PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अमेरिकामा नेपालीको गर्विलो परिचय फैलाउँदै शेर्पाहरु



 अमेरिकामा नेपालीको गर्विलो परिचय फैलाउँदै शेर्पाहरु

  • विष्णुहरि घिमिरे 
न्युयोर्क : सगरमाथाको देशलाई सात समुद्रपारि चिनाउन अन्य परिचय के नै आवश्यक पर्ला र, हिमालबाहेक! हिमालसँगै जोडिएर आउने शेर्पा त छुट्ने कुरै भएन।

नेपाल घुमेर फर्किएका कतिपय पर्यटकहरुमा हिमाल र शेर्पा एक-अर्काका परिपुरक हुन् भन्ने धारणा समेत पाइन्छ। नेपालमा कुशल र सफल पर्वतारोही बनेर विश्वमा परिचित छन्, शेर्पाहरु। तिनै शेर्पाहरुको बसाइँसराइ पछिल्लो समय अमेरिकामा बढ्दो छ।
  
तर अर्को चिन्ता थपिएको छ, अमेरिका आएसँगै हिमालसँग जोडिएका शेर्पाको पहिचान र मौलिक संस्कृति ओझेलमा पर्ने त होइन? 


हुन पनि अमेरिकामा जन्मी/हुर्किएका शेर्पाहरुका लागि हिमाल आरोहणसहित अरु संस्कृति पनि रोचक कथाजस्तै हुन थालेको छ। नेपालीमुलका अमेरिकी शेर्पाहरु सगरमाथा होइन अमेरिकी मेनस्ट्रिमको शिखर कसरी चढ्ने भन्ने सोचका हुन्छन्। त्यो स्वाभाविक पनि हो। तर अमेरिकी जीवनसँगै आफ्नो मौलिक संस्कृति पनि उनीहरुले नभुलून् भन्दै न्युयोर्कका रहेको शेर्पा किदुगले विभिन्न माध्यमबाट संस्कृति हस्तान्तरण कार्यक्रम सञ्चालन गरिरहेको छ। 

ल्हाप्सो

अमेरिकी समाजमा सामान्यत: साप्ताहिक बिदाका दिन मानिसहरु अन्य समयभन्दा कम हतारमा हुन्छन्। विकेन्ड (सप्ताहान्त) मा उनीहरु फुर्सद लिएर पारिवारिक जमघटमा रमाउँछन्। तर गएको आइतबार (अप्रिल १०) भने न्युयोर्क र आसपासमा बसोबास गर्ने नेपाली शेर्पा समुदायलाई चटारो थियो। साप्ताहिक बिदाको दिन अलि ढिलोसम्म सुत्ने बानी परेका केटाकेटी पनि त्यस दिन सखारै उठे। 


शेर्पा किदुगले त्यस दिन 'ल्हाप्सो' मनाउन विशेष कार्यक्रमको आयोजना गरेको थियो, त्यो पनि न्युयोर्कभन्दा झन्डै ढेड घन्टाको मोटर दुरीका रहेको बाल्देन गाँउस्थित छेचेन कुन्छब लिङ गुम्बामा। ल्हाप्सो शेर्पा समुदायको मौलिक चाड हो। ल्होसारलगत्तै नयाँ वर्षमा सबैमा सुख-शान्ति मिलोस् भनेर देउता पूजा गर्दै नाचगान गरेर मनाइने चाडमा पर्छ ल्हाप्सो। तिथिअनुसार यो चाड फेब्रुअरी वा मार्चमा पर्छ। यसपटक फेब्रुअरी ९ मा परेको थियो। शेर्पा किदुगका अध्यक्ष दावा जाङ्बु शेर्पाका अनुसार न्युयोर्कको कठ्याङ्ग्रिँदो चिसोका कारण यस चाडलाई सारिने भएको छ। पात्रोअनुसारको तिथि तय गरी यहाँका गुम्बामा वैदिक पूजापाठ गरेर, शेर्पाहरुको व्यापक जमघटमा न्यानो मौसम सुरु भएपछि गरिने निर्णय गरिएको उनी सुनाउँछन्। 'तिथिअनुसार नै यो कार्यक्रम राख्दा यहाँ आउने अतिथि र आयोजक दुवैलाई सास्ती भयो,' अध्यक्ष दावा जाङ्बुले सुनाए, 'आपसमा रमाइलो गर्न आएका हामी हिउँ सोहोर्दै र गुम्बाको बेमेन्टमा खुम्चिएर बस्दैमा ठिक्क भयो।' उद्देश्यअनुसारको कार्यक्रम सफल हुन नसकेकाले धर्मगुरु र समुदायबीचको सल्लाहमा कार्यक्रम पछि सार्ने निर्णय गरिएको उनी बताउँछन्।'

यसअघिका चाडमा उनीजस्ता अभिभावकले जसोतसो हिउँ झेल्दै रमाइलो गरे पनि नयाँ पुस्तालाई कठिन भएको महसुस गरेको जाङ्बु बताउँछन्। 

शेर्पा केदुगको यो निर्णय सकारात्मक देखियो। केदुगले ल्हाप्सो कार्यक्रम आयोजना गर्न लागेको झन्डै १७ वर्ष भयो। यसबीचमा सबैभन्दा धेरै व्यक्तिको सहभागिता यसै वर्ष भयो। आयोजकका अनुसार यसपटकको ल्हाप्सोमा १ हजार ७ सय ४० जना टिकट काटेर कार्यक्रममा सहभागी भए। त्यसमध्ये ६ सय जना त बालबालिका नै थिए। 

फुटबल 

पछिल्लो ३ वर्षदेखि न्युयोर्कमा रहेका नेपाली मुलका सय जना बालबालिकालाई फुटबल सिकाउँदै आएको शेर्पा किदुगले अब आफ्नो प्रशिक्षणमा रहेका खेलाडीमध्येबाट उत्कृष्ट छनोट गरी स्थानीय युथ लिगका लागि टिम नै बनाएको छ।

 
अमेरिकी फुटबल संघअन्तर्गत प्रतिभा खोजी कार्यक्रममा विभिन्न राज्यमा  गतिविधि हुने गरेका छन्। त्यसै मध्येको एक हो- इस्टर्न न्युयोर्क युथ सकर लिग। सन् १९९८ बाट सुरु भएको यो प्रोजेक्टको उद्देश्य ५ देखि १९ वर्ष उमेर समूहका बालबालिकालाई फुटबलप्रति लगाव बढाउनु हो। 'रमाइलोका लागि फुटबल' भन्ने नारासहित सुरु गरिएको यो प्रोजेक्टलाई अमेरिकी फुटबलको पहिलो सिढीँ भनेर व्याख्यासमेत गरिएको छ। इस्टर्न न्युयोर्क युथ सकर एसोसिएसनले आफ्नो वेबसाइटमा जनाएअनुसार अहिले यस प्रोजेक्टमा १ लाख २० हजार बालबालिका र २५ हजार स्वयंसेवक खटिएका छन्। 


पहिलो चरणमा बालबालिकालाई फुटबलमा आकर्षित गर्नु हो यसको उद्देश्य। फुटबलमा रमाउनेहरुबाट प्रतिभा पहिचान गर्नु अर्को महत्त्वकांक्षा। त्यसैअन्तर्गत उसले आफ्नो मातहतमा हरेक वर्ष न्युयोर्कका विभिन्न क्षेत्रमा ११ वटा लिग सञ्चालन गर्दै आएको छ। त्यसमध्येको एक हो मेट्रो किड्स इन्टरनेसनल सकर लिग। यही लिगमा शेर्पा किदुगले तीन फरक उमेर समूहमा आफ्नो ४ टिमलाई पनि सहभागी गराउने भएको छ। 

अर्को महिनादेखि सुरु हुने लिगमा यु–१४,  यु–१२ र यु–१० उमेर समूहमा नेपाली मुलका बालिकालिका सहभागी हुनेछन्। उनीहरु शेर्पा किदुगको जर्सीमा अमेरिकी फुटबलको पहिलो परीक्षामा सामेल हुनेछन्। यु–१० उमेर समूहमा २ टिमले खेल्नेछ। लिगकै तयारीका लागि पछिल्लो समय मैत्रीपूर्ण म्याचमा पनि टिमले प्रतिस्पर्धा गर्ने गरेको छ। 

'खेलकुदबाट मनोरन्जन दिनुका साथै त्यसैको मध्यमबाट बालबालिकालाई नेपाली संस्कृतिका बारेमा जानकारी दिन हामीले शेर्पा किदुगअन्तर्गत कार्यक्रम सुरु गरेका हौ, 'आङ साङ्बु शेर्पा र छिरिङ शेर्पाको एउटै भनाइ छ। युनाइटेड शेर्पा एसोसियएन युथ सकर सन् २०१३ देखि सुरु भएको हो।

आङ साङ्बु र छिरिङ आफैँ पनि नेपालमा हुँदा लिग खेलेका खेलाडी हुन्। बौद्धस्थित टुसाल क्लबको जर्सी लगाएका यी दुवै अहिले शेर्पा किदुङको फुटबल कार्यक्रमका प्रमुख अभियन्ता हुन्। 

'नेपाली समुदायका बच्चाहरुलाई एकै ठाँउमा ल्याएर नेपाली संस्कृतिबारे जानकारी दिनका लागि छलफलमा थियौँ,'  उनीहरु भन्छन्,' 'अरु कार्यक्रममा बच्चाहरु आउन नमान्ने, खेलकुद भनेपछि सबै उत्सुक हुने भएकाले हामीले यो योजना सुरु गर्यौँन।' 

खेल्दै जाँदा राम्रो भयो भने उनीहरुले अमेरिकी फुटबलमा आफ्नो भविष्य बनाउने उनीहरुको अपेक्षा छ। त्यो भएन भने पनि कमसेकम नेपाली बच्चाहरु एक ठाँउमा जम्मा हुने, आपसमा कुराकानीसँगै घुलमिल हुने राम्रा अवसर पनि जुटेको छ। गत वर्ष बुद्ध जयन्तीमा यी बालबालिकाले उत्साहपूर्वक भाग लिएका थिए। 'त्यसअघि बुद्ध जयन्ती भनेको के हो भन्ने सम्मका बालबच्चा थिए। अहिले कमसेकम त्यो हटेको छ,' आङ साङ्बु भन्छन्।

सुरुसुरुमा २ जनाले मात्र बालबालिकालाई फुटबल सिकाउने गरेकोमा अहिले ६ जना प्रशिक्षक नियुक्ति भएका छन्। प्रशिक्षक र मैदान भाडामा लिँदा लाग्ने शुल्क अभिभावकले दामासाहीले तिर्ने गरेका छन्। 

उनीहरुको दोस्रो पुस्ताका युवा सहमत छन्। अहिले फुटबल सिक्दै आएका पुनचोक, रिचार्ड र करशन शेर्पालाई नेपाली शेर्पा दुवै भाषा बोल्न/लेख्न आउँदैन। तर यो फुटबल कार्यक्रमपछि आफूहरुमा नेपाल र नेपालीबारे चासो बढ्दै गएको उनीहरुको भनाइ छ। 

'गत वर्ष अप्रिलमा नेपालमा भूकम्पका कारण धेरै जना मरे, हामीले सकर खेल्नुअघि उनीहरुको नाममा प्रार्थना गर्यौँे,' यी युवा भन्छन्, 'पहिला हामी एक/दुई परिवारको बच्चाहरु मात्र हुन्थ्यौं, अहिले सबैमा नेपाली हौँ भन्ने आपसमा परिचय भएको छ र मौलिक कल्चरबारे चासो बढेको छ।' 

शेर्पा भिलेज 



शेर्पा किदुगले पछिल्ला केही वर्षदेखि ल्हाप्सो मनाउँदै आएको गुम्बा धर्म गुरु शाक्य ट्रिजेन रिम्पोचेको स्वामित्वमा रहेको छ। आफ्नो संस्कृति आफ्नै स्वामित्वको गुम्बामा बनाउने भन्दै किदुगले शेर्पा भिलेजका लागि ल्हाप्सोसहित अन्य कार्यक्रमबाट बचेको रकम छुट्याउने गरेको छ। 'न्युयोर्कभन्दा एक ढेड घन्टाको दुरीमा अहिले खाली जग्गा किन्ने, शेर्पा संस्कृति झल्कने गरी करिब १ सय घर बनाउने र ठूलो कम्पाउन्ड सहितको गुम्बा बनाउने योजना छलफलमा ल्याएका छौं,' अध्यक्ष दावा आफ्नो योजना सुनाउँदा उत्साहित हुन्छन्। 

भाषा स्कुल 

उनीहरुको अर्को योजना त शेर्पा भाषा स्कुल पनि सुरु गर्नु हो। हरेक वर्ष हुने ल्होछार, ल्हाप्सोले बच्चाहरुलाई आफ्नो संस्कृतिका बारेमा जानकारी दिँदै आएको छ। 'भाषाका लागि नेपालबाट गुम्बा व्यवस्थापन समितिले तयार पारेको पाठ्यपुस्तक झिकाएका थियौं तर सो पुस्तकमा सम्बोट र देवनागरी लिपि भएकाले यहाँका बच्चाहरुलाई अप्ठेरो भयो,' अध्यक्ष दावा जाङ्बु भन्छन्, 'अहिले अमेरिकामा रहेका धर्मगुरुहरुसँग सल्लाह गरेर सम्बोट र अंग्रेजी लिपिमा पुस्तक बनाउँदै छौँ।' त्यो लुनार क्यालेन्डर अनुसार छैटौं महिनाको चौथो दिन बुद्धले ज्ञान प्रचार गरेको दिनमा बाहिर ल्याउने उनले जानकारी गराए। 

शेर्पा समुदाय न्युयोर्कमा रहेको नेपालीहरुमध्ये आर्थिक रुपमा धनी र आपसमा कम विवाद भएको समुदाय हो। अन्य समुदायले वर्षौँदेखि योजना बुन्दै गर्दा शेर्पा समुदायले ज्याक्सन हाइटमा १२ लाख अमेरिकी डलरमा (झन्डै १२ करोड नेपाली रुपैया) ५ वर्षअगाडि नै भवन खरिद गरि गुम्बा बनाएको छ। गुम्बा खरिदका लागि आवश्यक सबै रकम समुदायले चन्दामार्फत उठाएको थियो। यो गुम्बा नै न्युयोर्कमा नेपाली समुदायको लगानी रहेको एकमात्र सामुदायिक सम्पत्ति हो। 'हामी कुनै पनि योजना ल्याउँदा पहिला समुदायमा छलफल गर्छौँ र उनीहरुलाई नै प्रत्यक्ष सहभागिता गराउँछौँ,' किदुग अध्यक्ष दावा जाङ्बु भन्छन्, 'कुनै न कुनै रुपमा संस्थाका सबै सदस्यलाई जिम्मेवारी दिइएको हुन्छ, चित्त नबुझेका कुरामा आपसी छलफल हुन्छ।'

उनले भनेझैँ आपसी एकता र सद्भावले नै अमेरिका पुगेका शेर्पा समुदायमा गहिरो मिलाप छ। र छ नेपाली हुनुको गर्विलो पहिचान जुन उनीहरु सात समुद्रपार पनि फैल्याइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell