- अंगद ढकाल/पहिलोपोस्ट-
काठमाडौँको मुटु कमाउने जाडोको पर्वाह नगरी सारङ्गी रेट्दै स्वयम्भू परिसरमा यो गीत गुञ्जिरहेको थियो। मैत्री र करुणाका प्रतीकका रुपमा लिइने स्वयम्भूका दुई विशाल आँखामात्रै हैन, अरु दर्जनौँ आँखाले पनि नियालिरहेका थिए यी तीन दाजुभाइलाई।
१९ वर्षका श्याम, २२ वर्षका चतुरे र २८ वर्ष भुपाल गन्धर्व यसरी गाइरहेका थिए-
घर उनीहरुको काठमाडौँबाट ५ सय किलोमिटरभन्दा टाढा झापामा। नौ दिनअघि राजधानी आएका उनीहरु नयाँ बसपार्कको एउटा होटलमा बस्छन्। दिनभरी गीत गाउँछन्। अगाडि बिछ्याएको रुमालमा उनीहरुको कला अनि गलाबाट प्रभावित भएकाहरुले राखिदिएको दुई चार रुपैयाँ नै उनीहरुको जिउने आधार हो।
कति कमाइन्छ त ?
भुपाल भन्छन्, निश्चित हुँदैन। कहिले हुँदै हुँदैन, कहिले २/४ हजार पनि हुन्छ।
काठमाडौँमात्र होइन, उनीहरु गीत गाउँदै पोखरादेखि भारतको नेपाली बस्ती भएको ठाउँ दार्जिलिङ, सिक्किम र कालिम्पोङसम्म पनि पुग्ने गर्छन्।
जेठा दाजु भुपालले आठ कक्षासम्म पढेको बताए पनि दुई भाइले पढ्न लेख्न नआउने सुनाए। तर गीत भने उनीहरुलाई कण्ठै।
कसरी ?
श्याम भन्छन्, पेशा नै यही हो। गीत त थाहा हुनै पर्यो नि। 'मोबाइल र एफएममा गीत सुनीसुनी कण्ठ पारेका हौँ', चतुरे थप्छन्। एफएममा धेरै बज्ने गीतहरु चलेका गीत हुन्। त्यसैले त्यसैमा उनीहरु बढी मेहनत गर्छन्।
सडकमा गाउने क्रममा आफूहरुलाई फर्माइस पनि आउने गरेको उनीहरुले बताए। 'जाने गाइन्छ, नजाने कसरी गाउनु र', भुपालको सोझो जवाफ।
गाउनकै लागि भारतसम्म पुग्ने गरे पनि उनीहरु हिन्दी गीत भने कहिल्यै गाउँदैनन्। भुपालका अनुसार उनीहरुलाई हिन्दी गाउन आउँदैन।