पत्रकारितामा अविरलहरु अविरल बगिरहेका छन्। थोरै इन्द्रावती र धेरै इच्छामती जस्तो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell