PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कांग्रेस महामन्त्री कोइरालाको अमेरिका यात्रा : जन सम्पर्क समितिमा भाँडभैलो



  • बिष्णुहरि घिमिरे-
न्युयोर्क : नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जन सम्पर्क समिति अमेरिका भित्रको विवादका कारण नवनिर्वाचित महामन्त्री डाक्टर शशांक कोइरालाको औपचारिक कार्यकर्ता भेटघाट कार्यक्रम अन्यौलमा परेको छ। महामन्त्री कोइराला अप्रिल २२ तारिख शुक्रबारका नेपालबाट न्युयोर्क आउने कार्यक्रम रहेको छ। शनिबारको करिब पाँच सय मिटरको दुरीमा एकै दिन दुई समुहले महामन्त्रीको स्वागतमा छुट्टाछुट्टै कार्यक्रम  आयोजना गर्ने सूचना सार्वजनिक गरेका छन्।

जनसम्पर्क समिति अन्तर्गत न्युयोर्क च्याप्टरका महासचिव महेश मल्लले शनिबार साढे एक बजेदेखि पाँच बजेसम्म सत्यनारायण मन्दिरमा महामन्त्री कोइरालाको स्वागत तथा नेपालको वर्तमान समसामयिक राजनीतिक अवस्था विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने भएकाले नेपाली कांग्रेसका शुभेच्छुकलाई उपस्थितिका लागि अनुरोध गर्दै विज्ञप्ति जारी गरेका छन्।

जनसम्पर्क केन्द्रीय समितिका सभापति आनन्द बिष्टले सोही दिन दुई बजे देखि चार बजेसम्म शेर्पा किदुगको सभाहलमा महामन्त्री कोइरालाको सम्मानमा कार्यक्रम आयोजना गर्न लागिएको हुँदा उपस्थित हुन भन्दै अर्को विज्ञप्ति जारी गरेका छन्।

जनसम्पर्क समिति अमेरिका गर्भमै विवादित संस्था हो। पछिल्लो समयको विवाद सभापति आनन्त विष्ट र महासचिव मुनिन्द्र नेम्वाङ समुहबीचको इगोले उत्पन्न भएको हो। पछिल्लो अधिवेशनमा यी दुवै छुट्टा छुटटै समूहको उमेदवार भई विजयी भएका हुन्। गैरआवासीय नेपाली संघ अमेरिकाको महाधिवेशन, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको निर्वाचनमा सभापति र महासचिव दुवै जनाले छुट्टा छुट्टै उमेदवारको सर्मथनमा भोट मागेका थिए। नेपाली कांग्रेसको महाधिवेशनमा प्रतिनिधि छनोटका विषयमा यी दुई बीचको विवाद सतहमा आएको थियो। केन्द्रीय समितिबाट अनुमोदन नै नगराएको भन्दै महासचिव नेम्वाङ पक्षले कांग्रेस महाधिवेशनका लागि छुट्टै नाम पठाएको थियो तर सभापति विष्ट पक्षले पठाएको नाम नै पार्टीले सदर गरेको थियो।

पछिल्लो पटक न्युयोर्कमा मे २२ मा हुने नेपाल परेड डे को विषयलाई लिएर यी दुई पक्ष एकले अर्कोलाई कारवाही गर्ने अवस्थामा पुगेका हुन्। अप्रिल एक तारिकका दिन महासचिव नेमाङ्ग समूहले केन्द्रीय समितिको निर्णयविना नै नेपाल परेड डे मा सहभागी हुने निर्णय गरेको लगायतका आरोप लगाउँदै  सभापति विष्टलाई निलम्वन गर्दै वरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको जनाएको थियो। तर, त्यसलगतै सभापति विष्टले अनुशासनहीन काम गरेको भन्दै केसी सहित अर्का उपाध्यक्ष सीपी पौडेल र महासचिव नेम्वाङलाई तीन महिनाका लागि पदबाट निलम्वन गरिएको र भोजराज थोकरको संयोजकत्वमा रहेको अनुशासन समिति भङ्ग गरिएको विज्ञप्ति मार्फत् जनाएका थिए। दुवै पक्षले केन्द्रीय समितिको बहुमतको आधारमा निर्णय गरिएको दावी गरेका छन्। जन सम्पर्क समितिको विधान अनुसार अविश्वासको प्रस्ताव ल्याइ साधारण सभाबाट दुई तिहाइ बहुमतले मात्र सभापतिलाइ हटाउन सक्छ। यस्तै कुनै पनि व्यक्तिलाई कारवाही गर्नुअघि स्पष्टिकरण सोध्नु पर्ने व्यवस्था छ, तर कानुनी राज्य भनिने अमेरिकामा कार्यरत दुवै पक्षले यो प्रकृया पूरा गरेका छैनन्। न्युयोर्क च्याप्टर महासचिव नेम्वाङको पकडमा रहँदै आएको छ।

दुवै पक्षले महामन्त्री आआफ्नो कार्यक्रममा उपस्थित हुने दावी गरेका छन्। तर स्रोतका अनुसार एकै दिन दुई समुहले दुई कार्यक्रम आयोजनाको तयारी गरेकोमा महामन्त्री कोइरालाले असन्तुष्टि जनाउँदै दुवै कार्यक्रममा आफू उपस्थित नहुने संकेत गरेका छन्। “तपाईँहरुको विवाद आपसी छलफलद्वारा समाधान गर्नुहोस्, विवाद कायम नै हुने हो भने म दुवै कार्यक्रममा अनुपस्थित हुन्छु,” महामन्त्रीको भनाइ उदृत गर्दै स्रोतले भन्यो।

न्युयोर्क च्याप्टरका महासचिव मल्लले यस अघि नेपालबाट पार्टीका नेता आउँदा च्याप्टरले नै कार्यक्रमको आयोजना गर्ने गरेकाले त्यसलाई आफुहरुले निरन्तरता दिएको दावी गरेका छन्। “पार्टीका नेताहरु जुनजुन राज्यमा पुग्नु हुन्छ त्यहीको च्याप्टरले स्वागत कार्यक्रम गर्ने गरेको हो, त्यही भएर महामन्त्री न्युयोर्क आउँदा हामीले कार्यक्रमको आयोजना गरेका हौं।‘

केन्द्रीय सभापति बिष्टको भनाइ फरक छ। 'सभापति सहित पदाधिकारी आउँदा केन्द्रले र केन्द्रीय सदस्यहरु आउँदा च्याप्टरले स्वागत कार्यक्रम आयोजना गर्ने गरिएको हो। त्यही अनुसार महामन्त्रीको स्वागतमा केन्द्रले नै कार्यक्रमको आयोजना गरेको हो।‘

च्याप्टरका सभापति रोशन ढुङ्गानाले केन्द्रीय समितिमा अहिले विवाद भएकाले सबैलाई समेट्न आफूहरुको व्यानरमा हुने कार्यक्रम उपयुक्त हुने दावी गर्छन। “केन्द्रीय समितिमा विवाद छ, एकले अर्कोलाई कारवाही गरेको अवस्था छ, यस्तो अवस्थामा बिष्टजीले आयोजना गरेको कार्यक्रममा अर्को समूह जान सक्ने अवस्था छैन, हामीले आयोजना गर्दा सबैलाई एकै ठाउँमा समेटन सकिन्छ, त्यही भएर हामीले आयोजना गर्न लागेका हौं, यदि केन्द्रले नै कार्यक्रम गर्ने हो भने पहिला उहाँहरु मिलेर आउनु पर्यो‍ हामी तयार छौं, हाम्रो उद्देश्य महामन्त्रीको कार्यक्रममा सबै जना समेटिउन भन्ने हो।‘

सभापति विष्टले संस्थागत र विधानअनुसार चल्नु पर्ने भएकाले केन्द्रको निर्णय र निर्देशन भन्दा बाहिर कुनै पनि च्याप्टर जान नहुने धारण राखे। “केन्द्रीय समितिभन्दा ठूलो कोही हुँदैन, कसले कहाँ के कार्यक्रम आयोजना गर्छ भन्ने होइन, म महामन्त्री कोइरालाज्यु सँग निरन्तर सम्पर्कमा छु, आधिकारिक निकायलाई नै क्रस गर्ने भन्ने आउँदैन,पार्टीको कार्यक्रममा हामीले सबैलाई सहभागी हुन आह्वान गरेका छौं।‘

उनले विधानभन्दा बाहिर गएर अराजक बन्नेलाई विधान अनुसार नै कारवाही गरिने चेतावानी दिए। ‘कांग्रेसमा केन्द्रीय सभापतिलाई जिल्ला कमिटी विघटन गर्ने अधिकार छ, यस अघि पनि नेपालमा त्यस्तो भएको छ। केन्द्रीय समितिभन्दा ठूलो अरु हुँदैन, विधान अनुसार चल्ने हो, संगठन विगार्नेहरुलाई वैधानिक रुपमा नै कारवाही गरेको हो।'

सभापति बिष्टले केन्द्रको निर्णय बारम्बार उल्लंघन गरे च्याप्टरमाथि नै कारवाही गर्ने चेतावनी दिए। 'केन्द्रको निर्णय उल्लंघन भएमा महामन्त्रीको भ्रमणपछि अनुशासन समितिले एक्सन लिन सक्छ, केन्द्रको निर्णय च्याप्टरले मान्नु पर्छ, परदेशको कुरा हो मिलाएर जानुपर्छ भन्दै म नरम हुन खोजेको हो, तर विधान भन्दा बाहिर जाने हो भने हेरेर बस्ने अवस्था आउँदैन, अनुशासनको पराकाष्टा कटेको छ।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell